ठिहीले खाएको रोल्पाली सुइना - Naya Patrika
eNaya Patrika
  • ePaper

ठिहीले खाएको रोल्पाली सुइना

नेपालमा १ फागुन ०५२ मा आरम्भ भएर ०६३ वैशाखसम्म नेकपा माओवादीले आह्वान र नेतृत्व गरेको सशस्त्र विद्रोहका प्रभाव जताततै छताछुल्ल भएर पोखिएकै छन् । त्यसले घरबार उजाड बनाएका पूर्वमाओवादी कार्यकर्ताका परिवार, माओवादीसँगको भिडन्तमा मारिएका नेपाली सेना र प्रहरी तथा अरू साधारण घरपरिवारका दुःखका कथा कति छन् कति !

राष्ट्रिय राजनीतिमा त्यसले ल्याएका अजंगका परिवर्तन, १९ दिने जनआन्दोलनमा जनताले ऐतिहासिक रूपमा सडकमा उत्रेर देखाएको सहभागिता, राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना, अधकल्चो खालको भए पनि संघीय शासन प्रणाली, बलियो स्थानीय सरकारको व्यवस्था, मधेस आन्दोलन, जागेका जनजाति र महिला तथा दलितका आन्दोलनका उत्थान र बिसौनीका अनेक घुम्ती पनि हाम्रा सामुन्ने छन् ।

संविधानसभाका दुई–दुईवटा निर्वाचनमा जनताले देखाएको सहभागिता, पुरानो सत्तारुढ वर्ग र विचारले गरेको प्रतिरोध र जनयुद्धका प्रभावको शिथिलीकरण, दुईथरी सेना, क्यान्टोनमेन्ट, अनमिनको आगमन र जबर्जस्ती बिदाइ, संविधानको घोषणा, टीकापुर घटना र लामो मधेस आन्दोलन र हाम्रो नयाँ पुस्ताले समेत व्यहोरेकोे नाकाबन्दीका कहरहरू– त्यसका मुख्य घटना हुन्, सत्र हजार नेपालीको ज्यान गएपछि, सयौँ बेपत्ता र हजारौँ घाइते भएपछि ।

हतियार आफैँसित राखेर वार्ता र शान्तिपूर्ण प्रतिस्पर्धाबाटै सकेसम्म र नसके सहरी विद्रोहमार्फत काठमाडौं कब्जा गर्ने भन्दै कार्यकर्तालाई डोर्‍याएर काठमाडौं प्रवेश गरेको माओवादी नेतृत्वको बिस्तारबिस्तारै परम्परागत सत्तासँगको सहवास र एकले अर्कालाई गरेको परिवर्तन भने जनयुद्धमा सामेल साधारण मानिसका निर्दोष सपनामाथि तुसारो हालिदिने परिघटना थिए ।

आफ्नै शक्तिले आर्जेका आँधीबेहरीलाई व्यवस्थापन गर्न नसकेपछि माओवादी पार्टी विभाजन र विखण्डनतिर लाग्यो । क्यान्टोनमेन्ट गएर नेपाली सेनामा सामेल हुने सपना लिएका कतिपय लडाकु अयोग्य घोषित भए र चहरिएका घाउ सुमसुम्याउँदै समाजतिर फर्के । पार्टी नेतृत्वको नयाँ राजनीतिक दिशासँग एकाकार हुन नसकेका र आफ्ना आदर्श र विभ्रमको मिसमासजस्तो मनोदशाका सिकार भएका कैयन् नेता–कार्यकर्ता फेरि नयाँ युद्धको बाटो लिने भन्दै बाटोबाटै फर्किए, कोही बाटामै अलमलिए ।

यस क्रममा जसको भर र आशामा बलिदानको लाइनमा सामेल भएर हिँडियो र जो पछि आफ्नो पहुँचभन्दा परपर हुँदै गए, तिनका अवस्थासँग आफ्ना जीवनका फाटेका बिम्ब तुलना गर्दै कतिपयले भत्केको घर पुनः जोडजाड गरे । कतिपय विदेश भासिए । कतिले आफैँलाई धिक्कारे ।

यीबाहेक अर्को पक्ष पनि थियो– माओवादीले देखाएका सपनामा आफ्ना सपना साटेर कलिला नानीलाई छाडी हिँडेका जोडी, असक्त बाबुआमालाई निस्सासिने भय ओढ्न दिएर निस्केका तर रित्तो हात घाइते शरीर र मन लिएर फर्केका तन्नेरी र अधबैंसेहरू । अनेक–अनेक अवस्थाका यी कथा पछिल्लो दशकमा लेखिएका छन्, नेपाली साहित्यमा । माओवादी वृत्तबाट आफ्नो बलिदानको गाथा गाउँदै लेखिएका संस्मरणात्मक कथा, उपन्यास र गीत, कविता जति पनि छन् ।

गैरमाओवादी वृत्तबाट माओवादी सशस्त्र संघर्षको गैरमाओवादी क्षेत्रले व्यहोेरेका दुःख र प्रभावमाथि पनि लेखिएकै छ । यी यावत् घटनाका आँधी हुन्डरीमा सबैभन्दा बढी सामेल भएका थिए, मध्यपश्चिम पहाडका रोल्पा, रुकुम, जाजरकोट, कालिकोटका पहाडे बस्ती र तराईको बर्दिया तथा कैलाली जिल्लाका थारू बस्ती ।

अहिले तत्कालीन माओवादीको नेतृत्वमा रहेका दोस्रो र तेस्रो तहका नेताहरूको अनुहार छाम्यो भने देखिने चित्र हो रोल्पा र रुकुमका खाम मगर बस्तीहरू उर्लेरै यो अभियानमा सामेल भएका थिए । थवाङ, लिवाङ, जेलवाङ, गाम, अनेक गाउँहरू बिम्बका रूपमा आए । त्यहीँबाट दुई–दुईजना सभामुख र उपराष्ट्रपति पनि बने, पछिल्लो नेपालमा ।

जनयुद्धको गाथा र त्यसको रूपान्तरणपछि साधारण जनले कसरी त्यसलाई हेर्दै छन् भन्ने विषयमा साधारण मान्छेका कथा कमै लेखिएका छन् । अनि माओवादी नेतृत्वले लिएको राजनीतिक बाटोले आममानिसका सपनामा विश्वासघात गर्‍यो भन्ने सन्देश दिने गरी यति गहिराइमा गएर कमै लेखिएको छ, ‘रोल्पा सुइना’मा नवीन विभाषले लेखेको जस्तो ।

कथाकार नवीन विभाष रोल्पाले जनयुद्धका नाममा देखेका सपना र तिनका खण्डहर बन्दै गएका विपनाका एकजना द्रष्टा हुन् । कथा, कविता, निबन्ध र रिपोर्ताजका माध्यमबाट सीमान्तकृत समुदायका आवाजलाई मूलधारमा बहसमा ल्याउन निरन्तर प्रयत्न गरिरहने विभाषका ३७ कथाको संगालो रोल्पा सुइनाले जनयुद्धको पृष्ठभूमि, त्यसको उत्कर्ष र अवतरणका अनेक प्रभावहरूको कथा भन्छ ।

रोल्पा र रोल्पाली जोडिएका अनेक कथा सँगालिएको यो संग्रह नेपालको ०५० देखि ०७० सम्मको राजनीतिक उतारचढावको गज्जबको दस्ताबेज हो, त्यो पनि सीमान्तकृत तप्काका सुस्केराहरूको अभिलेखका रूपमा । रोल्पा सुइनाले पाठकलाई जनयुद्धका भयानक दर्द भरिएका कहानीसँगको साक्षात्कार गराउँछ, त्यो कथाको एउटा पक्ष हो ।

अर्को पक्ष भने त्यसले पहिलोपटक नेपाली साहित्यमा रोल्पाली खाम मगर समुदायको भाषा, तिनका संस्कृति, तिनका जीवनका कठिनाइ, कालापहाड धाउनुपर्ने जीवनका अनेक बाध्यता, दुःखले पिल्सिएका जीवनका सुस्केरासँग गराएको साक्षात्कार हो ।

‘बाँस चिर्दा बन्चरोमा लागेको हिलो पखाल्न ती मलामीले पानी मागेका थिए । आँगनमा थिए, दाह–संस्कारका लागि आवश्यक सरसामान । छिट् गरम्, ऐली कर्फु लाइजान्छ । लास पाए एक झल्को हेरोर चित्त बुझाउँथे होला । हाम्ता डरैडरको घर भइम । तम्रो सेतेको ता भरु सनिस आयो तर मेरो लालेको ? धमिनीको नातिनीसित बिहेको कुरा चलाया थे.. । मरो बाँचो था छैन । आन्च कि भनी बाटो हेर्चु । चिजो सोर पाए मन्ता हुँकानाहम । दुर्गे सौलाई चुक्ता गर्छु भन्थ्यो । कालापार पुगिन् गरे । बरु घर्जानलाई पनि गुली हाने एकसासे जानाहम् ।’ (सबकुस)

यी पंक्तिले रोल्पाली साधारण जनले व्यहोरेका जनयुद्धकालीन अवस्थाका चित्र, मानिसलाई कोक्याइबस्ने पिर र भय, उराठिँदै गएको जीवनका अनेक कथा एकैसाथ भन्छन् । र, यसमा प्रयोग भएको स्थानीय संवादले रोल्पाली खाम मगरबीच खस कुरा कसरी बोलिन्छ भन्ने एउटा चित्र पेस गर्छन्। न पैसा मागेँ न तेरो रहर न तेरो बैंस ।

