छोराको उपचार खर्च तिर्न नसकेपछि बाबुआमा नै परदेश - Naya Patrika
eNaya Patrika
  • ePaper

छोराको उपचार खर्च तिर्न नसकेपछि बाबुआमा नै परदेश

गुल्मीका नविन कुमाल सात वर्षका भएका छन् । गत असार १ गते उनी भीरबाट लडेपछि उनको दाहिने भाग राम्रो सँग चल्दैन् । उनी इस्मा गाउँपालिकामा ६ को अम्मरपुरको बुल्म प्राविमा दुई कक्षामा पढ्दथे । साथीहरुसँग नजिकै रहेको रातापहराको भीरमा अरिङ्गाल हेर्न जाँदा उनलाई अरिङ्गालले टोकेपछि उनी त्यहीबाट लडेका थिए । लडेर उनको टाउकोको आधाभाग फुटेकोले जिल्लामा उपचार सम्भव नभएपछि उनलाई लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा लगिएको थियो ।

उपचारपश्चात चोट निको भएपनि उनी शारीरिक रुपमा अपाङ्ग भएका छन् । उनको उपचारको क्रममा अस्पताल खर्च सात लाख पुगेको थियो । आर्थिक अवस्था निकै कमजोर रहेको कुमाल परिवारले अस्पतालमा तिर्न भनी गाउँमा ऋण गरेका छन् । दैनिक गरिने कामबाट गाउँको ऋण तिर्न सक्ने अवस्था नभएपछि गत भदौमा नविनका बावु र आमा रोजगारीको लागि भारत गएका छन् ।

घरमा दुई वर्षको बालकसहित तीन छोराछोरी मावलीमा छोडेर उनीहरु परदेशिएका हुन् । ‘गरिवलाई दैव लाग्यो गाउँभरी क्रृण छ, तिर्ने उपाय भएन, मावली हजुर आमा पुन कुमारी कुमालले भनिन,‘छोरी ज्वाँई नै भारत गए ।’ उनले यो वर्षनै घरको छानो फेरिएकोले छोरोको उपचारसहित उनलाई करिब नौ लाख रुपैयाँ ऋण लागेको छ ।

नविनको फलोअप चेकजाँच अझै बाँकी रहेकाले अझै बढी खर्चको आवश्यक परेको इस्मा गाउँपालिका ६ का वडाध्यक्ष हिरा जिसीले बताए । नविनलाई अस्पताल जाने आउनेदेखि लिएर औषधीमासमेत समस्या रहेको छ । पैसा नहुँदा अहिले हजुरआमासँग बसेका बालबालिकाको पालन पोषण साथै अध्ययनमा समेत समस्या भइरहेको हजुरआमाले बताइन् ।

तपाईको प्रतिक्रिया