थप जिम्मेवार बन्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन - Naya Patrika
eNaya Patrika
  • ePaper

थप जिम्मेवार बन्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले थप जिम्मेवार बन्न प्रहरीलाई निर्देशन दिएका छन् । ६३ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा बोल्दै उनले देशमा समृद्धिको आधार शान्ति सुरक्षा भएकाले त्यसका लागि प्रहरी थप जिम्मेवार र सक्रिय हुनुपर्ने बताए ।

सीमित स्रोत साधनका बाबजुत आन्तरीक सुरक्षा मजबुत बनाउन प्रहरीको भूमिकाको उनले प्रशंसा गरे । ‘नेपाल सरकारले आमनागरिकलाई सेवा प्रवाह गर्दा अंग्रपंक्तिमा सरकारी प्रतिनिधिको रुपमा देखिने भनेको नेपाल प्रहरी नै हो,’ प्रधानमन्त्री ओलीले भने, ‘नेपाल प्रहरी जति आम नागरिकमुखी हुन सक्यो र आम नागरिकको घर दैलोमा पुग्न सक्यो त्यती नै सरकारको प्रभावकारीता देखिने भएकाले प्रहरीलाई व्यवसायिक र थप साधन स्रोत सम्पन्न गर्नु सरकारको प्राथमिकतामध्येमा रहेको छ ।’

प्रहरीलाई थप उत्तरदायित्व बहन गर्न सक्ने वातावरण बनाउने निर्माण गर्न सरकार कटिबद्ध रहेको उनले बताए । अहिले सरकारका धेरै प्राथमिकता भएकाले सुरक्षा निकायको आधुनिकिकरणमा केही कमी भएको महशुस भएको उनले बताए ।

प्रहरीलाई उत्साहित बनाउन संगठनले न्याय गर्छ भन्ने भावना दिन सक्नुपर्ने प्रधानमन्त्रीको भनाई छ ।कार्यक्रममा प्रधानमन्त्री ओलीले अवकाशप्राप्त एआइजी अमरसिंह शाहलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरे ।

कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले संगठनमा सुधार भइरहेको बताए । ‘अनुसन्धान जनधारणाभन्दा बिज्ञको रायमा भर परेको हुन्छ,’ उनले भने, ‘अनुसन्धानमा न त कुनै समयसीमा नै तोक्न सकिन्छ, राज्यले तोकेको नेपाल प्रहरी नै अनुसन्धानका दृष्टिले बिज्ञहरु संगठन हो । यसको विकल्प हुन सक्दैन ।’

संगठनलाई आक्षेप र शंकारहित बनाउन प्रयत्नशील छौं रहेको केही प्रहरीको दोष र केही घटनामा आशासित सफलता पाउन नसकेको विषयलाई समग्र संगठनसँग जोड्ने र प्रहरीको समग्र असफलताको रुपमा ब्याख्या गरिदा त्यसबाट हजारौं इमान्दार तथा कर्तव्यनिष्ट प्रहरी कर्मचारीको समेत मान मर्दन भएको उनको भनाई छ । ‘ यसबाट व्यक्तिगत जोखिम मोलेर नागरिकको सुरक्षामा समर्पित अधिकृत तथा जवानहरुलाई निरुत्साहित गर्न सक्ने यथार्थलाई समेत निवेदन गर्न चाहन्छु ,’ उनले भने ।

लाइफ टाइम अचिभमेन्ट पुरस्कार पाएका पूर्व एआईजी शाहले एक दिन अवकाश पाइन्छ भन्ने सोच राखेर काम गर्ने हो भने प्रहरीमा भाईचारा हुने र त्यसले प्रहरी संगठन बलियो हुने उनले बताए ।

६३ औं प्रहरी दिवसमा प्रदेश ४ का डिएसपी कृष्णबहादुर कार्कीलाई पूर्णशान्ति पुरस्कार तथा असई कमल बस्न्यातलाई सर्वोत्कृष्ट प्रहरी अनुसन्धानकर्ताको पुरस्कार दिइएको छ ।

तपाईको प्रतिक्रिया