डकुमेन्ट्रीजस्ताे विज्ञापन: एउटै भिडियाेमा सिंगाे नेपाल - Naya Patrika
eNaya Patrika
  • ePaper

डकुमेन्ट्रीजस्ताे विज्ञापन: एउटै भिडियाेमा सिंगाे नेपाल

नेपालमै बजाज बाइक उत्पादन गर्ने तयारी थियो ।त्यसका लागि नवलपरासीमा ‘एसेम्बल प्लान्ट’ लगाउने काम युद्धस्तरमा हुँदै थियो। यहीवेला नेपालीको मन–मस्तिष्कमै बस्नेखाले बजाजको म्युजिक भिडियो बनाउने कुरा शेखर गोल्छाको दिमागमा आयो । म्युजिक भिडियो विज्ञापनजस्तो नदेखियोस्, हिट म्युजिक भिडियोजसरी आमरूपमा हेरियोस् । वर्षौं–वर्ष युट्युबमा हेरिने सदाबहार भिडियो बनोस् ।

यी सबै कुरा पाउन भिडियोका लागि करोड खर्च गर्न तयार थिए, उनी । शेखर साथी तथा विज्ञापन निर्माता रञ्जित आचार्यसँग छलफल गरिरहेका थिए । एक दिन गाडीमा एफएम सुन्दै गर्दा ‘उकाली–ओरालीमा, भन्ज्याङ अनि चौतारीहरूमा’ गीत बज्यो । ‘रञ्जित, म्युजिक भिडियोको लागि यही गीत फाइनल,’ शेखरले निर्णय सुनाइदिए ।

वास्तवमा म्युजिक भिडियोका लागि छनोट भई सर्ट लिस्टमा पनि परेको रहेछ, चाँदनी शाहले लेखेको, नातिकाजीले संगीत भरेको र तारादेवीले गाएको सदाबहार गीत । बजाजको आधिकारिक विक्रेताको जिम्मा लिएदेखि नै शेखरले बजाजका उत्पादन विकट ठाउँका लागिसमेत उपयुक्त छ भन्ने प्रमाणित गर्न ऊर्जा खर्च गरिरहेका छन् ।

मुस्ताङमा समेत सोरुम खोलेर ‘पल्सर’ बाइक बेचिरहेका थिए । यसैले ‘उकाली ओरालीहरूमा, भन्ज्याङ अनि चौतारीहरूमा’ गीतको लाइन आफ्नो व्यापारिक उद्देश्यसँग मेल खाएको महसुस गरे। गीतको मुखडाले उनलाई तानेको थियो ।

‘गीत रानी ऐश्वर्या (चाँदनी शाह)ले राजालाई लेखेकी हुन्,’ शेखरले पढेका थिए, ‘रानीले गीतमार्फत राजालाई ‘उकाली–ओराली, भन्ज्याङ, चौतारी, जहाँ गए पनि पाइला बनी पछ्याइरहन्छु,’ भनेकी हुन् । बाटोको धर्सो भएपछि उकाली–ओरालीहरूमा बजाज जहाँ पनि कुद्छ भन्ने देखाउन काफी हुन्थ्यो, गीतको लाइन ।

सडक पुगेपछि बजाज बाइक पुगिहाल्छ, सडकसँगै पाइला बनेर बाइकले पछ्याइहाल्छ– शेखरको दिमागमा गीतलाई सही ठहर्‍याउन यस्तै तर्कना आए । ‘गीत बजाज बाइकसँग मज्जाले कनेक्ट हुने देखियो,’ शेखर सुनाउँछन् । भिडियो चार मिनेट ३३ सेकेन्डको छ । देशका धेरै सुन्दर ठाउँ ‘क्याप्चर’ गरिएको छ । ‘भिडियो मेकिङमा चार महिना अनवरत काम भयो,’ प्रिज्मा एड्भरटाइजिङका सिइओ रञ्जित सुनाउ“छन् । भिडियो सन् २०१५ मा रिलिज भयो, टुँडिखेलमा आयोजित नेपथ्यको कन्सर्टमा ।

‘उकाली–ओरालीहरूमा’ पुरुष स्वरमा थिएन, तारादेवीको सदाबहार गीत थियो । ‘यो गीत पुरुषको स्वरमा आउँदा नयाँ पुस्तालाई पनि आकर्षित गर्ला, यही गीत सुनेरै हुर्किएको पुरानो पुस्ताले पनि नयाँपन अनुभव गर्ला भनेर पुरुष स्वर रेकर्ड गर्ने फाइनल गरिएको थियो,’ रञ्जित सुनाउँछन् । नयाँ–पुराना दुवै पुस्ताका लागि एड्रिन प्रधानको स्वर उपयुक्त हुने ठहर्‍याइयो । त्यो वेला एड्रिन अमेरिकामा थिए । ३–४ महिना कुरेर उनको स्वर यस गीतमा भरिएको थियो । गीत प्रयोग गर्ने अनुमतिका लागि महिनौँ कुर्नुपर्‍यो ।

