करिब १० अंक बढ्यो नेप्से - Naya Patrika
eNaya Patrika
  • ePaper

करिब १० अंक बढ्यो नेप्से

साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक शून्य दशमलव ८२ प्रतिशत बढेर बन्द भएको छ । नेप्सेसँगै यस दिन कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा बढेको छ । यस दिन २५ करोड रुपैयाँभन्दा बढीको सेयर खरिदबिक्री भएको छ । अघिल्लो दिन २२ करोड ६५ लाख रुपैयाँबराबरको मात्र सेयर खरिदबिक्री भएको थियो । अघिल्लो दिनको तुलनामा कारोबार रकम बढे पनि अन्य दिनको तुलनामा यो कम नै हो ।

दसैँको सुरुवातसँगै लगानीकर्ताहरू बजारभन्दा चाडपर्वतर्फ आकर्षित भएका छन् । केही लगानीकर्ता राजधानी छोडेर गएका त कोही जाने तरखरमा रहेका छन् । यसले बजारलाई केही प्रभावित गरेको छ । दसैँमा धेरै खर्च हुने भएका कारण केही लगानीकर्ताले दसैँपछि मात्र लगानी गर्ने मनसायमा रहेको एक ब्रोकरले बताए ।

नेपाली धितोपत्र बजार राजधानी केन्द्रित भएका कारण लगानीकर्ताहरू राजधानी छोडेर बाहिर जाँदा कारोबार रकममा कमी आउने उनको भनाइ छ । यसका लागि राजधानीबाहिर पनि बजार विस्तारका कार्य भए आगामी दिनमा बजार यसरी प्रभावित नहुने उनले बताए ।

नेप्से परिसूचक यस दिन ९ दशमलव ९५ अंक बढेर १ हजार २ सय २८ दशमलव २८ बिन्दुमा पुगेको छ । ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स यस दिन २ दशमलव ३६ अंक बढेर २ सय ६१ दशमलव शून्य ४ बिन्दुमा पुगेको छ । यस दिन १ सय ६५ कम्पनीको ४ हजार ५ सय ८४ पटकको कारोबारमा २५ करोड २२ लाख ९१ हजार ५ सय ४० रुपैयाँबराबरको ८ लाख ६२ हजार ३ सय ६८ कित्ता सेयर खरिदबिक्री भएको छ ।

नेप्सेको १४ दिने आरएसआई यस दिन ४९ दशमलव २६ स्केलमा पुगको छ । न्युट्रल जोनमा रहेको यस आरएसआईले बजारमा सेयर खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ । लगानीकर्ताको सम्पत्ति अघिल्लो दिनको तुलनामा १३ अर्ब ४३ करोड रुपैयाँ बढेर १४ खर्ब ६४ अर्ब ५७ करोड पुगेको छ ।

कारोबार रकम र सेयर संख्याका आधारमा यस दिन मेगा बैंक लिमिटेड अगाडि रहेको छ । सो वाणिज्य बैंकको यस दिन १ करोड ६४ लाख ४४ हजार रुपैयाँबराबरको ८२ हजार ७ सय ६० कित्ता सेयर खरिदबिक्री भएको छ । कारोबार संख्याका आधारमा भने यस दिन पनि पञ्चकन्या माई हाइड्रोपावर लिमिटेड अगाडि रहेको छ । सो जलविद्युत् कम्पनीको यस दिन १ हजार २ सय ९७ पटक सेयर कारोबार भएको छ ।

युनाइटेड फाइनान्सको सेयर मूल्य यस दिन ७ दशमलव ९५ प्रतिशत बढेको छ । पञ्चकन्या माई हाइड्रोपावरको सेयर मूल्य यस दिन ५ दशमलव ५५ प्रतिशत घटेको छ । कारोबारमा आएका १ सय ६५ कम्पनीमध्ये यस दिन ९९ कम्पनीको सेयर मूल्य बढेको छ भने ३९ कम्पनीको सेयर मूल्य घटेको छ । बाँकी २७ कम्पनीको सेयर मूल्य यस दिन स्थिर रहेको छ ।
बिहीबार उत्पादनमूलक र होटेल समूहको परिसूचकबाहेक अरू सबै समूहको परिसूचक बढेको छ ।

