लमजुङमा पूर्वाधार विकास कार्यालय स्थापना - Naya Patrika
eNaya Patrika
  • ePaper

लमजुङमा पूर्वाधार विकास कार्यालय स्थापना

जिल्ला प्राविधिक कार्यालय खारेज भएपछि लमजुङमा गण्डकी प्रदेश सरकार मातहतको पूर्वाधार विकास कार्यालय स्थापना भएको छ । कार्यालयकोे शुक्रबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा बोल्दै मुख्यामन्त्री गुरुङले कर्मचारी पर्याप्त नहुँदा विकास निर्माणले गति लिन नसकेको बताए । उनले भने, ‘कर्मचारी अभावले जनताको आवश्यकताअनुसार विकास हुन सकेको छैन ।’

मुख्यमन्त्री गुरुङले प्रदेश मातहतमा तीन हजारभन्दा बढी कर्मचारी आवश्यक भए पनि पाँच सय कर्मचारी मात्रै भएको बताए । उनले प्रदेशको ५ वटा जिल्लामा मात्रै पूर्वाधार विकास कार्यलय स्थापना भएको बताउँदै सिंहदरबारको अधिकार गाउँमा पुर्‍याउने भनिए पनि कर्मचारी नहुँदा जनताले अनुभव गर्न नपाएको बताए ।

कार्यक्रममा बोल्दै प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहट्ठाले कार्यालय स्थापना भएसँगै विकास निर्माणले गति लिने बताए । उनले भने, ‘कार्यालयलाई आवश्यक पर्ने कर्मचारी खटाउन प्रदेश सरकार पहलसँगै विकास निर्माणलाई गुणस्तरीय बनाउन गण्डकी सेन्टर ल्याब स्थापना गर्नेछ ।’

प्रदेशको ५ वटा जिल्लामा कार्यालय स्थापना गर्ने योजनाका साथ लमजुङमा पनि कार्यालय स्थापना गरिएको पूर्वाधार विकास कार्यालयका प्रमुख राम पराजुलीले बताए । उनका अनुसार कार्यालयले लमजुङसहित मनाङ र गोरखा जिल्ला हेर्ने जिम्मा पाएको छ ।

तपाईको प्रतिक्रिया