कांग्रेसमा शक्ति–संघर्ष - Naya Patrika
eNaya Patrika
  • ePaper

कांग्रेसमा शक्ति–संघर्ष

पछिल्लो संसदीय निर्वाचनमा नराम्रोसँग पराजय व्यहोरेर सत्ताबाट बाहिरिएको कांग्रेस एउटा संक्रमणकालीन अवस्थाबाट गुज्रिरहेको छ । नेपालले राजनीतिक आन्दोलनको एउटा शृंखलालाई बिसौनी दिएको छ । संविधान बनिसकेपछि परम्परागत उदारवादी लोकतन्त्रले नेपालमा समावेशी र समानुपातिक प्रतिनिधित्व प्रणालीसँग, कतिपय समाजवादी कार्यदिशासँग सम्झौता गरेको छ ।

सँगै नेपालले पुँजीवादी राजनीतिक क्रान्तिको चरण पार गरेको छ । स्वतन्त्र पुँजीपति वर्ग हुन्थ्यो, राष्ट्रिय र उत्पादनशील पुँजीको वर्चस्व हुन्थ्यो भने नेपालले अब सहज रूपमा पुँजीवादी विकासको बाटो समात्थ्यो । आर्थिक वृद्धिसँगै समानुपातिक वितरणको बाटो पनि संविधानका कारण खुल्दै जान्थ्यो ।

तर, नेपाली पुँजीवादको चरित्र विश्व पुँजीवादको पुच्छरमा बसेर उसको दलाली गर्ने खालको छ । व्यापारमुखी छ । उत्पादनशील छैन । जे–जति उद्योग छन्, तिनको राष्ट्रिय अर्थतन्त्रमा योगदान अत्यन्त कम छ ।

समाज ‘रेन्ट सिकर’हरूको दबदबामा छ । राजनीतिक सत्ता र जनताबीच बसेर दलाली गरिखाने तप्काले भ्रष्टाचार बढाएको छ । यो परम्परा पञ्चायती कालबाट विस्तारित हुँदै कांग्रेस नेतृत्वको सरकार भएको समयमा उग्र रूपमा फैलिएको थियो ।

समाजले नयाँ गन्तव्य खोजेको छ । संसदीय प्रणाली भए पनि हामीले अपनाएको संघीय प्रणाली र अधिकार सम्पन्न स्थानीय तहहरूको व्यवस्थाले परम्परागत संसदीय लोकतन्त्रभन्दा भिन्न सहभागितामूलक प्रणालीलाई हामी अघि लान खोज्दै छौँ । यस्तो वेला आफूलाई उदारवादको अगुवा र प्रतिनिधि ठान्ने कांग्रेसले समयानुकूल आफूलाई बदल्नुपथ्र्यो ।

पार्टीको राजनीतिक कार्यदिशा र संगठनको व्यवस्थापन सोहीअनुरूप समावेशी, सहभागितामूलक बनाउँदै जानुपथ्र्यो । नयाँ सन्दर्भमा कांग्रेसका कार्यभारबारे प्रस्ट हुनु आवश्यक थियो । तर, कांग्रेसको नेतृत्व गुटहरूको व्यवस्थापनको घनचक्करमा फस्दै गएको छ ।

समावेशी र सहभागितामूलक पार्टी निर्माणको साटो तत्कालीन राजनीतिक शक्ति सन्तुलनका सन्दर्भमा आफ्नो गुटको भविष्य सपार्न शक्तिशाली सभापतिको व्यवस्था विधानमा समावेश गर्न जोड दिँदै छ संस्थापन पक्ष । अल्पमत या प्रतिपक्षमा रहेको रामचन्द्र गुट, कोइराला र सिटौला समूह देउवालाई नै सबै कमजोरीका लागि दोषी ठह¥याएर आउने महाधिवेशनमा शक्ति हत्याउने दाउमा छन् ।

देउवासँग बराबरै चिढिएका भए पनि कोइराला र रामचन्द्र खेमाबीच आगामी महाधिवेशनलाई लिएर सुरु भएको अविश्वासले कांग्रेसभित्रको प्रतिपक्ष कमजोर हालतमा छ

विद्यार्थी संगठनका नेता रहिरहन विद्यार्थी नै हुनुपर्ने अवस्थाको माग गर्ने ३२ वर्षे उमेर हदमा समेत असहमति जनाएर प्रतिपक्षी समूह बखेडा झिकिरहेको छ । संसद्मा प्रमुख प्रतिपक्षमा रहेको कांग्रेसले संसद्मा समेत आफ्नो प्रभावकारी उपस्थिति देखाउन सकेको छैन ।

अर्कैका कार्यसूचीमा हुने आन्दोलनलाई समर्थन गर्दै प्रतिपक्षीय भूमिकामा कहिलेकाहीँ देखिने कांग्रेसले देशमा उपस्थित अनेक समस्यामा सरकारलाई दबाब दिने कुनै जाँगरसमेत देखाएको छैन ।

देउवासँग बराबरै चिढिएका भए पनि कोइराला र रामचन्द्र खेमाबीच आउने महाधिवेशनलाई लिएर सुरु भएको अविश्वासले कांग्रेसभित्रको प्रतिपक्ष कमजोर हालतमा छ । उता देउवा आफ्नो गुटका नेताको व्यवस्थापन गर्दै आउने महाधिवेशनपछि पनि सभापति बनिरहने दाउमा छन् ।

वैचारिक सैद्धान्तिक रूपले कांग्रेसका चुनौती ठम्याउन छाडेर तत्कालका लाभ–हानिका आधारमा पार्टी र गुट पनि परिचालित हुन थालेपछि पार्टी यसै पनि थला पर्ने नै भयो । तत्काल कांग्रेस यसबाट तंग्रिएर बाहिर आउला भन्ने कमै आशा गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया