मध्यपहाडी लोकमार्गको काम मध्य रातसम्म - Naya Patrika
eNaya Patrika
  • ePaper

मध्यपहाडी लोकमार्गको काम मध्य रातसम्म

चाडपर्व नजिकिदै गर्दा मध्य पहाडी लोकमार्गको बागलुङ खण्डमा मध्य रातसम्म काम भएको छ । चाडपर्व नजिकिएसँगै समयमा नै काम सक्नु पर्ने दबाब आएपछि ठेकेदारले दिन रातिसम्म काम गर्दै आएको हो । सडकमा अहिले चौडा बनाउने, ग्राबेल गर्ने देखि लिएर नाली तथा पर्खाल निर्माण भइरहेको छ । यो मार्ग १३ किलोमिटर रहेको छ ।

‘सिद्धीसाई प्रकाश कन्सट्रक्सन’ले ठेक्कामा लिएको सडकमा यात्रुलाई सहज बनाउन सडक निर्माणमा तिबैता दिएको साइट इञ्चार्ज पुष्पकुमार शाहीले बताए । उनका अनुसार सडक निर्माणमा दुई सय मजदुर खटिएका छन् । ‘समयमा नै लक्ष्य पूरा गर्ने गरी काम भइरहेको छ,’ उनले भने, ‘चाडपर्वको बेला पनि काम रोकिन्न ।’

ठेक्का सम्झौताअनुसार आगामी २०७६ माघ १४ गतेसम्म कालोपत्र गर्ने म्याद तोकिएको छ । विवादित जग्गा, खानेपानीका पाइप र विद्युतका खम्बा समयमै हटाउन नसक्दा काममा बाधा पुगेको ठेकेदारले बताउँदै आएको छ ।

दुई दशकपछि कालोपत्रे

यस सडक खण्ड निर्माण सुरु भएको दुई दशकपछि कालोपत्र गर्न तयारी अघि बढेको हो । वर्षामा हिलाम्य र हिउँदमा धुलाम्य हुने सकस भोग्दै आएका स्थानीय ठेकेदारसँग रुष्ट भएको छन् ।

पछिल्लो समयमा काममा भएको तिब्रताले केही आशा पलाएको काँठेखोला गाउँपालिका–१ का अध्यक्ष खड्क थापाले बताए । अहिले सदरमुकामदेखि अक्षतेसम्मको सडक ग्राबेल हुने काम भैरहेको छ । दसैँसम्म ग्राभेलको काम सक्ने उद्देश्य रहेको निर्माण कम्पनीले जनाएको छ ।

आर्थिक विकासमा टेवा

जिल्लाको मेरुदण्ड मानिएको लोकमार्ग कालोपत्रे हुँदै गर्दा जनताका आर्थिक विकासमा टेवा पुग्ने ठानिएको छ । नेपालको पूर्व–पश्चिम जोड्ने राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी पुष्पलाल लोकमार्गले बागलुङको सबैभन्दा बढी एक सय ४२ किमी दुरी समेटिएको छ ।

तपाईको प्रतिक्रिया