सानो बजेटमा ठूलो सपना - Naya Patrika
eNaya Patrika
  • ePaper

सानो बजेटमा ठूलो सपना

माओवादी सशस्त्र युद्ध चरम अवस्थामा थियो । काठमाडौं आउने बसमा खुट्टा राख्ने ठाउँ थिएन । गाउँ फर्कने बसहरू रित्ता हुन्थे । देशमा व्याप्त हिंसा र बेरोजगारीको नतिजा थियो, बसपार्कदेखि एयरपोर्टसम्मको भिड ।

विनय दोङ

काभ्रेको तिमालस्थित ठूलो पर्सेलबाट काठमाडौं आएका विनय दोङले जीवनको सही लक्ष्य पहिल्याएका थिएनन् । तर, देशमै केही गर्छु भन्ने सोच मरिसकेको थिएन, उनले बिदेसिने बाटो रोजेनन् । ०६० सालमा सञ्जय बलको निर्देशनमा बनेको ‘छोर्वा’ नामको तामाङ फिल्ममार्फत उनले जीवनमा नयाँ सम्भावनाको ढोका

खोले । ‘मैले अभिनयसँगै क्यामेरा पछाडि के–के काम हुन्छन् भनेर बुझ्ने अवसर पाएँ । फिल्म सुटिङ हुँदा म सञ्जय दाइलाई सघाउँथे । निर्देशक बन्ने सपना देखेको थिएँ,’ उनले भने।

विनयको मिहिनेत देखेरै सञ्जयले नयाँ फिल्मको कथा र पटकथा लेख्ने जिम्मा दिए । त्यसपछि ‘लेङस्याला सेमजो’ (नेपालीमा मितिनीको माया) नामक फिल्म बन्यो । यस फिल्ममा कथा/पटकथा लेखनसँगै विनयले छोटो भूमिका निर्वाह गरे । जेनिस दोङले लेखेको ‘आमाला माया’ (आमाको माया) फिल्ममा पनि पटकथाको जिम्मेवारी पाए ।

०६३ सालको आन्दोलनपछि देशमा शान्ति स्थापना भयो । तर, स्थितरताको संकेत देखिएन, हरेक क्षेत्र धरासायी नै थियो । चलचित्र क्षेत्र अछुतो रहेन । प्रतिकूल अवस्थामा आदिवासी फिल्म फस्टाउने अवस्था थिएन । तर, उनका पाइला डग्मगाएनन् । ०६६ सालमा धादिङको उत्तरी क्षेत्रस्थित गणेश हिमालको फेदीमा रहेको बोराङसुर्तुङ गाउँमा गएर उनले ‘माने जात्रा’ नामक वृत्तचित्र निर्देशन गरे । त्यो निर्माणका लागि स्थानीय पवित्र प्याल्दोर समाजले लगानी जुटाइदिएको थियो ।

लोपोन्मुख ऐतिहासिक जात्राको सुटिङ गर्ने क्रममा उनले बुझे, आफ्नो गाउँभन्दा भिन्न छैनन्, नेपालका दुर्गम गाउँका कथा–व्यथा । ‘सहर छिरेका युवा बिदेसिने चलन बढ्यो । सुटिङका क्रममा गाउँ पुग्दा सन्नाटा देखिन्थ्यो,’ विनयले सम्झिए,‘ वृद्धवृद्धा, महिला र बालबच्चा मात्रै भेटिन्थे । युवा नै नभएपछि जात्रा, महोत्सवलगायत कार्यक्रम खल्लो भइरहेका थिए ।’ विनयले अभावलाई अवसरमा बदल्ने दृढ संकल्प गरे ।

‘गाउँसँगै हाम्रो भाषा र संस्कृतिमा पनि सन्नाटा छाउँदै छ भन्ने महसुस भयो । बसाइँ सराइको सबैभन्दा ठूलो क्षति नै पहिचानमा पर्ने रहेछ । आफ्नो भाषा र संस्कृतिप्रति नयाँ पुस्तालाई आकर्षित गर्न चलचित्र सबैभन्दा प्रभावकारी माध्यम बन्न सक्छ,’ उनले भने, ‘कुनै समय तामाङहरू काठमाडौं आसपासका पहाडी क्षेत्रमा बस्थे र त्यहाँ उनीहरूको संस्कृति र पहिचान सुरक्षित थियो किनकि समाज एकत्रित थियो । तर, अहिले देश–विदेशसम्म फैलिएका छन् । हामी कहाँबाट आयौँ ? हाम्रो मौलिकता के हो भनेर बुझाउन म तामाङ भाषाको चलचित्र निर्माणमा लागेको हुँ ।’

विनयले तामाङ भाषाका ५ वटा चलचित्र निर्माण गरे । पहिलो फिल्म ‘सेमला माया’ (मनाको माया)ले नै राम्रो प्रतिक्रिया पाएपछि यस क्षेत्रमा लाग्न हौसला मिल्यो । तामाङ संस्कृतिका लोपोन्मुख पक्ष फिल्ममा उठान गर्ने गरेका छन् । ‘आफ्नो भाषामा बनेका फिल्ममा आफ्नोपन हुन्छ । त्यसैले तामाङले त यो भाषाको फिल्म हेर्ने नै भए,’ उनले भने, दृश्यमार्फत बोल्न सक्यौँ भने, भावना अभिव्यक्त गर्न सक्यौँ भने अन्य समुदायले पनि यसलाई चाखपूर्वक हेर्नेछन् ।’

