कांग्रेसको कथा, जनताको व्यथा - Naya Patrika
eNaya Patrika
  • ePaper

कांग्रेसको कथा, जनताको व्यथा

कांग्रेस महामन्त्री शशांक कोइरालाले कांग्रेसको नेतृत्व परिवर्तन गरेर कोइरालाहरूले लगाम समात्ने बताएका छन् । उनले सभापति शेरबहादुर देउवा वृद्धावस्थामा प्रवेश गरिसकेकाले आराम गर्नुपर्ने सुझाब पनि दिएका छन् ।

शशांकको यो भनाइले कांग्रेसका कति कार्यकर्तालाई आकर्षित गर्नेछ र जोसिलो बनाउनेछ ? त्यो भने हेर्न बाँकी नै छ । विश्लेषक विष्णु सापकोटाका अनुसार ‘देउवाको विकल्पमा शशांक आउनु भनेको कांग्रेसका लागि तातो कराईबाट उम्केर तातो जस्ताको छतमा हामफाल्नु हो ।’

यतिवेला कांग्रेस विचित्र संकटमा परेको छ । सभापति देउवाले यस्तो संकट आउने परिकल्पना गरेका थिएनन् होला । यस्तो संकट कांग्रेसका लागि नयाँ होइन । खासगरी १ पुस ०१७ अगाडि पनि कांग्रेस विभिन्न गुटमा विभाजित थियो । बिपी कोइराला सबैका नेता हुनुहुन्थ्यो । तर, उहाँविरुद्ध गणेशमान सिंह, सुवर्ण शमशेर, सूर्यप्रसाद उपाध्यायजस्ता कांग्रेसका हस्तीको खेल चलिरहन्थ्यो ।

यस्तो खेल सभापति बिपी कोइरालालाई दुःख र दबाब दिने उद्देश्यले भन्दा पनि पार्टीभित्र नेताहरूले आ–आफ्नो वर्चस्व बढाउन खेल्ने गर्थे । तत्कालीन समयमा सबै नेतालाई थाहा थियो, बिपीलाई चुनौती दिन सकिन्न । नेता त बिपी नै हुनुहुन्थ्यो । अहिले त्यो अवस्था छैन ।

बिपीपछिको कांग्रेसले आफ्नो संगठन र साखको पूरै रूपान्तरण गरिसकेको छ । अहिलेका नेताको तुलना उतिवेलाका नेतासँग गर्न मिल्दैन । अहिलेका नेताका लागि आफ्नो व्यक्तित्व निर्माणका लागि पार्टीको प्रयोग अपरिहार्य भएको छ । उनीहरूसँग न बौद्धिक क्षमता छ, न सांगठनिक कौशल ।

सुशील कोइरालापछि कांग्रेसमा आनुवंशिक नेतृत्वको एउटा चरण सकिएको छ । बिपी कोइरालाको नेतृत्वपछि लामो समयसम्म कृष्णप्रसाद भट्टराईले पहिले कार्यवाहक सभापतिका रूपमा र पछि निर्वाचित सभापतिका रूपमा पार्टी सञ्चालन गर्नुभयो । सभापतिका रूपमा भट्टराईको अवकाश एउटा मूल्य पद्धतिको समाप्ति थियो ।

गिरिजाप्रसाद कोइरालाले सभापतिका रूपमा पार्टी सञ्चालन आफ्नो राजनीतिक आकांक्षा पूरा हुने हिसाबले गर्नुभयो । यतिवेला उहाँको कार्यशैलीको चर्चा गर्नु आवश्यक छैन । किनभने, त्यो जगजाहेर सत्य हो । मूल कुरा यति मात्रै हो कि गिरिजाप्रसादको शैली उहाँको उत्तराधिकारमा आउने सम्भावना भएका सबै नेताले पछ्याए । नयाँ नेताबीच गिरिजाप्रसाद कोइरालाको पार्टी नेतृत्व गतिशीलताको उदाहरण बन्यो ।

पछिल्लो चुनावपछि कांग्रेस चाउरिएको छ । नयाँ संविधान लागू भइसकेपछिको चुनाव परिणाम यति निराशाजनक होला भन्ने कल्पना कसैले गरेका थिएनन् । तनहुँको पारम्परिक कांग्रेसी क्षेत्रमा वरिष्ठ नेता रामचन्द्र पौडेलको अपमानजनक पराजय, कोइराला परिवारका आशालाग्दा ‘जिनिस’ मोरङमा शेखर कोइरालाको नमिठो पराजय र धनुषामा विमलेन्द्र निधिको अनपेक्षित पराजय विगत चुनावका असहज लाग्ने चरित्र थिए ।

