भूईंचालोपछिको चौथो दशैं पनि टहरामै - Naya Patrika
eNaya Patrika
  • ePaper

भूईंचालोपछिको चौथो दशैं पनि टहरामै

सुकमाया दर्जी(४५ वर्ष) को परिवारले भूईंचालोपछिको चौथो दशैं पनि टहरामै बिताउनु पर्ने भएको छ । भूईंचालोपछि बनाएको घर पहिरोले भत्काएपछि उनीहरुको दुःखमा दुःख थपिएको हो ।

तीनै परिवारका पुराना घर २०७२ वैशाख १२ को भूईँचालोले थाङ्थिलो पारेको थियो । टहरा बनाएर बस्न जमिन पनि थिएन । छिमेकीलाई जमिन मागेर टहरा बनाएर बसे । तीनवटा दशैं त्यही टहरामा गुजारे ।

पुननिर्माण प्राधिकरण मार्फत पहिलो किस्ता पाएपछि ऋणपान गरेर दुईदुई कोठे घर बनाए । गत फागुनमा उनीहरु नयाँ घरमा सरेका थिए । त्यो घरमा केही महिना पनि राम्रोसँग बस्न नपाउँदै गत जेठमा पहिरो गयो । माथिबाट कान्ला खसेर आयो र घरभित्रै पस्यो । धन्न, राती १२ बजे गएको पहिरोले मानवीय क्षति भएन । तर भर्खरै बनाएको घर बस्नै नहुने भयो ।

स्याङ्जाको वालिङ नगरपालिका ८ की सुकमायासहित तीन परिवार एउटै टहरोमा दैनिकी गुजार्न बाध्य छन् । सुकमायाकी जेठानी डोलमाया दर्जी र सासु टिकामाया दर्जीको परिवार पनि गत जेठदेखि यही टहरोमा छन् । तीन परिवारका १३ जना टिनले बारेको टहरोमा बसिरहेका छन् ।

‘उहीले न कहिलेको बुढो झुप्रो थियो, भूकम्पले झ-यो,’ सुकमायाले सुनाइन्,‘त्यसपछि टहरोमै बस्यौं । सरकारले पचास हजार दिएपछि रिनपान गरेर त्यहाँ घर बनायौं । त्यो पनि पहिरोपीडित भयो ।’

पहिरोले घर लगिदिएपछि प्राधिकरणमार्फत पाउने दोस्रो र तेस्रो किस्ता समेत रोकिएको छ । वालिङ नगरपालिकामा कार्यरत प्राधिकरणका सव इन्जिनियर हेमन्त ऐरले प्राधिकरणको निर्देशिका अनुसार भत्किएको घरलाई अरु किस्ता सिफारिस गर्न नसकिने बताए ।

‘मानवीय दृष्टिकोणले हेर्दा उहाँहरुलाई समस्या छ भन्ने देखिन्छ तर प्राधिकरणले पैसा दिने त भूूकम्प प्रतिरोधी घर बनोस् भनेर हो,’ उनले भने, ‘उहाँहरुले अर्को घर नबनाएसम्म अरु किस्ता दिन मिल्ने अवस्था छैन ।’

सुकमाया भने सरकारले कहिले अरु किस्ता देला र केही रिन तिरौंला भनेर बाटो हेरिरहेकी छन् ।
‘सरकारले पैसा दिएदेखुन् अलिअलि रिन तिर्न हुन्थ्यो क्यारे,’ उनले भनिन्, ‘अब अरु त क्याअर्नि र ?’

बर्खामा पहिरो गएकै जग्गामा घर बनाएर बस्ने स्थिति छैन, घर बनाउन अन्त जग्गा छैन । पहिरो गएको ठाउँमा बनाएको घरको रिन बाँकी नै छ, थप किस्ता नयाँ ठाउँमा घर नबनाई आउँदैन ।

अब उनीहरुलाई प्राधिकरणले कसरी सहयोग गर्न सक्छ त ?

सब इन्जिनियर ऐर भन्छन्, ‘उहाँहरु यहाँ बस्नै मिल्दैन, फेरि जहिले पनि पहिरो जान्छ । त्यसैले उहाँहरु प्राधिकरणको बस्ती हस्तान्तरणको प्रक्रियामा आउनुपर्छ । नयाँ ठाउँमा जग्गा किनेर घर बनाउनका लागि सरकारले दुई लाख रुपैंया दिन्छ । त्यहाँ घर बनाउन सुरु गरेपछि अरु किस्ता दिन सकिन्छ ।’

उनीहरु वालिङ बजार नजिकै बसोबास गर्छन् । त्यहाँ जमिनको मूल्य सस्तो छैन । दुई लाखले एउटा घर बनाउन पर्याप्त जमिन आउँदैन । मजदुरी गरेर जीविका चलाइरहेका उनीहरु आफैंले जमिन किन्न सक्ने अवस्था छैन ।

अब के गर्ने त ?

सब–इन्जिनियर ऐर भन्छन्, ‘हामी नगरपालिकासँग कुरा गरिहरेका छौं । उहाँहरुलाई नगरपालिकाले जमिन दियो भने घर बनाउन प्राधिकरणले दिने पैसाले सहयोग पुग्थ्यो ।’

यो विषयमा नगरपालिकासँग छलफल चलिरहेको उनले बताए । अहिलेसम्म भने नगरपालिकाले कुनै निर्णय गरिसकेको छैन । यता आफूलाई जमिन खालि गरिदिन दवाब आइरहेको सुकमायाले बताइन्,‘अर्काको जमिनमा टहरो हालेर बसेका छौं । खेती गर्ने जमिन हो, छोडिदेऊ भन्छन् । छोडेर जाने ठाउँ पनि छैन ।’

नगरपालिकाले चाँडो निर्णय गरिदिए हुने भन्ने आशमा उनीहरु छन् । नगरपालिकाले सहयोग गर्ने आश्वासन पाएपछि सुकमाया दिनहुँ वडा कार्यालय धाइरहेकी छिन् ।

‘दशैं आइसक्यो, हाम्रो त यो पालिको दशैं पनि टहरामै बित्ने भयो,’ सुकमायाले दुःख पोखिन् ।

तस्बिर साैजन्य ः पुननिर्माण प्राधिकरण

तपाईको प्रतिक्रिया