थ्री स्टार र पुलिस विजयी - Naya Patrika
eNaya Patrika
  • ePaper

थ्री स्टार र पुलिस विजयी

उपाधि दाबेदार थ्री स्टार र नेपाल पुलिस क्लबले बिहीबार सहिद स्मारक ए डिभिजन लिग फुटबलमा जित निकालेका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा थ्री स्टारले फ्रेन्ड्स क्लबलाई २–१ ले पराजित गर्‍यो । पुलिसले जावलाखेल युथमाथि १–० को जित निकाल्यो ।

राष्ट्रिय खेलाडीले भरिएको थ्री स्टार फ्रेन्डसविरुद्ध हावी भएको थियो । थ्री स्टारले लगभग आधा दर्जन गोल अवसर चुकाएको थियो । फ्रेन्ड्सले प्राप्त थोरै मौकामा गोल गर्न सफल भयो । खेलको १७औँ मिनेटमा रञ्जन विष्टले थ्री स्टारलाई १–० को अग्रता दिलाए ।

रञ्जनले मैदानको मध्यभागमा उत्कृष्ट ड्रिब्लिङ गर्दै फ्रेन्ड्सका डिफेन्डरलाई बिट गरी डिबक्सबाहिरबाट आकर्षक गोल गरेका थिए । दोस्रो गोलका लागि थ्री स्टारले लामो प्रतीक्षा गर्‍यो । खेलको ८३औँ मिनेटमा बुद्ध चेम्जोङले थ्री स्टारलाई २–० को स्थितिमा पुर्‍यायो । खेलको अन्तिम इन्जुरी समयमा फ्रेन्ड्सका विकास लामाले २–१ का लागि गोल फर्काए ।

यसैगरी, अर्को खेलमा पुलिसले जावलाखेलविरुद्ध महत्वपूर्ण तीन अंक हासिल गर्दा ३२औँ मिनेटमा अजित भण्डारीले एकमात्र गोल गरेका थिए । जावलाखेलविरुद्ध पुलिसका राम्रा प्रहारलाई गोलरक्षक टिकेन्द्र थापाले सानदार बचाउ गरेका थिए ।

तपाईको प्रतिक्रिया