७ दशमलव ४३ अंक बढ्यो नेप्से - Naya Patrika
eNaya Patrika
  • ePaper

७ दशमलव ४३ अंक बढ्यो नेप्से

अघिल्ला दुई कारोबार दिन ओरालो लागेको नेप्से परिसूचक मंगलबार ७ दशमलव ४३ अंक बढेर बन्द भएको छ । नेप्से बढे पनि अघिल्लो कारोबार दिनको तुलनामा यस दिनको कारोबार रकम भने घटेको छ । वित्तीय प्रणालीमा लगानीयोग्य पुँजीको अभाव भएका कारण कारोबार रकममा कमी आएको हो ।

कम्पनीहरूले गत आवको मुनाफाबाट लाभांश वितरणको घोषणा गरिरहेका छन् । केही कम्पनीहरूले साधारणसभाबाट लाभांश पारित गराई वितरण पनि गर्न थालिसकेका छन् । यसले लगानीकर्ताहरूलाई आकर्षित गरिरहेको छ । लगानीकर्ताहरू विशेष गरी वाणिज्य बैंकको लाभांश घोषणाको पर्खाइमा रहेका छन् । चालू आवको पहिलो त्रैमास सकिसक्दासम्म पनि वाणिज्य बैंकहरूले लाभांश घोषणा नगरेका कारण केही लगानीकर्ताहरू ‘होल्ड’मा बसेको एक ब्रोकरले बताए ।

नेप्से निरन्तर तीन कारोबार दिन ओरालो लागेपछि कम्पनीहरूको सेयरमूल्य सस्तिएको छ । सस्तो मूल्यमा सेयर खरिद गर्ने लगानीकर्ताहरू सक्रिय भएपछि यस दिन बजार बढेको उनको भनाइ छ । केही कम्पनीहरूले चालू आवको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । अन्य कम्पनीहरूले पनि छिटै वित्तीय विवरण सार्वजनिक गर्नेछन् । सो अवधिमा कम्पनीहरूले उल्लेख्य नाफा आर्जन गरेको लगानीकर्ताको अपेक्षा रहेको छ ।

नेप्से परिसूचक यस दिन शून्य दशमलव ६१ प्रतिशत बढेर १ हजार २ सय २४ दशमलव ३६ बिन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स यस दिन शून्य दशमलव ६१ अंक बढेर २ सय ६० दशमलव ४३ बिन्दुमा पुगेको छ । यस दिन १ सय ६३ कम्पनीको ४ हजार १ सय २९ पटकको कारोबारमा २२ करोड १८ लाख ४ हजार ४ सय ६ रुपैयाँबराबरको ९ लाख २४ हजार ६ सय ६५ कित्ता सेयर खरिदबिक्री भएको छ । नेप्सेको १४ दिने आरएसआई यस दिन ४५ दशमलव ६४ बिन्दुमा पुगेको छ । न्युट्रल जोनमा रहेको यस आरएसआईले बजारमा सेयर खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ ।

कारोबार रकम र सेयर संख्याका आधारमा यस दिन प्रभु बैंक लिमिटेड अगाडि रहेको छ । सो वाणिज्य बैंकको यस दिन १ करोड ८० लाख २३ हजार रुपैयाँबराबरको ७३ हजार ६ सय २६ कित्ता सेयर खरिदबिक्री भएको छ । कारोबार संख्याका आधारमा भने यस दिन कालिका पावर कम्पनी लिमिटेड अगाडि रहेको छ । सो जलविद्युत् कम्पनीको यस दिन ३ सय ९२ पटक सेयर कारोबार भएको छ ।

नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य यस दिन ९ दशमलव ८९ प्रतिशत बढेको छ । त्यसैगरी, नेपाल हाइड्रो डेभलपर्स लिमिटेडको सेयरमूल्य यस दिन ८ दशमलव ४० प्रतिशत बढेको छ । अपि पावर कम्पनी लिमिटेडको सेयरमूल्य यस दिन ४ दशमलव ७३ प्रतिशत घटेको छ । कारोबारमा आएको १ सय ६३ कम्पनीमध्ये यस दिन ९६ कम्पनीको सेयरमूल्य बढेको छ भने ५० कम्पनीको सेयरमूल्य घटेको छ । बाँकी १७ कम्पनीको सेयरमूल्य यस दिन स्थिर रहेको छ ।

