मि टू अभियान: खुल्दै पर्दा, मुछिँदै पत्रकारदेखि मन्त्रीसम्म - Naya Patrika
eNaya Patrika
  • ePaper

मि टू अभियान: खुल्दै पर्दा, मुछिँदै पत्रकारदेखि मन्त्रीसम्म

संस्थापक सम्पादक एमजे अकबरले विभिन्न महिलामाथि यौन दुर्व्यवहार गरेको समाचार द टेलिग्राफकै प्रथम पृष्ठमा प्रकाशित

महिलामाथि हुने ‘यौन दुर्व्यवहारको सिकार म पनि’ अर्थात् ‘मि टू’ अभियानले दक्षिण एसिया प्रवेश गरेको साताभित्रै ठुल्ठूला तरंग पैदा गराएको छ । हलिउड अभिनेत्री अलिसा मुलानोले १५ अक्टोबर २०१७ मा ट्विटरमा सुरु गरेको अभियान करिब एक वर्षपछि दक्षिण एसिया प्रवेश गरेको हो, जसले खासगरी भारतमा पत्रकारदेखि मन्त्रीसम्मलाई लपेटेको छ ।

भारतका कैयाैँ नामी पत्रकार, कलाकार र फिल्म निर्माता हुँदै बुधबारसम्म मोदी सरकारका विदेश राज्यमन्त्री यो विवादमा तानिएका छन् । विदेश राज्यमन्त्री एमजे अकबर सम्पादक हुँदा महिला पत्रकारमाथि गरेको दुर्व्यवहार पर्दाफास भएको छ । अहिलेसम्म आठ महिला पत्रकारले अकबरलाई आक्षेप लगाएका छन् ।

सन् २०१४ सम्म पत्रकारकै रूपमै सक्रिय अकबरलाई महिलामाथि हिंस्रक यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । मि टू अभियानमा अहिलेसम्म मुछिएकाहरूमध्ये उनी सबैभन्दा माथिल्लो पदका भारतीय हुन् ।

द टेलिग्राफ, द एसियन एज र इन्डिया टुडेजस्ता पत्रिकाको नेतृत्व गरेका अकबरलाई भारतीय पत्रकारिताका सबैभन्दा सिर्जनशील र सफल सम्पादक मानिन्छ । आफ्नै संस्थापक सम्पादक एमजे अकबरले विभिन्न महिलामाथि यौन दुर्व्यवहार गरेको समाचार द टेलिग्राफको प्रथम पृष्ठमा नै प्रकाशित भएको छ ।

राज्यमन्त्री अकबरबारे सबैभन्दा पहिले वरिष्ठ पत्रकार प्रिया रमानीले करिब एक वर्ष पहिले ‘भोग इन्डिया’मा लेखेको ‘टु द हार्वे विन्स्टेनस अफ द वल्र्ड’ शीर्षकको लेखलाई रिट्विट गर्दै आफ्नो कथा सार्वजनिक गरिन् । हार्वे तिनै व्यक्ति हुन्, जसलाई हलिउडमा ‘बोस अफ प्रोड्युसर्स’ भनेर चिनिन्थ्यो र उनैमाथि मि टू अभियानको पहिलो आरोप लागेको थियो । यता प्रियाले सम्बन्धित पात्रको नामै नराखी लेखिएको उक्त लेखलाई सेयर गर्दै अहिले भनेकी छिन् ‘त्यो लेख एमजे अकबरका बारेमा थियो ।’

इन्डिया टुडे, द इन्डियन एक्सप्रेस र द मिन्टमा काम गरिसकेकी प्रियाले अकबरलाई सम्बोधन गर्दै लेखेकी छिन्, ‘म २३ वर्षकी थिएँ, जब तपार्इं ४३ वर्षको एक सम्पादक हुनुहुन्थ्यो, द एसियन एजका लागि मैले जागिरको आवेदन दिएपछि अन्तर्वाताका लागि तपाईंले मलाई बोलाउनुभएको थियो, तर एक होटलमा ।

साउथ मुम्बईको एक होटलमा पुगेर फोन गरेपछि तपार्इंले मलाई कोठामा बोलाउनुभएको थियो । तर, त्यो अन्तर्वार्ता कम र डेट ज्यादा थियो । एक सफल सम्पादकको रूपमा मैले तपाईंलाई मैले आदर्श मानेकी थिएँ, तपार्इंलाई आदरपूर्वक पढ्दै पनि आएकी थिएँ ।

