कञ्चनपुरमा प्रहरी दिवस : 'प्रहरीले शिर निहुराउने अवस्था आएको छैन' - Naya Patrika
eNaya Patrika
  • ePaper

कञ्चनपुरमा प्रहरी दिवस : ‘प्रहरीले शिर निहुराउने अवस्था आएको छैन’

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बिहीबार प्रहरी दिवस मनाएको छ । ‘नेपाल प्रहरीको प्रतिबद्धता अन्याय विरुद्ध शुन्य प्रतिबद्धता’ भन्ने मूल नाराका साथ ६३ औँ प्रहरी दिवस मनाएको हो ।

दिवसका अवसरमा पूर्व प्रहरी नायव महानिरीक्षक सुरेन्द्रबहादुर पालले अझैपनि प्रहरी विना सुरक्षित समाजको कल्पना गर्न नसकिने बताएका छन् । केही घटना र केही व्यक्तिका कारण प्रहरीको सिङ्गो संगठन बदनाम गर्न नहुने बताउँदै उनले भने– ‘प्रहरीले शिर निहुराउने अवस्था आएको छैन, समाजको सुरक्षाका लागि प्रहरी उत्कृष्ट बन्नै पर्छ ।’ व्यवसायिकता र निजी पक्षको तालमेल भएमात्रै प्रहरीले गुणस्तरीय कार्य सम्पादन गर्न सक्ने उनको भनाई थियो ।

सुदूरपश्चिम प्रदेश नम्बर ७ का प्रवक्ता एव बरिष्ठ प्रहरी उपरीक्षक विक्रमबहादुर चन्दले प्रहरी संगठनमा सुदूरपश्चिमका ठूलो योगदान रहेको स्मरण गर्दै संगठनले पनि मुल्याङ्गकन गरेको बताए । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक कृष्ण राज ओझाले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको सन्देश सुनाउँदै कञ्चनपुर घर भई विभिन्न स्थानमा कार्यरत रहेका जनयुद्धका बेला लडाईका क्रममा ६९ जना प्रहरीले ज्यान गुमाएको बताए ।

कार्यक्रममा विधिवत रुपमा नेपाल प्रहरी संगठन निर्माण र ऐन आउनुभन्दा एक बर्ष अघि नै विस २०११ सालमा प्रहरीमा प्रवेस गरेका पुर्व प्रहरी नायब निरीक्षक विराजमान गुरुङ्गलाई समेत सम्मान गरिएको थियो । कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कुवेर कडायतले समुदायसँगको हातेमाले गरेर शान्ति सुरक्षाका कार्यक्रम अघि बढाइने बताए ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले गृह प्रशासनका कर्मचारीलाई आवश्यक तालिमका साथै स्रोत साधन सम्पन्न बनाउनुपर्नेमा जोडदिए । नेपाल प्रहरी दक्षिणी एसियाकै उत्कृष्ट रहेको बताउँदै उनले कसै प्रहरीबाट कमिकमजोरी हुँदैमा सिङ्गो सबै प्रहरीलाई दोषारोपण गर्न नहुने प्रजिअ अधिकारीको भनाई छ ।

विगतका वर्षहरुमा कञ्चनपुर प्रहरीले प्रहरी दिवसका दिन नागरिक समाज, महिला अधिकारकर्मी, मानव अधिकारकर्मी राजनीतिक दल, व्यवसायी, विभिन्न गैरसरकारी संस्थाका प्रतिनिधी समेत आमन्त्रण गर्ने गरेको भएपनि यसवर्ष भने कसैलाई आमन्त्रण गरिएको थिएन ।

तपाईको प्रतिक्रिया