मलेसियामा नेपाली युवाको विजोग : सांसद् लिङ्देन - Naya Patrika
eNaya Patrika
  • ePaper

मलेसियामा नेपाली युवाको विजोग : सांसद् लिङ्देन

राप्रपाका महामन्त्री एवम् झापा क्षेत्र नम्बर–३ का सांसद् राजेन्द्र लिङ्देन एक सातादेखि मलेसियामा छन् । मलेसिया भ्रमणका क्रममा उनले त्यहाँस्थित नेपाली युवासँग भेटघाट समेत गरेका छन् ।

सांसद् लिङ्देनको आग्रहपछि मलेसियास्थित नेपाली दूताबासको पहलमा सेपाङ डिटेन्सन क्याम्पमा रहेका १० नेपाली युवासँग उनले भेटघाट गरेका हुन् । आफूले ती युवाको दर्दनाक अवस्था बुझ्ने मौका पाएको उनले जनाएका छन् ।

लिङ्देनका अनुसार १० जनामध्येका विजय महतो १० महिनादेखि उक्त क्याम्पमा छन् । ‘अर्का राधेश्याम लोहनीयाको त मानसिक अवस्था नै सन्तुलनमा छैन, लिङ्देनले फेसबुकमा लेखेका छन्, ‘उनी आफ्नो ठेगानासम्म पनि भन्ने स्थितिमा छैनन्, अरू सबैका आ–आफ्नै पीडा छन् ।’

सांसद् लिङ्देनकै पहलमा धेरै जनालाई परिवारसँग सम्पर्क गराइएको छ । ठेगाना नखुलेका महतो र लोहनीयाको टिकटको व्यवस्था दुतावासले मिलाइदिने टुंगो लागेको उनले जानकारी दिए । ‘जानकारीमा आएअनुसार यस्ता अरू धेरै क्याम्पहरू छन्,’ लिङ्देनले लेखेका छन्, ‘दूताबासका अनुसार १ सय ६१ जना डिटेन्सन क्याम्पमा र २ सय ४ जना बिभिन्न जेलमा दुखद जीवन बिताइरहेका छन् ।’

सुन्दर सपना बोकेर देश र परिवार छाडी वैदेशिक रोजगारीमा हिँडेका युवाको अवस्था देखेर सांसद् लिङ्देनले दुःख व्यक्त गरे । ‘अर्थतन्त्रकाे खम्बा हाम्रा युवाको यो दशा अत्यन्तै पीडादायी छ, सरकारको ध्यानाकर्षण होस्, दूताबासले आफ्नो प्रभावकारितामा बृद्धि गरोस्,’ उनले आफ्नो फेसबुक पेजमा लेखेका छन् ।

तपाईको प्रतिक्रिया