हिमाल–पहाडका उकाली–ओराली र तराईका हरिया फाँट, पश्चिमको काली, कर्णाली र पूर्वको चिया बगान भिडियोमा कैद छ । नेपाली वेशभूषा र परिवेश समेटिएको भिडियो हेर्दा लाग्दैन, विज्ञापन हेरिरहेको छु ! बरु नेपालको सिंगो सुन्दरता समेटिएको डकुमेन्ट्री नै हो किझैँ भान हुन्छ ।

‘ढिलो होस्, तर क्वालिटीमा सम्झौता नगर्ने भएका थियौँ,’ शेखर सुनाउँछन् । भिडियो शेखरले सोचेको स्तरकै बन्यो, दर्शकको रेस्पोन्स पनि त्यस्तै पायो । पल्सर नेपालको अफिसियल युट्युब च्यानलबाट झन्डै ४ लाखले भिडियो हेरिसकेका छन् । गायक एड्रिनको युट्युब च्यानलबाट पौने तीन लाखले भिडियो हेरे ।

अरूले पनि भिडियो अपलोड गरेका छन्, सबैको हिसाब–किताब गरेर साध्य छैन । भिडियोले गीतलाई न्याय गरेको शेखर बताउँछन् । ‘दौँतरी यो छुट्ने होइन’ बोलको गीतमा पनि छलफल गरिएको थियो । बजाज र राइडरको दौँतरी कहिल्यै छुट्दैन भनेर म्युजिक भिडियोमा देखाउन सकिन्थ्यो ।

म्युजिक भिडियो सुटिङको योजना रञ्जितले बुनेका थिए । बजाजको देशभर विस्तारित सञ्जाल भिडियोमा देखाइयो । हिमाल–पहाडका उकाली–ओराली र तराईका हरिया फाँट, पश्चिमको काली, कर्णाली र पूर्वको चिया बगान भिडियोमा कैद भयो । नेपाली वेशभूषा र परिवेशसमेत गीतको भिडियोमा समेटियो ।

भिडियो हेर्दा लाग्दैन, विज्ञापन हेरिरहेको छु ! बरु नेपालको सिंगो सुन्दरता समेटिएको डकुमेन्ट्री नै हो किझैँ भान हुन्छ । अझ भिडियोमा कैद गरिएको दृश्यमा नेपालको प्राकृतिक सुन्दरता मात्रै होइन, समृद्धिको स्वरूप पनि कैद गरिएको छ । भिडियोमा सुदूरपश्चिम किनारको लामो झोलंगे पुलको दृश्य जति मनमोहक लाग्छ, त्यस्तै आकर्षित गर्ने गरी पूर्वको चियाबारी पनि कैद गरिएको छ ।

फेवामा तैरिरहेको हिमाल होस् कि रारामा बयली खेलिरहेको सुन्दरतालाई कलात्मक ढंगले भिडियोमा उतारिएको छ । तराईका विशाल फाँटमा झुलिरहेका धानका बालामा समृद्धि र लुम्बिनीदेखि जानकी मन्दिरमा मुस्कुराइरहेको शान्तिलाई भिडियोमा उतारिएको छ ।

४ मिनेट ३३ सेकेन्डभित्र सिंगो नपाल अटाइएको छ भन्दा अतिशयोक्ति नहोला । नेपाली मौलिकता बोकेको थारूको सखिया नाचदेखि, गुरुङ–मगर हुँदै विभिन्न जातजातिका वेशभूषा भिडियोमा अटाइएको छ । हेर्दै जाँदा लाग्छ, यो साँच्चै नेपालबारेको डकुमेन्ट्री नै हो ।

पल्सर नेपालको अफिसियल युट्युब च्यानलबाट झन्डै ४ लाखले भिडियो हेरिसकेका छन् । गायक एड्रिनको युट्युब च्यानलबाट पौने तीन लाखले सो भिडियो हेरे । अरूले पनि भिडियो अपलोड गरेका छन्, सबैको हिसाब–किताब गरेर साध्य छैन ।

त्यसैले त नेपाल पर्यटन बोर्ड यो भिडियोप्रति आकर्षित भयो । ‘पर्यटन बोर्डले भिडियो फुटेज प्रयोग गर्न मागेको थियो,’ रञ्जित भन्छन्, ‘आन्तरिक पर्यटन प्रवर्द्धनमा सघाउने अतिरिक्त कामसमेत भिडियोले गर्‍यो ।’

