विदेश नीतिमा चुकेका मोदी - Naya Patrika
eNaya Patrika
  • ePaper

विदेश नीतिमा चुकेका मोदी

हालै सम्पन्न संयुक्त राष्ट्रसंघको महासभामा भारतीय र पाकिस्तानी विदेशमन्त्रीबीच देखिएको तिक्तताले दुई देशको द्विपक्षीय सम्बन्ध झनै खराब भएको छ । महासभाका दौरान दुई देशका विदेशमन्त्रीबीच द्विपक्षीय भेटघाट हुने समहति गरिएको २४ घन्टा नबित्दै भारतीय पक्षले निर्धारित भेटघाट रद्द गरिदियो ।

किस्तानी बलले भारत–पाकिस्तान सीमामा खटिएका तीनजना भारतीय प्रहरी अधिकारीको हत्या गरेको र कस्मिरी अतंकवादीलाई सम्मान गरेको आरोप लगाउँदै भारतीय पक्षले भेटघाट रद्द गरेको थियो । भारतीय विदेश मन्त्रालयका आनुसार यस्ता घटनाले पाकिस्तानी प्रधानमन्त्री इमरान खानको वास्तविक चरित्र उजागर गरेको छ ।

यद्यपि, भारतीय पक्षले दाबी गरेजस्तो दुई देशको सीमामा हुने मुठभेड तथा हत्याको घटना यो नै पहिलो होइन । यो वर्षभरि मात्रै यस्ता घटना धेरै भएका छन् । खासमा भारतको आमनिर्वाचन आउन ६ महिना बाँकी छ भने पाँच राज्यको निर्वाचन यही वर्षभित्र हुँदै छ ।

यसर्थ, चुनावअघिको संवेदनशील घडीमा भारतीय पक्षले पाकिस्तानी पक्षसँग भेटघाट तथा संवाद गर्न नचाहेको प्रस्ट भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी (भाजपा) हिन्दुत्वलाई आधार बनाएर चुनाव लड्ने तयारीमा देखिन्छ । यसो हुँदा हिन्दुत्वप्रति बफादार देखिन भाजपाले मुस्लिम र पाकिस्तानलाई घृणा गरेको देखिनुपर्ने हुन्छ ।

राष्ट्रसंघीय महासभामा समेत भारतीय विदेशमन्त्री सुष्मा स्वराजले स्वदेशमा रहेका भाजपाका मतदातालाई राजनीतिक अभियानसम्बन्धी सन्देश बाँडेको भान हुन्थ्यो । महासभामा स्वराजले सम्बोधन गर्दा खुलेर पाकिस्ताको आलोचना गरिन् । यसैबीच उनी बारम्बार मोदीको नाम लिइरहेकी थिइन् ।

यसो भनिरहँदा पाकिस्तानको खान सरकारको कूटनीति उदाहरणीय छ भन्न खोजेको भने होइन । महासभामा एक–अर्कालाई आरोप–प्रत्यारोप लगाउने सिलसिलामा पाकिस्तानी विदेशमन्त्री शाह मोहम्मद कुरेसीले पाकिस्तान भारतीय आतंकवादीको बन्धक बनेको आरोप लगाए । सन् २०१४ मा पाकिस्तानको पेसवर सैनिक विद्यालयमा भएको आक्रमणमा भारतको हात रहेको आरोप कुरेसीले लगाए ।

विगतका कतिपय घटनाक्रम हेर्दा पाकिस्तानसँगको वार्ता र सम्बन्ध सुधारका लागि भारत सरकारसँग पाकिस्तानलक्षित प्रस्ट विदेश नीतिको अभाव देखिन्छ

यसरी हेर्दा परमाणु हतियारधारी जिम्मेवार राष्ट्रहरूको सम्बन्ध यति खराब बन्नुले पक्कै पनि राम्रो सन्देश दिँदैन । सेनाको समर्थन प्राप्त खान सरकार आफ्नो शक्ति बलियो बनाउने दाउमा छ । अर्कातर्फ, भारतीय सरकारलाई चुनावी माहोलले तताएकाले पाकिस्तानको आलोचना गर्न तथा सैन्य गतिविधिलाई राजनीतीकरण गर्न मोदी सरकार उद्यत देखिन्छ ।

यस्तो माहोलका कारण मोदी सरकारसँग पाकिस्तान नीति नदेखिएको भन्दै विदेश नीति सम्बन्धका विज्ञहरूले आश्चर्य प्रकट गरेका छन् । सन् २०१४ मा प्रधानमन्त्री पद सम्हाल्दै गर्दा मोदीले तत्कालीन पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफलाई भेट्न बोलाएका थिए । मोदीको यस्तो प्रयासले दुई देशको सम्बन्ध सुधार हुने अपेक्षा गरिएको थियो ।

तर, यस अपेक्षाको ठीकविपरीत दुई महिनापछि पाकिस्तान–भारत सीमाका संवेदनशील क्षेत्रमा दुवै पक्ष एक–अर्कामाथि आक्रमणमा उत्रिए । यी यावत् घटनाक्रमलाई हेर्दा पाकिस्तानसँगको वार्ता र सम्बन्ध सुधारका लागि भारतीय सरकारसँग पाकिस्तान लक्षित प्रस्ट विदेश नीतिको अभाव देखिन्छ ।

(लेखक भारतका पूर्वविदेश राज्यमन्त्री हुन्) कपिराइट: प्रोजेक्ट सिन्डिकेट, २०१८

नयाँ पत्रिका र प्रोजेक्ट सिन्डिकेटको सहकार्य

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु