प्रदेश ५ का १२ स्थानमा सहकारी बजार स्थापना गरिँदै - Naya Patrika
eNaya Patrika
  • ePaper

प्रदेश ५ का १२ स्थानमा सहकारी बजार स्थापना गरिँदै

प्रदेश ५ का १२ स्थानमा सहकारी बजार स्थापना गर्न आवश्यक प्रक्रिया अगाडी बढाइएको छ । प्रदेशका १२ वटै जिल्लामा एक एक वटा सहकारी बजार स्थापना गर्ने गरी तयारी थालिएको हो । यसका लागि ६ करोड बजेट छुट्याइएको छ । प्रदेश सरकारले आर्थिक वर्ष ०७५/०७६ को वार्षिक बजेट प्रस्तुत गर्ने क्रमममै सहकारी वजार स्थापना गर्न बजेट विनियोजन गरेको थियो । सोही अनुसार बजार स्थापना गर्न कार्यविधि बनाउने देखि अन्य तयारीमा प्रदेश सरकार जुटेको छ ।

प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तरगत सहकारी क्षेत्रमा विनियोजित सो रकमबाट सहकारी मार्फत बजार स्थापना गरिने छ । सो मन्त्रालय कार्यविधि बनाउने क्रममा सरोकारवालासँग छलफल भएका छन् । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले यस किसिमका बजारले किसानबाट उत्पादित बस्तुले बजार पाउने र अर्को तर्फ उपभोक्ता पनि सहकारी बजार मार्फत खरिद गर्न पाउँदा लाभान्वित हुने बताउछिन् । यसले गर्दा विचौलिया निरूत्साहित हुने भन्दै मन्त्री पौडेलले यस किसिमका बजारले गाउको उत्पादन सहरमा पठाउन पनि सजिलो हुने तथा बजारको समस्या नहुने बताउछिन् ।

यसरी सञ्चालन हुनेछन् सहकारी पसल

मन्त्रालयका सचिव यामनारायण देवकोटाका अनुसार सहकारी मार्फत सञ्चालन हुने यस्ता बजारका लागि न्यूनतम ५० लाख सहकारीले लगानी गर्नुपर्ने छ । सहकारीको ५० लाख लगानी रहने यस्ता पुलमा सरकारले थप ५० लाख अनुदान दिने छ । सहकारीहरु नै सदस्य रहेर बनाइएको सहकारीले बजार सञ्चालन गर्ने र यी बजारबाट किसानहरु नै लाभान्वित हुने सरकारको भनाइ छ ।

ती सहकारीहरुमा किसानहरु जोडिएका हुन्छन्, त्यसै कारण बजारबाट हुने नाफा सहकारी हुँदै किसानसम्म नै जान्छ, त्यस्तै किसानका सामान पनि ती जल मार्फत् विक्रि गर्न सकिने हुँदा किसानले फाइदा लिन्छन्, सचिव देवकोटाले भने । यी पसलहरुमा किसानका उत्पादनलाई प्रथामिकता दिइने छ भने दैनिक उपभोग्य सामाग्री समेत राख्ने गरी छलफल भइरहेको छ ।

सचिव देवकोटा यस किसिमका सहकारी पसलबाट विचौलियाहरू निरुत्साहित हुने अवस्था आउने र यसबाट किसान तथा उपभोक्ता लाभान्वित हुने बताउछन् । किसानका उत्पादनलाई सहकारी बजारमा ज्ञारेन्टीका साथ लगिने वातावरण बनाइने भन्दै उनले यसरी लगिएको सामान सस्तोमा उपभोक्ता माझ पुग्ने बताउछन् । उनले पसल मार्फत किसानलाई उत्पादन बढाउन तथा सहज वनाउन सामाग्री देखि प्राविधिक सेवा पनि दिइने गरी काम अगाडी बढाउने बताउछन् ।

कार्यदल गठन

मन्त्रालयले पटकपटक सहकारी क्षेत्रका अगुवासँग बैठक तथा छलफल गरेको सचिव देवकोटाले बताए । उत्पादक तथा उपभोक्ताबीचको दूरी कमगर्न र उत्पादक र उपभोक्ता जोड्न के गर्दा प्रभावकारी हुन्छ तथा सहकारीले यसमा कस्तो भूमिका निर्वाह गर्न सक्छन् भनेर सहकारी क्षेत्रका व्यक्तित्वसँग छलफल भएको मन्त्री पौडेलले बताइन् । मन्त्रालयको समन्वयमा सहकारी क्षेत्रका व्यक्तिहरुको सहभागितामा कार्यदलसमेत वनाइएको छ । यो कार्यदल मन्त्रालय तहबाट गठन गरेको नभइ सहकारी क्षेत्रका अगुवाबीचको छलफलबाट गठन भएको हो । विशिष्टिकृत सहकारीका माध्यमबाट बजार स्थापना र सञ्चालन गर्न कार्यदलले अध्यान तथा सुझाव दिने बताइएको छ ।

तपाईको प्रतिक्रिया