प्रदेश पाँचको विकास गर्न विश्व बैंकको टोलीसँग मुख्यमन्त्रीको भेट - Naya Patrika
eNaya Patrika
  • ePaper

प्रदेश पाँचको विकास गर्न विश्व बैंकको टोलीसँग मुख्यमन्त्रीको भेट

विश्व बैंकले पाँच नम्बर प्रदेशको पर्यटन स्थान खोजी गरी विकासमा सहयोग गर्ने मुख्यमन्त्रीसँग छलफल गरेको छ । विश्व बैंकका नेपालस्थित कन्ट्री डाइरेक्टर फारिस हदाद जर्वोसले प्रदेश पाँचको पर्यटन विकासमा तयार हुँदै गरेको सहयोग सम्बन्धी मुख्यमन्त्री शंकर पोखरेललाई जानकारी गराए ।

मुख्यमन्त्री पोखरेलसँग बिहीबार विश्व बैंकका नेपालस्थित कन्ट्री डाइरेक्टर हदाद जर्वोस, बेलायती सहयोग नियोग डिएफआइडीका सुशासन हेर्ने टिम लिडर सिन्थिया रोय, युरोपियन युनियनका नेपालस्थित प्रमुख ओविद्यु, युएनडिपीका सहायक आवासीय प्रतिनिधि यमनाथ शर्मा लगायत दातृ निकायको टोलीले भेट गरेको थिए ।

टोलीले प्रदेशको विकासको प्राथमिकता, संघीयतालाई कार्यान्वयन गर्ने क्रममा भएका काम, समस्या र गन्तव्य बारे जानकारी लिएको मुखयमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले बताए । दातृ निकायको सहयोगले निकट भविष्यमा सर्वेक्षण तथा अध्ययनका बारेमा जानकारी दिनुका साथै प्रभावकारिता र प्रयोगमा छलफल भएको प्रेस सललाहकार केसीले बताए ।

टोलीलाई मुख्यमन्त्री पोखरेलले कार्यान्वयनमा रहेका वैदेशिक सहयोगका आयोजना सम्भव भएसम्म प्रादेशीक प्राथमिकता र आवश्यकतालाई समावेश गरी अघि बढाउन आग्रह गरे । साथै प्रदेशमा सञ्चालन हुने नयाँ आयोजना अघि बढाउँदा प्रदेश सरकारसँग छलफल गरी योगदान पुर्‍याउन मुख्यमन्त्रीले आग्रह गरेको केसीले बताए ।

तपाईको प्रतिक्रिया