आदिवासी फिल्मको पहिलो विशेषता नै अर्गानिक स्वाद रहेको उनी बताउँछन् । हुन त पुस्तक र
रेडियोमार्फत प्रसारण हुने कार्यक्रमले पनि भाषाको संरक्षणमा भूमिका खेलेका हुन्छन् । तर, फिल्मले समग्र समाजको प्रतिविम्ब पेस गर्ने उनको बुझाइ छ । ‘तामाङ भाषामा लेखिएको पुस्तक, रेडियोबाट प्रसारण हुने कार्यक्रमले अन्य भाषाका व्यक्तिमा प्रभाव राख्दैन । तर, चलचित्रको प्रभाव सबैतिर हुन्छ,’ उनले भने ।

‘हुन त फिल्म मेकरमा आ–आफ्नो शैली हुन्छ नै । तर, नेपाली फिल्मको कपी गरेर तामांङ भाषा हाल्दैमा त्यो तामाङ फिल्म हुँदैन,’ चुनौतीबारे उनले भने, ‘विगतमा यस्ता प्रयोग पनि भए । किनकि ती फिल्म सिक्ने क्रममा बनाइएका थिए ।’ तर, अबका दिनमा गुणस्तरीय र अर्गानिक फिल्म निर्माण गर्नुपर्ने चुनौती भएको उनी बताउँछन् । नेपालमा १ सय ५० भन्दा धेरै तामाङ भाषाका फिल्म बनिसकेका छन् । तर, गुणस्तरीय फिल्म अभाव रहेकोे उनको दाबी छ ।

सरकारले आदिवासी चलचित्रलाई प्रवद्र्धन गर्नका लागि विशेष नीति ल्याउनुपर्नेउनको सुझाब छ । ‘हाम्रो बजार सानो छ । फिल्मको बजेट पनि सानो हुन्छ । त्यसैले प्रवद्र्धनका लागि सरकारले सहयोग गर्न आवश्यक छ,’ उनले भने । सानो बजेटमा बन्ने गरेका आदिवासी फिल्मले पनि नेपाली फिल्मसरह दर्ता शुल्क तिर्नुपर्ने झन्झटिलो प्रावधान हटाउनुपर्ने उनको माग छ । ‘प्रवद्र्धनका लागि सहुलियत दिनुप-यो,’ उनले भने, ‘प्रक्रिया पूरा गर्नुप-यो, शुल्क तिर्छौं, सेन्सर गर्छौं, तर, त्यसबापत केही सुविधा दिने वा शुल्क कम किन नगर्ने ?’

ठूला हलले नेपाली भाषाका फिल्मसँगै मौलिक कथा र संस्कृतिमा बनेका आदिवासी फिल्मलाई पनि महत्व दिनुपर्ने उनी माग गर्छन् । ‘आदिवासी फिल्मलाई पनि विशेष सोको व्यवस्था गरेर हलमा रिलिज गर्न सकियो भने निर्माताको रुचि पनि बढ्ने थियो । दर्शकले पनि ठूलो पर्दामा मज्जा लिन पाउनुहुन्छ,’ उनले भने, ‘चलचित्र विकास बोर्डले पनि आदिवासी जनजाति चलचित्रको सेन्सर छुट्टै गर्नुपर्छ ।’

काठमाडौंवरिपरिका जिल्लामा नै तामाङ समुदायको विशेष बसोवास छ । उनले फिल्मको प्रदर्शन पनि आसपासका जिल्लामा नै गर्ने गरेका छन् । उनी फिल्म देखाउनका लागि कहिले प्रोजेक्टर बोकेर काभ्रे पुग्छन्, कहिले सिन्धुपाल्चोक, दोलखा त कहिले नुवाकोट, धादिङ । आफ्नै गाउँमा फिल्म देखाउने क्रममा ७५ वर्षीया वृद्धा मैतानीले हल ल्याएको भन्दै विनयलाई स्याबासी दिइन् । ‘भाषाको फिल्म ठूलो पर्दामा हेर्न पाउँदा खुसी हुनुभयो र स्याबासी दिनुभयो,’ उनले भने, ‘गाउँमा कुनै समय जात्रा र कार्यक्रम हुन्थे । युवाहरू बिदेसिएपछि नाटक हुन छाडेका छन् । घुम्ती टोलीमार्फत फिल्म लिएर जाँदा गाउँले निकै खुसी हुन्छन् ।’

गाउँका शैक्षिक संस्था र क्लबमा उनी च्यारिटी आयोजना गर्छन । उनको उद्देश्य तामाङ फिल्मलाई यसरी नै घुम्ती टोली बनाएर प्रदर्शन गर्ने हो । हलसम्म नपुग्ने बुढी आमा, गाउँका मानिसलाई पनि हाम्रो भाषा रहनहसनबारे पनि फिल्म बन्छ भन्ने अनुभूति गराउनु हो । गाउँ छाडेर सहर तथा विदेश गएकाले पनि फिल्म हेरेपछि युट्युबमार्फत मार्मिक प्रतिक्रिया दिने गरेका छन् । ‘सेमला माया’ युट्युबमा ५ लाखभन्दा धेरैपटक हेरिएको फिल्म हो ।

आदिवासी फिल्मले यति धेरै दर्शक पाउनु सफलता भएको उनी बताउँछन् । टुहुरोला ल्हुई (टुहुरोको जिन्दगी), मुग्ला ल्हुल (परदेशी), धिमनाम (घरजम), मायाला म्हेन्दो (मायाको फूल) विनयको निर्देशनमा तयार भएका अन्य फिल्म हुन् । सुरुवाती फिल्म बनाउँदा उनले ह्यान्डी क्यामले खिचे । कलाकारलाई मकै, कोदोलगायत अर्गानिक सागसब्जी खुवाएर सुटिङ गराए ।

तपाईको प्रतिक्रिया