भन्थिस् म त गरिबका दिन ल्याउन हिँडेँ करान्तीमा । छलाङ भन्थिस् । न देशको छलाङ भयो, न जनताको । तेरा नेता पर्चन्न र बाउराम परधानमन्तरी भए भन्चन् । यही हो करान्तिकारी छलाङ ? (सङिनी) माओवादी नेतृत्वले हिँडेको सम्झौताको बाटोलाई अस्वीकार गर्ने अनेक शक्तिशाली सन्दर्भ लेखकले रोल्पाबाट टिपेर सिंहदरबार र पेरिसडाँडासम्म पुर्‍याएका छन् ।

नेपाली जनताले जनयुद्ध र त्यसभन्दा अघि र पछिका अनेक आन्दोलनका बलमा राजनीतिक परिवर्तन मात्र पाएका छन्, त्यो पनि कतिपय सीमान्तकृत र महिलाका मामिलामा अपूरो छ

अहिले नेपाली जनताले जे–जति पाएका छन्, जनयुद्ध र त्यसभन्दा अघिपछिका अनेक आन्दोलनका बलमा राजनीतिक परिवर्तन मात्र पाएका छन्, त्यो पनि कतिपय सीमान्तकृत र महिलाका मामिलामा अपूरो छ । घुमाई–फिराई सत्तामा फेरि पुरानो वर्ग ढसमस्स बसेको छ । आन्दोलन या जनयुद्धको आर्थिक, सांस्कृतिक र सामाजिक परिणाम हात लागेको छैन ।

यही व्यवस्थाले त्यस्तो परिणाम जनतासम्म जान्छ कि जान्न, अहिले ठोकुवा गर्न सकिन्न । गए पनि छिद्रहरूबाट चुहेर निकै ढिलो पुग्छ साधारण मानिससम्म । तर, यो व्यवस्थाको विकल्प अर्को व्यवस्था छ र ल्याउनुपर्छ भन्ने चाहिँ देखिन्न । अहिलेको सरकारले अनेक सपना देखेर जनयुद्धमा लामबद्ध हुनेका सपना पूरा गर्छ भन्ने दाबी पनि म गर्न सक्दिनँ । एउटा अधकल्चो अवस्था र समयको हामी सबैले सामना गरिरहेका छौँ ।

विद्रोह गर्ने जनताको अधिकार अविच्छिन्न रहन्छ । विद्रोहको लक्ष्य, त्यसको स्वरूप र त्यसले प्रतिनिधित्व गर्ने वर्गको अवस्थाको निक्र्योलअनुसार यस्ता विद्रोह क्रान्तिकारिता हो कि होइन भन्ने ठम्याउन सकिन्छ । माओवादी विद्रोहको अर्थराजनीतिक आधारभूमि सही थियो भन्ने म मान्छु । यसको बैठान योभन्दा राम्रो परिणाम आउने गरी हुन सक्थ्यो भन्नु अब काल्पनिक कुरा मात्र हो ।

फेरि यही प्रकारको विद्रोह नेपालमा हुनु हुन्न र सम्भव पनि छैन भन्नेमा अहिले पनि म विश्वस्त छु । शान्तिपूर्ण रूपमा सीमान्तकृत जनता र श्रमजीवी वर्गको पक्षमा हुने आन्दोलन र संघर्षको खाँचो अहिले पनि छ, त्यो स्पेस नेपाली राजनीतिमा खाली नै छ । अन्यथा, विद्रोहका रापताप सेलाउँदै जाँदा सत्तारुढ वर्गले अरूले पाइसकेका अधिकार पनि क्रमशः खोस्न सक्छ ।

पछिल्लो समय उपेन्द्र सुब्बाले लाटो पहाडमा लिम्बू जातिको, अब्बामा श्याम शाहले मधेसको, सरस्वती प्रतीक्षाले नथियामा बादी समुदायको, फुलमान बलले कतिपय रचनामा तामाङका पहिचान खुल्ने जेजस्ता रचना नेपाली साहित्यलाई दिएका छन्, त्यस्तै खामभाषी क्षेत्रका भाषिक सांस्कृतिक पहिचानसहितको यो अब्बल कृति होे ।

लेकबेसी गर्दै तिनले गाउने गीत र हाल्ने दन्त्यकथा, बुढाबुढीले रुंगेका उजाड बस्ती, पेन्सने लाहुरेका अनेक स्मृति र जनयुद्धले खण्डहरमा बदलेका अनेक मनका उकल्चिँदा घाउहरू रोल्पा सुइनाले नेपाली साहित्यमा पस्केको छ । जनयुद्धका कथा र रोल्पाली आञ्चलिकताका दुवै पक्ष उन्ने नवीनको प्रयास नेपाली साहित्यका लागि गज्जबको योगदान हो ।

तपाईको प्रतिक्रिया