चेपाङ समुदायका लागि जुट्यो दसैँ खर्च - Naya Patrika
eNaya Patrika
  • ePaper

चेपाङ समुदायका लागि जुट्यो दसैँ खर्च

बेँसीसहर नगरपालिका, ११ चितीको चेपाङटारमा बस्दै आएका चेपाङ समुदायलाई दसैँ मनाउन आर्थिक सहयोग जुटेको छ । नगरपालिकामा रहेको १० चेपाङ घर समुदायलाई ६ हजार रुपैयाँका दरले दसैँ खर्च सहयोग गरेको हो ।

खर्चको अभावमा दसैँ मनाउन समस्या हुने भएकाले उनीहरूलाई सहयोग गरिएको बेँसीसहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले बताए । बिहीबार उनले चेपाङ बस्तीमा गएर नगद वितरण गरेका हुन् ।

वर्षदिनको चाड कसरी मनाउने अन्योलमा रहेको बेला आर्थिक सहयोग पाएपछि निकै सजिलो भएको ६५ वर्षीय सुकमान चेपाङ बताए । ‘ऋण खोजेर जसोतसो दसैँ मनाउने सुरमा थियौं,’ उनले भने, ‘नगरपालिकाले ६ हजार दिएपछि ठूलो भरथेग भयो ।’ दसैँमा लुगा र मिठो खानाको जोहो हुने भएपछि बालबालिका निकै रमाएको स्थानीय कोपिला चेपाङले बताइन् ।

मेलापात र ज्यालादारी गरी जिविका चलाउनु उनीहरुको दैनिकी बन्दै आएको छ । स्थानीय ५७ वर्षीया हिरामायाले दसैँ मान्न ऋण खोज्न नपर्दा निकै खुसी लागेको बताइन । नौँ जनाको परिवार भएको उनको परिवारमा दसैँमा चामलकै भात खुवाउने उनको चाहना नगरपालिकाले पूरा भएको छ । उनले भनिन्, ‘नगरपालिकाले दिएको पैसाले चामल र छोराछोरीलाई कपडा किनिदिन्छु ।’

आम्दानीको राम्रो स्रोत नभएकाले चाडपर्व मान्न ऋण खोज्नुको विकल्प नभएको चेपाङ अभियन्ता अमृता चेपाङले बताइन् । ‘साँझ–बिहानको छाक टार्न समस्या छ,’ उनले भनिन, ‘चाडपर्वको बेला गाउँ पुगेर हेर्दा आँसु झर्छ, ऋण लगाएर जान्छ ।’

तपाईको प्रतिक्रिया