जिल्ला कारागार रुकुम पश्चिममा क्षमता भन्दा चार गुणा बढी कैदी - Naya Patrika
eNaya Patrika
  • ePaper

जिल्ला कारागार रुकुम पश्चिममा क्षमता भन्दा चार गुणा बढी कैदी

जिल्ला कारागार रुकुम पश्चिममा क्षमता भन्दा चार गुणा बढी कैदी रहेका छन् । कारागारको क्षमता २५ जनाको भएपनि कारागारमा ९२ जना कैदीहरु छन् । विभिन्न अपराधिक कृयाकलापमा संलग्न ९२ पुरुष र ६ महिला गरी ९८ जनाले कारागारमा कैद भुक्तान गरिरहेका छन् ।

जसमा कर्तव्य ज्यानका ३०, ज्यान मार्ने उद्योगका ९, जबरजस्ती करणीका २४, डाका चोरीका दुई, खोटाचलनका २, अप्राकृतिक मैथुनका एक र लागुऔषधका ६ जना रहेका छन् । त्यस्तै जबरजस्ती करणी उद्योगका ४, गर्भपतनका २, अपहरण तथा शरीर बन्धकका दुई, सवारी ज्यानका ५, बैदेशिक रोजगारी ठगिका एक, गौ बधका तीन र चोरी शिर्षकका ७ जना रहेका छन् । जिल्ला कारागारमा तीन जना नाबालक पनि छन् । बाहिर संरक्षक नभएका दुई बालक र एक बालिका आमासँगै कारागारमा रहेको जिल्ला कारागारले जनाएको छ ।

दुई जिल्लाका कैदी एकै कारागारमा
साविकको सिंगो रुकुम हाल पश्चिम र पूर्व गरी दुई जिल्लामा विभाजन भएपनि दुवै जिल्लाका कैदी पश्चिमकै कारागारमा रहेका छन् । रुकुम पूर्वका कैदी पनि पश्चिमकै कारागारमा राख्नुपर्ने भएकाले पनि कैदीको चाप अत्यधिक रहेको जेलर लोकबहादुर घर्तीले बताए । नयाँ जिल्ला बनेपछि मात्र रुकुम पूर्वका ३० जना कैदी जिल्ला कारागारमा रहेको उनको भनाई छ । त्यस्तै पछिल्लो समय दिन दिनै कैदीहरु थपिने क्रम पनि बढी रहेको घर्तीले बताए । बेला बेलामा कैदीलाई जिल्ला बाहिर सार्दा पनि समस्या उस्तै रहेको उनले जानकारी दिए । उनका अनुसार केहि दिन अगाडि मात्र दाङ र कपिलबस्तुमा १० जना कैदीलाई सरुवा गरिएको थियो ।

एउटै कोठामा १५ जनासम्म सुत्छन्
क्षमता भन्दा चार गुणा बढीसम्म कैदी रहँदा व्यवस्थापनमा निकै ठुलो समस्या भइरहेको जेलर घर्तीले बताए । ‘सिमित स्रोत साधनबाट कैदीको व्यवस्थापन गर्न निकै ठुलो समस्या छ’ उनले भने, ‘एउटै कोठमा १५ जनासम्मलाई कोचेर राख्नुपर्ने अवस्था रहेको छ ।’ त्यस्तै खानपिन, सरसफाई तथा सुत्न समस्या छ । हालसम्म जसो तसो व्यवस्थापन गरिए पनि यहि तुलनामा कैदीको संख्या बढ्दै जाने हो भने व्यवस्थापन गर्न मुस्किल हुने जेलर घर्तीको भनाई छ ।

तपाईको प्रतिक्रिया