पर्यटकीय क्षेत्र पुनहिलमा पर्यटकको चहलपहल बढ्यो - Naya Patrika
eNaya Patrika
  • ePaper

पर्यटकीय क्षेत्र पुनहिलमा पर्यटकको चहलपहल बढ्यो

पर्यटकयाम सुरु भएसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा अवस्थित पुनहिलमा पर्यटकहरुको चहलपहल बढेको छ । समुन्द्री सतहदेखि तीन हजार दुई सय १० मिटर उचाईमा रहेको पुनहिलबाट मनोरम हिमशृङ्खलाको अवलोकनको लागि असोजको सुरुदेखि नै पर्यटकहरुको आगमन बढेको हो ।

यस क्षेत्रमा दैनिक ५ सयको हाराहारीमा पर्यटकहरु आउने गरेका छन् । अन्नपूर्ण फेरो पदमार्गले समेटिएको घोडेपानी, पुनहिल क्षेत्र छोटो र लामो दुरीको पदयात्रामा निस्कने सबै पर्यटकहरुको रोजाईमा पर्ने भएकाले अहिले पर्यटकहरुको चाप बढेको पुनहिलका व्यवस्थापक विरेन गर्वुजाले बताए । ‘असोजदेखि कात्तिकसम्मको समय पर्यटकहरुको मुख्य सिजन हो, अब दसंैं र तिहारको बिदाको समय पनि सुरु हुँदै छ,’ उनले भने, ‘पर्यटकहरुको चापलाई मध्यनजर गरि आन्तरिक व्यवस्थापनलाई सुरु गरेका छौँ ।’

अहिले घोडेपानी हुँदै पुनहिल क्षेत्र भम्रणमा आउने अधिकांश पर्यटक बाह्य मुलुकका रहेका छन् । दसैंको विदाको समयमा आन्तरिक पर्यटकहरु समेत बढ्ने स्थानीयको अपेक्षा छ । गुँरासे जङगल हुँदै पुनहिल पुगेका पर्यटकहरु सुर्योदयको अवलोकनको संँगै गुर्जा, धौलागिरी, अन्नपूर्ण, माछापुच्छ्रे निलगिरि लगायतका दर्जनौ हिमशृङ्खलाको अवलोकन गरि फर्कने गरेका छन् ।

दोहो-याएर भम्रणमा
यहाँ आन्तरिक मात्रै होइन विदेशी पर्यटकहरु समेत एक पटक आएर फर्किएपछि पटक पटक आउने गरेका छन् । दोस्रो पटक भम्रणमा आएका संखुवासभाका प्रदिप कुलुमले यो क्षेत्र भौगोलिक र प्राकृतिक रुपमा मनोरम रहेकाले आफु दोहो-याएर भम्रणमा आएको बताए । चौथो पटक पुनहिलमा आएका क्यानडाका पर्यटक नर्मनले आफु यहाँको प्राकृतिक छटाबाट प्रभावित बनेको बताए ।

पर्यटकका लागि सुविधा सम्पन्न होटल
पर्यटकहरुको आवास र खानाको लागि घोडेपानीमा २३ वटा सुविधासम्म होटलहरु सञ्चालनमा छन् । पर्यटक आगमन बढ्दै गएपछि होटल व्यवसायिहरुले समेत सेवा सुविधालाई गुणस्तरीय बनाउँदै लगेको स्थानीय होटल व्यवसायी ओमनारायण पुनले बताए । उनका अनुसार व्यवसायिहरुले होटलको क्षमता विस्तार गर्दै लगेका छन्

वार्षीक ३० हजार पर्यटक
घोडेपानी र पुनहिल क्षेत्रको भम्रणमा वार्षीक ३० हजारको हाराहारीमा पर्यटक भित्रने गरेका छन् । पर्यटकहरुको तथ्यांक घोडेपानी स्थित पर्यटक प्रहरी चौकीले राख्दै आएको छ । कास्कीको उल्लेरी, घान्द्रुक, म्याग्दीको भुरुङ–तातोपानी, मोहरेडाँडा, फुलवारी भएर घोडेपानी पुग्न सकिन्छ । पर्यटकीय पुनहिलमा प्रवेश टिकट र चिया पसलको लागि यो वर्ष मात्रै अन्नपूर्ण गाउँपालिकाले ७० लाख रुपैंयामा ठेक्का लगाएको छ ।

तपाईको प्रतिक्रिया