यस दिन होटेल, जलविद्युत् र लघुवित्त समूहको परिसूचकबाहेक अरू सबै समूहको परिसूचक बढेको छ । वाणिज्य बैंक समूहको परिसूचक यस दिन शून्य दशमलव ८५ प्रतिशत बढेको छ । त्यसैगरी, विकास बैंक समूहको शून्य दशमलव ७ प्रतिशत, अन्य समूहको शून्य दशमलव ७ प्रतिशत, उत्पादनमूलक समूहको शून्य दशमलव ५८ प्रतिशत, जीवन बिमा समूहको शून्य दशमलव ४३ प्रतिशत, निर्जीवन बिमा समूहको शून्य दशमलव ४१ प्रतिशत र वित्त समूहको शून्य दशमलव शून्य ६ प्रतिशत बढेको छ । होटेल समूहको परिसूचक यस दिन शून्य दशमलव ६९ प्रतिशत, जलविद्युत् समूहको शून्य दशमलव ४१ प्रतिशत र लघुवित्त समूहको शून्य दशमलव शून्य ७ प्रतिशत घटेको छ ।

 आँखुखोलाको आइपिओ बाँडफाँड
आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडले कात्तिक ११ गते आइपिओ बाँडफाँड गरेको छ । कम्पनीले असोज २३ गतेदेखि २६ गतेसम्म निष्कासन तथा बिक्री खुला गरेको सेयर बाँडफाँड गरेको हो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका १३ लाख ७६ हजार २० कित्ता साधारण सेयर निष्कासन गरेको थियो । जसमध्ये ६८ हजार ८ सय १ कित्ता सामूहिक लगानी कोषहरूमा बाँडफाँड गरिएको थियो भने २७ हजार ५ सय २० कित्ता कर्मचारीहरूलाई सुरक्षित गरिएको थियो । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

 मेरोको नगद लाभांश वितरण
मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले ११ दशमलव ३२ प्रतिशत सेयरधनीहरूको बैंक खातामा जम्मा गरेको छ । कम्पनीले असोज १६ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरूको बैंक खातामा सो नगद लाभांश जम्मा गरेको हो । कात्तिक ९ गते सम्पन्न कम्पनीको छैठौँ वार्षिक साधारणसभाले सो नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । अन्य सेयरधनीहरूको नगद लाभांश पनि बैंक खातामा नै जम्मा गरिने हुनाले कम्पनीले हालसम्म भौतिक सेयर धारण गरेका सेयरधनीहरूलाई शीघ्र अभौतिकीकरण गराई खाताको विवरण बुझाउन अनुरोध गरेको छ । कम्पनीको सेयर रजिस्ट्रार ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

 बोटलर्स नेपाल (तराई)को लाभांश वितरण
बोटलर्स नेपाल (तराई) लिमिटेडले प्रतिकित्ता ४० रुपैयाँ नगद लाभांश सेयरधनीहरूको बैंक खातामा जम्मा गरेको छ । असोज १६ गते सम्पन्न कम्पनीको बत्तीसौँ वार्षिक साधारणसभाले सो नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । अन्य सेयरधनीहरूको नगद लाभांश पनि बैंक खातामा नै जम्मा गरिने हुनाले कम्पनीले हालसम्म भौतिक सेयर धारण गरेका सेयरधनीहरूलाई शीघ्र अभौतिकीकरण गराई खाताको विवरण बुझाउन अनुरोध गरेको छ ।

 बोटलर्स नेपालको  लाभांश वितरण
बोटलर्स नेपाल लिमिटेडले प्रतिकित्ता २० रुपैयाँ नगद लाभांश सेयरधनीहरूको बैंक खातामा जम्मा गरेको छ । असोज १५ गते सम्पन्न कम्पनीको चालीसौँ वार्षिक साधारणसभाले सो नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । अन्य सेयरधनीहरूको नगद लाभांश पनि बैंक खातामा नै जम्मा गरिने हुनाले कम्पनीले हालसम्म भौतिक सेयर धारण गरेका सेयरधनीहरूलाई शीघ्र अभौतिकीकरण गराई खाताको विवरण बुझाउन अनुरोध गरेको छ । कम्पनीको सेयर रजिस्ट्रार नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

 मूल्य समायोजन
मंगलबार नेप्सेले किसान माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको मूल्य समायोजन गरेको छ । कम्पनीको ५० प्रतिशत हकप्रद सेयरपछिको समायोजन मूल्य नेप्सेले १ हजार १ सय १६ दशमलव ६७ तोकेको छ । समायोजनका लागि कम्पनीको औसत आधार मूल्य १ हजार ५ सय १८ तोकिएको थियो ।

तपाईको प्रतिक्रिया