१३ वर्षअघि बन्द भएको खाद्य डिपो नखुल्दा बासिन्दा मङ्हगीमा - Naya Patrika
eNaya Patrika
  • ePaper

१३ वर्षअघि बन्द भएको खाद्य डिपो नखुल्दा बासिन्दा मङ्हगीमा

दैलेख जिल्लाको दुर्गम नौमुले गाउँपालिकाका मनबहादुर शाही पाँच घण्टा हिँडेर सदरमुकाम चामल लिन आए । गाउँमा करिब दुई हजार रुपैयाँ पर्ने चामल सरदमुकाममा रहेको खाद्य संस्थानमा ११ सय रुपैयाँमा पाउने भएपछि उनी पाँच घण्टा हिडेर सदरमुकाम आइपुगेका हुन् ।

गाउँपालिकाका उनी मात्रै होइन्, अधिकांश दसैँको जोहो गर्न सदरमुकाम आएका छन् । कतिपय गाउँमा नै महङ्गोमा खाद्यान्न किन्न बाध्य भएका छन् । सदरमुकामको खाद्य संस्थानमा भने जति चामल नभएपछि नारायण नगरपालिका, जिल्ला प्रशासन कार्यालय र खाद्य संस्थानको संयुक्त पहलमा दसैँका लागि थप तीन सय ६० क्वीन्टल चामल ल्याएको संस्थानका प्रमुख रणबहादुर ऐरीले जानकारी दिए ।

तत्कालीन द्वन्द्वमा असुरक्षा देखाउँदै बन्द भएको दैलेखको दुल्लू, टाँठीकाँध र भगवतीमाई गाउँपालिकाको खाद्य संस्थान १३ वर्षअघि बन्द भएको थियो । बन्द भएका खाद्य डिपो पुनः स्थापना हुन नसक्नु भनेको खाद्यन्न उपभोगको अधिकार हनन गरेको स्थानीय प्रेम भुर्तेलले बताए । उनले भने, ‘दैलेखमा गरिबीको रेखामुनी धेरै परिवार रहेका छन् तर, सरकारको कुनै चिन्ता छैन, न त सहुलियत पसल नै छ ।’

सरकारले विभिन्न जिल्लामा सहुलियत सुपथ मूल्य पसल संचालन गरे पनि दैलेखमा सुपथ पसल संचालनमा छैन । यस बारे सरकार र सम्बन्धित निकायले ध्यान दिनु पर्ने अहिलेको आवश्यकता देखिएको रामबहादुर दमाईले गुनासो गरे ।

तपाईको प्रतिक्रिया