त्योभन्दा पनि संसदीय सिटको आधारमा कांग्रेसले आफ्नो वर्चस्व यसरी गुमायो कि सिकायत गर्ने ठाउँसम्म पनि रहेन । दुई एकताबद्ध कम्युनिस्ट पार्टीसँग संघीय चुनावमा कांग्रेसको पराजयलाई अस्वाभाविक नमान्दा पनि स्थानीय तह र प्रादेशिक चुनावमा भएको पराजय आश्चर्यजनक थियो । स्थानीय तह र प्रादेशिक तहमा कांग्रेसको वर्चस्व छरिएको देखियो । यो राम्रो संकेत थिएन । किनभने, योसँगै एउटा नयाँ र महत्पूर्ण प्रश्न जोडियो, ‘के कांग्रेसले आफ्नो आधारभूमि गुमाएकै हो त ?’

यद्यपि, एउटा राष्ट्रिय पार्टी कुनै एउटा चुनावमा हार्नेबित्तिकै उसको जनाधार सकिँदैन । तर, कांग्रेसका नेताले यसरी सोचेको देखिएन । चुनावमा पराजयका कारण खोजी र विश्लेषणमा भन्दा पनि नेताहरू पारस्परिक आरोप–प्रत्यारोपमा अल्झिए ।

सभापति अन्तर्घातीलाई कारबाही गर्ने र कांग्रेसका कर्णधारका रूपमा रहेका नेताहरू सभापतिलाई अपमानित गर्न लागे । यो अनौठो र आत्मघाती खेल अहिले पनि जारी नै छ । कांग्रेसको दुस्मन कांग्रेस नै भएको यो अनौठो अवस्थाले निर्गम पाएको छैन ।

कांग्रेसको दुरवस्थालाई खासगरी वामपन्थीले आफ्नो उपलब्धि ठाने । वामपन्थीसँगै राजाका समर्थक र विवेकशील साझाजस्ता कांग्रेसविरोधी साना पार्टी पनि कांग्रेसविरोधी समीकरणमा मिसिए । यो अस्वाभाविक थिएन । अस्वाभाविक के थियो भने कांग्रेसका नेताहरू समाजवादको वामपन्थी बाटो छाडेर हिन्दुत्वको अनुदार मार्गमा लागे ।

शशांकदेखि शेखरसम्म र खुमबहादुर खड्कादेखि शेरबहादुर देउवासम्मलाई यो नाराले मोहित गरेको थियो । भारतका हिन्दुत्ववादी पार्टी र नेताहरूको आशय र आग्रहअनुसार यो नारा तत्कालीन एमाले र माओवादी नेताहरूको पोल्टामा पनि हाल्न खोजिएको थियो ।

हिन्दूहरूको चाहना नेपाल हिन्दू राष्ट्रकै रूपमा रहोस् भन्ने थियो । कांग्रेस हिन्दुत्वको धङधङीबाट अहिले पनि मुक्त भइसकेको छैन । नेपाललाई आधुनिक समाजका रूपमा रूपान्तरण गर्ने बिपी कोइरालाका सुपुत्रले नै यो मिसन मन पराएका छन् ।

वामपन्थीले कांग्रेस गएको चुनावमा जनताबाट तिरस्कृत भएकाले यसको दिन सकिएको घोषणा गरेका छन् । उनीहरूका अनुसार २००७ सालदेखि अहिलेसम्म कांग्रेसको गलत शासनले देशको विकास हुन नसकेको हो । वामपन्थीले कांग्रेसलाई अर्घेलो बनाउँदा बडो सुविधाजनक हिसाबले २०१७ देखि २०४६ सालसम्म चलेको राजाको प्रत्यक्ष शासनलाई बिर्सिएका छन् ।

राजाको शासनकालमा वामपन्थीको सत्तासँगको संघर्ष सहज थियो । उनीहरू निर्दलीय पञ्चायतका स्थानीय राजनीतिक एकाइ र लाभका संस्थामा काम गर्थे । ०३६ सालको जनमत संग्रहमा वामपन्थीले निर्दलीय व्यवस्थाका पक्षमा चुनाव बहिष्कार गरेको त जगजाहेर नै छ ।

यसपछि पनि उनीहरूले निर्दलीय सत्ताको स्वाद चाखिरहे । ०४६ को परिवर्तनपछि वामपन्थी एमाले पार्टीको हैसियतले सत्ता र शक्तिको अभिन्न अंगका रूपमा जोडियो । अहिले कांग्रसको विरोधमा उत्रिएका वामपन्थीले एमालेलाई जनताले ‘भाइ कांग्रेस’ भनेर चिन्ने गरेको सत्यलाई पनि बिर्सिनु हुँदैन ।