यस दिन वाणिज्य बैंक समूहको परिसूचक १ दशमलव १३ प्रतिशत बढेको छ । त्यसैगरी, निर्जीवन बिमा समूहको परिसूचक शून्य दशमलव ८६ प्रतिशत, वित्त समूहको शून्य दशमलव ८४ प्रतिशत, विकास बैंक समूहको शून्य दशमलव ८४ प्रतिशत, लघुवित्त समूहको शून्य दशमलव ५२ प्रतिशत, बिमा समूहको शून्य दशमलव १८ प्रतिशत, जलविद्युत् समूहको शून्य दशमलव १२ प्रतिशत र अन्य समूहको शून्य दशमलव १ प्रतिशत बढेको छ । होटेल समूहको परिसूचक यस दिन १ दशमलव ७१ प्रतिशत र उत्पादनमूलक समूहको शून्य दशमलव ५३ प्रतिशत घटेको छ ।

 स्पर्श लघुवित्तको साधारणसभा
स्पर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले कात्तिक १८ गते होटेल बराही, पोखरामा दोस्रो वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ ।

सभामा संस्थापक तथा सर्वसाधारण समूहको सेयर अनुपातलाई ६७ दशमलव ५० बराबर ३२ दशमलव ५० मा परिर्वन गर्ने, २ लाख ६९ हजार ६ सय ३० कित्ता सेयर सर्वसाधारण (कर्मचारी र सामूहिक लगानीकोषलाई समेत) निष्कासन गर्ने, ५ जिल्ला कार्यक्षेत्र थप गर्ने, स्वतन्त्र सञ्चालक तथा मेगा बैंक नेपालका तर्फबाट प्रतिनिधि सञ्चालकको नियुक्ति सन्दर्भमा सञ्चालक समितिको निर्णय अनुमोदन गर्ने र लेखापरीक्षक नियुक्त गर्ने विशेष प्रस्ताव रहेको छ ।

 नयाँ नेपालको हकप्रद बाँडफाँड
नयाँ नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले असोज २४ गते हकप्रद सेयर बाँडफाँड गरेको छ । कम्पनीले साउन ७ गतेभन्दा अघिल्लो दिनसम्म कायम सेयरधनीहरूका लागि १ बराबर २ दशमलव ५ अनुपातमा निष्कासन गरेको हकप्रद सेयर बाँडफाँड गरेको हो । कम्पनीले साउन २७ गतेदेखि भदौ ३१ गतेसम्म प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरका ६ लाख कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो । कम्पनीले निष्कासन गरेको कुल सेयरमध्ये ४ लाख ९६ हजार ६ सय ४७ कित्ता हकप्रद सेयर बाँडफाँड गरेको हो । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

 गुहेश्वरीको साधारणसभा
गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेडले कात्तिक १६ गते गुहेश्वरी भवन, हरिहर भवनमा सत्रौँ वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ । सभामा प्रबन्धपत्र तथा नियमावलीमा संशोधन तथा प्राप्त हुने निर्देशन कार्यान्वयन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, मर्जर÷एक्विजिसन, संस्थापक सेयरधनीका तर्फबाट ३ जना र सर्वसाधारण सेयरधनीका तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने, ४ करोड २१ लाख ५ हजार ६ सय रुपैयाँ नगद लाभांश वितरण गर्ने र लेखापरीक्षक नियुक्त गर्ने विशेष प्रस्ताव रहेको छ । साधारणसभा प्रयोजनका लागि कम्पनीले कात्तिक ९ गतेदेखि १६ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।

 मूल्य समायोजन
बिहीबार नेप्सेले सानिमा माई हाइड्रोपावर कम्पनी लिमिटेडको मूल्य समायोजन गरेको छ । कम्पनीको १० प्रतिशत बोनस सेयरपछिको समायोजन मूल्य कम्पनीले २ सय ६० तोकेको छ । समायोजनका लागि कम्पनीको औसत आधार मूल्य ३ सय ५ दशमलव ५० तोकिएको थियो ।

 सेयर सूचीकृत
बिहीबार दुई कम्पनीले नेप्सेमा ६४ लाख ५० हजार कित्ता सेयर सूचीकृत गरेको छ । यस दिन कालिका पावर कम्पनी लिमिटेडले ६० लाख कित्ता आइपिओ सूचीकृत गरेको छ । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले भने ४ लाख ५० हजार कित्ता हकप्रद सेयर सूचीकृत गरेको हो ।

तपाईको प्रतिक्रिया