तर, त्यही आदर्श व्यक्ति तपाईंले मलाई होटलमा बोलाएर रक्सी पिउन प्रस्ताव गर्नुभएको थियो, मैले अस्वीकार गरेपछि तपाईंले भोड्का पिउँदै पुराना हिन्दी गाना गाउनुभएको थियो । कोठमा बिस्तारा पनि थियो, त्यहाँ आफूसँगै नजिक आउन पनि तपार्इंले मलाई भन्नुभएको थियो । मैले बस्न मानिनँ । तैपनि तपार्इंले मलाई जागिर दिनुभयो, फाइदा उठाउने प्रयास पटक–पटक गर्नुभयो ।’

द इन्डियन एक्सप्रेसमा काम गरेकी पत्रकार सुमा राहाले पनि प्रियाको पोस्ट सेयर गर्दै एसियन एजमा जागिरका लागि अन्तर्वार्ता दिन कोलकत्ताको ताज बंगालमा बोलाएर दुव्र्यवहार गरेको बताएकी छिन् । यससँगै पत्रकार कनिका गहलोत, सुपर्णा शर्माले पनि अकबरले आफूलाई अनुचित व्यवहार गरेको बताएका छन् ।

फोर्स म्यागेजिनकी कार्यकारी सम्पादक गजाला वहाबले पनि एसियन एजमा काम गरेको समयमा अकबरले यौन शोषण गरेको बताएकी छिन् । अकबरले आफूलाई मानसिक यातना दिएको र त्यसैकारण राजीनामा दिनुपरेको बताएकी छिन् ।

एमजे अकबर पत्रकारितामा सफल थिए, त्यसैले राजनीतिक दलले पनि उनलाई नजिक तान्ने कोसिस गर्दै आए । ०१४ को लोकसभा चुनावताका भारतीय जनता पार्टीमा प्रवेश गरेका उनले ०१५ मा झारखन्डबाट राज्यसभाको चुनाव जितेका थिए ।

त्यसअघि उनी १९८९ मा बिहारको किसनगन्जबाट कांग्रेसको तर्फबाट लोकसभामा निर्वाचित भएका थिए । राजीव गान्धी प्रधानमन्त्री हुँदा अकबर उनका प्रवक्तासमेत बनेका थिए । १९९१ मा चुनाव लडेका उनी पराजित भएपछि पुनः पत्रकारितामा आएका थिए ।

अकबरमाथि गम्भीर आरोप लागेपछि महिला तथा बालबालिकामन्त्री मेनका गान्धीले भनेकी छिन्– यस्तो आरोप जोसुकै माथि लागोस्, छानबिन हुनुपर्छ । तर, सरकारले भने औपचारिक रूपमा कुनै प्रतिक्रिया दिएको छैन ।

अकबर स्वयंले पनि यो विषयमा केही बोलेका छैनन् । मन्त्रीको विषयमा सरकार मौन रहे पनि आफ्ना कलाकारका विषयमा फिल्म कम्पनी तथा पत्रकारका विषयमा मिडिया हाउसले छानबिन अघि बढाएका छन् ।

गत महिना बलिउड अभिनेत्री तनुश्री दत्ताले चर्चित अभिनेता नाना पाटेकरमाथि फिल्म सुटिङका क्रममा आफूमाथि दुर्व्यवहार गरेको आरोप लगाएपछि महिलाले मुख खोल्न सुरु गरे । सन् २००८ मा फिल्म ‘हर्न ओके प्लिज’को सुटिङका वेला नाना पाटेकरसँगै निर्माता विवेक अग्निहोत्रीले पनि आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप उनले लगाइन् । विवेकले आफूलाई कपडा खोल्न लगाएको र नानाले जबर्जस्ती अन्तरंग दृश्य लिन खोजेको आरोप उनको छ ।

त्यसपछि भारतीय मिडियाकर्मीदेखि मनोरञ्जन क्षेत्रका महिलाले आफूमाथि लगातार भइरहेको यौन उत्पीडनका बारेमा सार्वजनिक रूपमा बोल्न थाले । यसैक्रममा धेरै अभियन्ताले उत्पीडनका प्रमाणसमेत सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।

तनुश्रीपछि बोलिन् एक महिला, जसले कमेडियन उत्सव चक्रवर्तीले ‘न्युड तस्बिर’ पठाउन कर गरेको आरोप लगाइन् । ती महिलाले भनेकी छिन्, ‘उत्सवले मेरो नांगो तस्बिर पठाउन भन्दै आफ्नो गुप्तांगको फोटो पठाएको थियो ।’ उत्सव एआइबी वेब सिरिजका कलाकार हुन् ।