कांग्रेसको राजनीतिमा आगामी दिनहरू निकै कष्टकर र अप्ठ्यारो हुनेमा अब शंका नगरे हुन्छ । प्रमुख भनिने नेताहरू जसरी एकअर्कासँग जुध्दै छन्, त्यसले कसैको हित गर्दैन । महामन्त्री शशांक कोइरालालाई बिपीका कान्छो छोराका रूपमा सांसद बनाइराख्लान् ।

कांग्रेस सभापतिका रूपमा उनलाई स्थापित गर्न चाहनेहरू पनि कम शक्तिशाली छैनन् । शेरबहादुर देउवा र शशांकलाई सभापति र महामन्त्रीका रूपमा प्रस्तुत गर्ने कल्पनाशीलता देखाउनेहरू अहिले पनि सक्रिय छन् । उनीहरूले उनका कमजोरीको ढाकछोप गरेर उनलाई पार्टीको सर्वोच्च नेतृत्वमा पु¥याउन सक्छन् । तर, उनीबाट केही होला भन्नेमा धेरैको शंका छ ।

कांग्रेसका एकथरी कार्यकर्ता कांग्रेसलाई कोइरालाको बपौती मान्छन् भने अर्काथरी यो कुराको खण्डन गर्छन् । सत्य यति मात्र हो कांग्रेस एउटा राजनीतिक संगठन हो, जो धर्म, जाति, परिवार सबैबाट निरपेक्ष रहेको छ । कांग्रेसका नयाँ–पुराना र साना–ठूला सबै कार्यकर्ता यतिखेर चामत्कारिक नेतृत्वको खोजीमा छन् । उनीहरूमा व्यापक छटपटी छ ।

तर, कार्यकर्ताले खोजेको जस्तो चामत्कारिक नेतृत्व दिन सक्ने व्यक्तित्व दृश्य पटलमा छैन । हुन सक्छ, आगामी चुनावसम्म त्यो प्रकट होस् । त्यसो भयो भने पनि चमत्कारकै विषय हुनेछ । पार्टीका लागि सहज र असहज दुवै अवस्थामा योगदान गरेका व्यक्तित्वको अभाव छैन । अहिले पनि एकसेएक कार्यकर्ता सक्रिय छन् ।

चुनाव हारेका नेताहरू आफ्नो पराजयको कारण आफ्नै साथी रहेको बताउँछन् । आफ्नो अयोग्यताका कारण आफूँले चुनाव हारेको मान्न तयार छैनन् । यो नै कांग्रेसको रोग हो ।

तैपनि, कांग्रेसमा किन नेतृत्वको अभाव देखियो ? किन असल कांग्रेसीको खडेरी परेको देखियो ? किन कांग्रेस नेतृत्व निष्प्रभावी हुँदै गयो ? कांग्रेसबारे सोच्ने जोसुकैले यी प्रश्नको जवाफ खोज्नु समिचिन हुनेछ ।

सभापति शेरबहादुर देउवाको अहिले जसरी घेराबन्दी गरिएको छ, कांग्रेसका लागि त्यो नौलो होइन । कृष्णप्रसाद, गिरिजाप्रसाद र सुशील कोइराला सबै घेराबन्दीमा परिसकेका हुन् । तर, सभापति देउवाविरुद्धको घेराबन्दी अलिकति पृथक् नै छ ।

बदलिँदो समयअनुसार कांग्रेसले आफूँलाई पुनर्जागृत गराउने हो भने सबभन्दा पहिले पार्टीमा मूल्य पद्धतिलाई जागृत गराउनुपर्छ । यो काम कसले गर्ने ? अहिले आपूmलाई कांग्रेसका असली हकदार बताउने कोही पनि मूल्य–मान्यताका पक्षमा देखिएको छैन ।

सबै सत्ता र शक्तिको घोडा चढ्न हतारिएका छन् । वामपन्थी दुईवटा पार्टी हुँदा पनि कांग्रेसले चुनाव नजितेको थिएन । तर, एउटा हुनेबित्तिकै कसरी हार व्यहो-यो ? यसको अध्ययन कसले गरेको छ ? अहिले चुनाव हारेका नेताहरू आफ्नो पराजयको कारण आफ्नै साथी रहेको बताउँछन् । आफ्नो अयोग्यताका कारण आपूmले चुनाव हारेको मान्न तयार छैनन् ।

यो नै कांग्रेसको रोग हो । यो रोगको सन्तुलित जवाफ जसले खोज्छ, त्यही नेता चामत्कारिक मानिनेछ। त्यसले कांग्रेसलाई अगाडि बढाउने काम गर्नेछ ।

तपाईको प्रतिक्रिया