दृष्टि दिवसमा ९ सय चालकको आँखा परीक्षण - Naya Patrika
eNaya Patrika
  • ePaper

दृष्टि दिवसमा ९ सय चालकको आँखा परीक्षण

झापामा सवारी चालकहरुको निःशुल्क आँखा परीक्षण गरी विश्व दृष्टि दिवस मनाइएको छ । ‘दृष्टि सबैको लागि, सधैँका लागि’ भन्ने मूल नारासहित यो वर्ष मेची आँखा अस्पतालले विश्व दृष्टि दिवस मनाएको हो ।

मेची आँखा अस्पतालले जिल्ला ट्राफिक प्रहरी कार्यालय झापासँग सहकार्य गर्दै सवारी चालकको आँखा परीक्षण गरेको हो । विश्व स्वास्थ्य संगठन र अन्धोपन निवारणका लागि अन्तराष्ट्रिय एजेन्सी आइ.ए.पि.बी.को आह्वानमा सन् १९९९ देखि हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबार विश्व दृष्टि दिवस मनाउन थालिएको हो । बिर्तामोडस्थित नयाँ बसपार्क परिसरमा सवारी चालकको आँखा जाँच गरिएको थियो ।

कार्यक्रममा बोल्दै नेत्र विशेषज्ञ डाक्टर पुरुषेत्तम जोशीले मानव शरीरको संवेदनशील अंगका रुपमा रहेको आँखाको सुरक्षा गर्न सके मात्र दृष्टिविहीन हुनबाट बच्न सकिने बताएका छन् ।

डा. जोशीले मोतिविन्दु, जलविन्दु, आँखामा लाग्ने चोटपटक, मधुमेह, उच्च रक्तचाप, भिटामिन ‘ए’को अभावका कारण मानिसमा अन्धोपना हुने गरेको बताए । उनले भने, ‘आँखाको थोरै जतन गरियो भने अन्धोपन हुनबाट बच्न सकिन्छ ।’

कार्यक्रममा बोल्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक राजेश राईले चालकको आँखामा सधै तेज हुनुपर्ने बताएका छन् । उनले रोगी आँखा लिएर सवारी चालकलाई सवारी नचलाउन आग्रह समेत गरे । ‘आँखालाई असहज भएजस्तो लागेको छ भने तत्काल आँखा जाँच गराउन म सवैलाई आग्रह गर्छु,’ उनले भने, ‘आँखाकै कारण सवारी चलाउँदा दुर्घटना नहोस् भनेर कार्यक्रमको आयोजना गरिएको हो ।’

मेची आँखा अस्पताल व्यवस्थापन समिति अध्यक्ष दीनेशकुमार मित्तलको अध्यक्षतामा भएको कार्यक्रममा संघका सचिव सुरज वंशलले स्वागत गर्दै सन १९९८ सालबाट झापाको बिर्तामोडबाट सञ्चालनमा आएको मेची आँखा अस्पतालले प्रत्येक वर्ष एक लाख ७० हजार बढीलाई सेवा प्रदान गर्दै आएको बताए ।

अस्पतालका प्रशासकीय अधिकृत सुरज रौनियारले प्रत्येक वर्ष ७० ठाउँमा अस्पतालले आँखा जाँचको निः शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको र १० ठाउँमा सर्जिकल क्याम्प गरिदै आएको बताए । हालसम्म ३६ विद्यालयका १२ हजार विद्यार्थीको निःशुल्क आँखा जाँच गरिएको बताए ।

९ सय चालकको निःशुल्क आँखा जाँच

मेची आँखा अस्पताल र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले संयुक्त रुपमा आयोजना गरेको सवारी चालकको निःशुल्क आँखा परीक्षण कार्यक्रममा नौ सयजना सवारी चालकले आँखा जाँच गरेका छन् ।
जसमा २५ जनाको शल्यक्रिया गर्नु पर्ने भएकाले मेची आँखा अस्पताल पठाइएको अस्पतालका प्रशासशीय अधिकृत रौनियारले बताए । शिविरमा आँखा जाँच गराएका १० जना चालकमा कलर भिजन ( रङ छुट्याउन ) नसक्ने पाइएकाले औषधि प्रदान गरिएको बताइएको छ ।

आँखा अस्पतालले शिविरमा आएर आँखा जाँच गराउनेहरुका लागि २० हजार रुपैयाँ बराबरको निःशुल्क औषधि बितरण गरेको बताइएको छ ।

नेपालमा दुई लाख २० हजार जनामा कुनै न कुनै प्रकारको अन्धोपना रहेको सरकारी तथ्याङ्क छ । अन्धोपन निवारणमा लागि सरकारले सन् १९९९ नोभेम्बरमा ‘भिजन ट्वेन्टी–ट्वेन्टी’ २० वर्षे कार्यक्रम घोषणा गरी कार्ययोजना लागू गर्दै आँखा स्वास्थ्य सेवामा प्राथमिकता दिएको छ ।

डब्लु.एच.ओ र आइ.ए.पि.बी.ले सन् १९९९ को फेब्रुअरीमा संयुक्त रुपमा विश्वबाट हटाउन सकिने अन्धोपनलाई सन् २०२० सम्ममा न्यूनीकरण गर्न भिजन ‘ट्वेन्टी–ट्वेन्टीः राइट टु साइट’ कार्यक्रम घोषणा गरेका थिए । जसअन्तर्गत आँखा स्वास्थ्य सेवामा गुणस्तरीय सेवा, समतामूलक वितरण, एकीकृत स्वास्थ्य सेवा र दिगोपनाको मान्यतामा रहेर स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ ।

तपाईको प्रतिक्रिया