यस्तै दसैँ–तिहारको समय पारेर भिडियो सुटिङ गरिएको थियो । यो मौसममा नेपाल खुल्छ, उच्च हिमालदेखि तराईसम्मै टलक्क टल्किन्छ । रातो कलरको पल्सर बाइक चढेर देशाटन गरेको गीतको भिडियोमा देखाइएको छ ।

भिडियोमा सुरुदेखि अन्त्यसम्म पल्सर देखिन्छ, विज्ञापन हो भन्ने महसुस भने हुँदैन । बरु देखिन्छ, एक युवाको बाइक सफर । सुटिङ सिध्याउन १७ जनाको टिमलाई २७ दिन लागेको थियो । पूर्वको इलामदेखि मुस्ताङ र पश्चिमको रारा हुँदै दोधारा–चाँदनीसम्मका दृश्य कैद गरिएको छ ।

भिडियोमा देखाउन देशभरका ल्यान्डमार्क छनोट गरिएको थियो । काठमाडौं, भक्तपुर, इलाम, जानकी मन्दिर, नुवाकोट दरबार, मुस्ताङको गाउँ, पर्वतको अग्लो झोलुंगे पुल, रारा, लुम्बिनी देखाउनैपर्ने सूचीमा थिए।

माछापुच्छ्रे हिमाल कहीँ न कहीँबाट देखाउन खोजियो । अनि, सबै ठाउँलाई स्थानीय जीवनशैलीस“ग जोडेर दृश्य कैद गरिएको थियो । दृश्यमा सुन्दर तर निर्जीव ठाउँ मात्र छैनन्, सँगै जीवनशैली हेर्न पाइन्छ । भक्तपुरमा स्थानीय नेवारी संस्कृति देखिन्छ, लुम्बिनीमा भिक्षुहरू । इलाम देखाउँदा चिया बगानमा महिलाले चिया टिपिरहेको दृश्य छ । ‘यसैले भिडियोमा प्राण भरेको छ,’
शेखर सुनाउँछन् ।

गीतको सुटिङ भक्तपुरबाट सुरु गरिएको थियो । अनि टिम पूर्वतिर हानियो । इलामबाट सुट गर्दै फर्किंदा टिम जनकपुर पस्यो । नेपालगन्ज हुँदै मुगुको रारामा पुग्यो । भिडियोमा राराको मनमोहक दृश्य कैद गर्‍यो । दोधारा–चाँदनी पुलको छायांकन भयो ।

 

तराईका हरिया फाँटमा फुलेको तोरी र झुलेको धान क्यामेरामा समेटियो । फर्किंदा लुम्बिनी, नारायणगढ, पोखरा हुँदै टोली मुस्ताङतर्फ लाग्यो । मुस्ताङमा बजाजको सोरुम छ, जुन सम्भवतः विश्वकै अग्लो स्थानमा रहेको मोटरबाइक सोरुम हो । मुस्ताङको चिसोमा बजाजको विक्रेताले चिया खुवाएको देखाउन खोजिएको छ ।

‘यो सानो सेवाको सिक्वेन्स हो,’ शेखर भन्छन्, ‘बजाजका देशभर छरिएका डिलरमा पुग्ने बजाजका ग्राहकलाई डिलरले चिया र खाजा खुवाएर पठाउँछन्, बजाज फेमिलीभित्रको कल्चर हो ।’ पर्वतको अग्लो पुलमाथि पल्सर बाइक कुदाएको दृश्य खिचिएको छ । स्याङ्जाको नौडाँडाबाट माछापुच्छ्रे हिमाल कैद गरियो । रञ्जितका अनुसार अन्तिम सुटिङ पोखरामा भएको थियो ।

भिडियो बनाउन करिब एक करोड रुपैयाँ खर्च भयो । ‘स्रस्टालाई सम्मान गर्नुपर्छ, गीतको राम्रो रोयल्टी दिनुपर्छ, कपिराइट लिएर मात्र भिडियोमा गीत प्रयोग गर्नुपर्छ भन्ने थियो,’ शेखर भन्छन्, ‘हामीले अहिलेसम्मकै राम्रो रोयल्टी दिएका छौँ ।’ नेपालमा पुरानो गीतलाई रोयल्टी तिरेर किन्ने यो नौलो प्रयास हो । रोयल्टीका लागि म्युजिक नेपाल, तारादेवी फाउन्डेसन र नातिकाजी फाउन्डेसन सबैको चित्त बुझाउने काम भयो ।

तपाईको प्रतिक्रिया