‘निजगढ विमानस्थल निर्माणमा वन बाधक बन्दैन’ - Naya Patrika
eNaya Patrika
  • ePaper

‘निजगढ विमानस्थल निर्माणमा वन बाधक बन्दैन’

वन तथा वातावरण मन्त्रालयले निजगढमा निर्माण हुने अन्तर्राष्ट्रिय विमानस्थलका लागि वनको मुद्दा बाधक नबन्ने स्पष्ट पारेको छ । मन्त्रालयका सचिव डा. विश्वनाथ ओलीले आयोजना कार्यान्वयन गरी मुलुक विकास गर्ने सन्दर्भमा मन्त्रालय बाधक नबन्ने बताएका हुन् ।

व्यवस्थापिका संसद्, अन्तर्राष्ट्रिय सम्बन्ध समितिले निजगढ विमानस्थलको सम्बन्धमा अध्ययन गरी प्रतिवेदन बुझाउन गठन गरेको उपसमितिको बैठकमा बोल्दै सचिव ओलीले वृक्षारोपण तथा वातावरण संरक्षणका वैकल्पिक उपाय अपनाएर विमानस्थलका लागि रूख हटाउन सकिने बताएका हुन् । करिब १९ सय हेक्टर क्षेत्रफलमा विमानस्थल संरचना बन्ने विमानस्थलको पहिलो चरणमा करिब ९ सय ९० हेक्टर जमिनका रूख कटान गरी विमानस्थल बनाउन सकिने वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनले उल्लेख गरेको मन्त्रालयले जानकारी दिएको छ ।

रूख रोप्ने योजना के छ ?
नेपालमा आयोजना कार्यान्वयनका लागि एउटा रूख कटान भयो भने त्यसको सट्टामा २५ वटा रूख रोप्नुपर्ने प्रावधान छ । वन तथा वातावरण मन्त्रालयका अनुसार निजगढ विमानस्थलका लागि पहिलो चरणमा काटिने रूखको सट्टामा रूखका बिरुवा रोप्न नदीले कटान गरेका र नदी नियन्त्रणको आवश्यकता रहेका क्षेत्र छनोट गरिनेछ ।

सचिव ओलीका अनुसार २९ वटा यस्ता क्षेत्रको पहिचानसमेत भइसकेको छ । आयोजनाको इआइए प्रतिवेदनमा नमुनाका रूपमा गणना गरेर अनुमानका आधारमा रूख संख्या यकिन हुने गर्छ । वन मन्त्रालयले सरोकारवाला मन्त्रालय र आयोजनाले मागेको क्षेत्रमा कति रूख छन् भनेर यकिन गरी रूख कटान आदेश मन्त्रिपरिषद् लैजान्छ ।

सोहीक्रममा अहिले वन तथा भूसंरक्षण विभागले डिभिजन वन कार्यालयमार्फत पहिलो चरणमा निर्माण हुन विमानस्थलको संरचनाले ओगट्ने रूखको यकिन संख्या गणना गर्न थालिसकेको मन्त्रालयका सचिव डा. विश्वनाथ ओलीले जानकारी दिए ।

न्यून वातावरणीय क्षतिमा ठूलो पूर्वाधार
मन्त्रालयका अनुसार अहिले देशभर ६५ लाख वन क्षेत्र रहेको छ । निजगढ विमानस्थलको कुल क्षेत्रफल झन्डै ८ हजार हेक्टर हो । यो क्षेत्र कुल वन क्षेत्रको शून्य दशमलव ००२ प्रतिशत मात्र हो । समिति बैठकमा बोल्दै त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. सुरेश उप्रेतीले ठूलो आयोजना बन्दा वातावरणमा केही प्रभाव पार्ने भए पनि त्यसले आयोजना नै प्रभावित हुने अवस्था सिर्जना गर्न नहुने बताए ।

नागीडाँडा आयोजना बन्द गरौँ,
निजगढलाई तीव्रता : पूर्वप्रम नेपाल
पूर्वप्रधानमन्त्री तथा उपसमिति संयोजक माधवकुमार नेपालले काभ्रेको नागीडाँडामा विमानस्थल बनाउने आयोजना रद्द गर्न सुझाब दिएका छन् । अहिलेको प्राथमिकता निजगढ विमानस्थललाई तीव्रता दिनु रहेको भन्दै नागीडाँडा विमानस्थल आयोजना रद्द गर्नुपर्ने उल्लेख गरे । ‘कुनै एक मन्त्रीले लहडमा विमानस्थल माग्यो भन्दैमा त्यसको पछाडि नलाग्नुस्, उनले प्राधिकरणका अधिकारीहरूसमक्ष आग्रह गरे, ‘अहिलेको आवश्यकता निजगढ विमानस्थल छिटो बनाउनु नै हो ।’

विमानस्थल पूर्वाधार भावी पुस्ताका
लागि पनि हो : प्राधिकरण
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले निजगढ विमानस्थल त्रिभुवन विमानस्थलको विकल्प नभई भावी पुस्ताको समेत आवश्यकता धान्ने पूर्वाधार रहेको बताए । ‘हामी पहिलो चरणमा वार्षिक १ करोड ५० लाख यात्रुलाई सेवा दिन सक्ने क्षमताको विमानस्थल बनाएर सेवा सुरु गर्छौं,’ उनले भने, ‘तर, यो आयोजना आगामी ५० वर्षको ट्राफिक चाप धान्ने गरी अगाडि बढेको हो ।’

 

तपाईको प्रतिक्रिया