नेप्से र कारोबार रकम दुवै घट्यो - Naya Patrika
eNaya Patrika
  • ePaper

नेप्से र कारोबार रकम दुवै घट्यो

अघिल्लो दिन १३ दशमलव ६५ अंक घटेर बन्द भएको नेप्से परिसूचकले साताको दोस्रो दिन पनि सोही गतिलाई निरन्तरता दिएको छ । यस दिन नेप्से परिसूचक शून्य दशमलव ८६ प्रतिशत घटेर बन्द भएको छ । नेप्सेसँगै यस दिन कारोबार रकममा पनि कमी आएको छ । अघिल्लो दिनको तुलनामा यस दिनको कारोबार रकम २३ दशमलव ६७ प्रतिशत घटेको छ ।

वित्तीय प्रणालीमा लगानीयोग्य पुँजी अभावको प्रत्यक्ष प्रभाव परेको देखिन्छ । दसैँपछि नेप्से सकारात्मक दिशामा अघि बढ्ने लगानीकर्ताहरूले अपेक्षा गरेका थिए । तर, दसैँलगत्तै देखिएको लगानीयोग्य पुँजी अभावको समस्याले बजारलाई ओरालो लाग्न दबाब दिएको एक ब्रोकरले बताए । यसका साथै बैंक तथा वित्तीय संस्थाहरूले ब्याजदर नघटाएका कारण पनि बजार प्रभावित भएको उनको भनाइ छ । यस दिन बजार खुलेदेखि नै तीव्र गतिमा ओरालो लागेर १ हजार २ सय १५ बिन्दुमा पुगेको थियो । त्यसपछिको समयमा बजारमा केही सुधार देखिए पनि मध्याह्नपछि नेप्से पुनः ओरालो लागेको थियो । लाभांश संकलन गर्ने समयमा पनि बजार घट्नाले लगानीकर्ताहरूको मनोबल घटेको एक लगानीकर्ताले बताए ।

नेप्से परिसूचक यस दिन १० दशमलव ५६ अंक घटेर १ हजार २ सय १६ दशमलव ९३ बिन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स यस दिन २ दशमलव ११ अंक घटेर २ सय ५८ दशमलव ८५ बिन्दुमा पुगेको छ । यस दिन १ सय ६० कम्पनीको ४ हजार ५ सय ३२ पटकको कारोबारमा २४ करोड ९१ लाख ९६ हजार २ सय ७० रुपैयाँबराबरको ९ लाख ८७ हजार ३ सय २१ कित्ता सेयर खरिदबिक्री भएको छ । नेप्सेको १४ दिने आरएसआई यस दिन ४१ दशमलव ५९ स्केलमा पुगेको छ । न्युट्रल जोनमा रहेको यस आरएसआईले बजारमा सेयर खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ ।

कारोबार रकम र सेयर संख्याका आधारमा यस दिन गोर्खाज फाइनान्सको संस्थापक सेयर अगाडि रहेको छ । सो कम्पनीको यस दिन २ करोड ५७ लाख ८५ हजार रुपैयाँबराबरको २ लाख ५७ हजार ८ सय ५० कित्ता संस्थापक सेयर खरिदबिक्री भएको छ । कारोबार संख्याका आधारमा भने यस दिन कालिका पावर कम्पनी लिमिटेड अगाडि रहेको छ । सो जलविद्युत् कम्पनीको यस दिन ३ सय ३ पटक सेयर कारोबार भएको छ । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयरमूल्य यस दिन ७ दशमलव ८४ प्रतिशत बढेको छ । रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयरमूल्य यस दिन ७ दशमलव ८४ प्रतिशत घटेको छ । कारोबारमा आएका १ सय ६० कम्पनीमध्ये यस दिन २७ कम्पनीको मात्र सेयरमूल्य बढेको छ भने १ सय १६ कम्पनीको सेयरमूल्य घटेको छ । बाँकी १७ कम्पनीको सेयरमूल्य यस दिन स्थिर रहेको छ ।

सोमबार कारोबारमा आएका सबै समूहको परिसूचक ओरालो लागेको छ । यस दिन होटेल समूहको परिसूचक सर्वाधिक २ दशमलव ५७ प्रतिशत घटेको छ । त्यसैगरी, निर्जीवन बिमा समूहको परिसूचक १ दशमलव ३४ प्रतिशत, विकास बैंक समूहको १ दशमलव शून्य ८ प्रतिशत, अन्य समूहको शून्य दशमलव ९८ प्रतिशत, वाणिज्य बैंक समूहको शून्य दशमलव ८५ प्रतिशत, विकास बैंक समूहको शून्य दशमलव ८२ प्रतिशत र लघुवित्त समूहको शून्य दशमलव ६५ प्रतिशत घटेको छ । कारोबारमा आएको वित्त र उत्पादनमूलक समूहको परिसूचक यस दिन शून्य दशमलव ४९ प्रतिशत घटेको छ भने जीवन बिमा समूहको शून्य दशमलव २२ प्रतिशत घटेको छ ।

 सिद्धार्थको अवितरित हकप्रद बाँडफाँड
सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले कात्तिक ११ गते अवितरित हकप्रद सेयर बाँडफाँड गरेको छ । कम्पनीले असोज १९ गतेदेखि २६ गतेसम्म सिलबन्दी बोलपत्रमार्फत खरिद आह्वान गरेको अवितरित हकप्रद सेयर बाँडफाँड गरेको हो । कम्पनीले संस्थापक समूहतर्फको ७ सय ९९ दशमलव ६० कित्ता र सर्वसाधारण समूहतर्फको ३६ हजार ४ सय १६ दशमलव ९० कित्ता सिलबन्दी बोलपत्रमार्फत बिक्री गरेको थियो । बाँडफाँडमा नपरेको सेयरबापतको रकम कात्तिक १३ गतेदेखि आवेदन फाराममा उल्लेख गरेको बैंक तथा वित्तीय संस्थाको खातामा रकमान्तर गरिनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

कालिकाको नाफा १२ लाख ४२ हजार
चालू आवको पहिलो त्रैमाससम्ममा कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले १२ लाख ४२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा २३ दशमलव ४७ प्रतिशत कम हो । गत आवको पहिलो त्रैमासमा कम्पनीको नाफा १६ लाख २३ हजार रुपैयाँ रहेको थियो । खुद ब्याज आम्दानी बढे पनि सञ्चालक मुनाफा घटेपछि कम्पनीको खुद नाफा घटेको हो ।

समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी घटेर ३३ लाख शून्य १ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ८८ दशमलव ६२ प्रतिशत घटेको छ । १० करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोष सो अवधिमा ५ करोड ८५ लाख रुपैयाँ रहेको छ । कम्पनीको निक्षेप सो अवधिमा ४३ दशमलव २८ प्रतिशत बढेको छ भने कर्जा ४९ दशमलव शूून्य ३ प्रतिशत बढेको छ । कम्पनीको निष्क्रिय कर्जा सो अवधिमा १ दशमलव ७५ प्रतिशत रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ४ दशमलव ९७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १ सय ५८ दशमलव ५६ रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ५ सय २३ दशमलव २४ रुपैयाँ रहेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात २ सय २६ दशमलव ७६ रहेको छ भने तरलता अनुपात १२ दशमलव ७८ प्रतिशत रहेको छ ।

 मूल्य समायोजन
सोमबार नेप्सेले पोखरा फाइनान्स लिमिटेडको मूल्य समायोजन गरेको छ । कम्पनीको ५ प्रतिशत बोनस सेयरपछिको समायोजन मूल्य नेप्सेले १ सय ४९ दशमलव ५२ रुपैयाँ तोकेको छ । समायोजनका लागि कम्पनीको औसत आधार मूल्य १ सय ६९ दशमलव ७६ रुपैयाँ तोकिएको थियो ।

 मिसनको लाभांश
मिसन डेभलपमेन्ट बैंक लिमिटेडले ११ दशमलव ५७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कात्तिक १२ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले गत आवको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ११ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनका लागि शून्य दशमलव ५७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारणसभाबाट पारित भएपश्चात् सो लाभांश वितरण गरिनेछ । हाल कम्पनीको चुक्ता पुँजी ५१ करोड ९२ लाख ८० हजार २ सय रुपैयाँ रहेको छ ।

तपाईको प्रतिक्रिया