यहीबीच महिला पत्रकार सन्ध्या मेननले ट्विट गरेर टाइम्स अफ इन्डियाका सहकर्मीमाथि आक्षेप लगाइन् । हैदराबादमा कार्यरत रेजिडेन्ट सम्पादक केआर श्रीनिवासले आफूलाई एउटा कार्यक्रमबाट घरसम्म पु-याइदिने भन्दै यौन दुव्र्यवहार गरेको उनको आरोप छ ।

आरोप अस्वीकार गर्दै श्रीनिवासले आफूमाथि मिडिया हाउसले छानबिन सुरु गरेको जानकारी दिँदै त्यसमा सघाउने प्रतिक्रिया दिए । टाइम्स अफ इन्डियाकै सम्पादक गौतम अधिकारी पनि यही लहरोमा तानिए । उनी डिएनएमा प्रधान सम्पादक हुँदा अनुमतिविनै किस गर्न खोजेको आरोप अर्की पत्रकारले सार्वजनिक गरिन् ।

हफिङटन पोस्टमा काम गरेका भारतीय पत्रकार अनुराग बर्माले पनि स्न्याप च्याटमा अश्लील म्यासेज पठाएको भन्दै केही महिलाले स्क्रिन सट सार्वजनिक गरे । रमाइलोका लागि आफूले ती म्यासेज पठाएको बताउँदै अनुरागले सार्वजनिक रूपमै माफी मागे । तर, यत्तिकैमा उनले मुक्ति पाएनन् । हफिङटन पोस्टले भने आफ्ना पूर्वकर्मचारी अनुरागले दुर्व्यवहार गरेको आरोप लगाउँदै धेरै महिलाले उजुरी गरेको दाबी गरेको छ ।

अकबरमाथि गम्भीर आरोप लागेपछि महिला तथा बालबालिकामन्त्री मेनका गान्धीले भनेकी छिन्– यस्तो आरोप जोसुकैमाथि लागोस्, छानबिन हुनुपर्छ

उता, बलिउडको चर्चित कम्पनी फ्यान्टममा काम गरेकी एक महिलाले निर्देशक विकास बहलले आफूमाथि दुर्व्यवहार गरेको आरोप लगाइन् । सन् २०१५ मेमा गोवाको एउटा होटलमा विकासले यौनहिंसा गरेको उनको आरोप छ । कम्पनीका प्रमुख अनुराग कश्यपसँग यस विषयमा गुनासो गरे पनि कुनै कारबाही नभएपछि जागिर छाडेको उनको भनाइ छ ।

हफिङटन पोस्टलाई अन्तर्वार्ता दिँदै विकासले आफ्नो गल्ती स्वीकार पनि गरेका छन् । तर, नयाँ फिल्म सुपर ३० को रिलिजका लागि तयारी गरिरहेका वेला यो विवाद आएपछि निर्माता अनुराग कश्यपले फ्यान्टम प्रोडक्सन बन्द गरिदिएका छन् ।

यसअघि अभिनेत्री कंगना रनावतले पनि विकास बहलमाथि फिल्म ‘बम्बै वेलवेट’ सुटिङका क्रममा दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । कंगनाको सफल फिल्म ‘क्विन’ का निर्देशक पनि विकास नै हुन् । क्विनमा समस्या भए पनि ‘बम्बै वेलवेट’मा भने सुटिङ नै छाड्नुपर्ने अवस्था आएको उनको भनाइ छ ।

त्यसैगरी चर्चित लेखक चेतन भगतलाई पनि यस्तै आरोप लागेको छ । चेतन विवाहित भए पनि आफूलाई प्रेम प्रस्ताव राखेको स्क्रिन सट एक महिलाले सामाजिक सञ्जालमा सार्वजनिक गरेकी छिन् । चेतनले तुरुन्तै फेसबुकमा गल्ती स्विकार्दै आफूले यस विषयमा श्रीमतीसँग पनि माफी मागेको बताएका छन् ।

भारतीय सिनेमाका अग्रज कलाकार आलोक नाथ पनि यो आक्षेपबाट मुक्त रहन सकेनन् । चर्चित टेलिभिजन सो ‘तारा’ का मुख्य कलाकार ‘आलोक नाथ’ले आफूलाई बलात्कार गरेको आरोप निर्माता निर्देशक बिन्ता नन्दाले लगाएकी छिन् । उनले फेसबुकमा लेखेकी छिन्, ‘यो कस्तो विडम्बना हो, जसले मलाई बलात्कार ग¥यो, उसैलाई यहाँ संस्कारी अभिनेता भनिन्छ ।’

भारतमा महिलाद्वारा आफूमाथि भएको दुव्र्यवहार सार्वजनिक गर्ने क्रम जसरी बढ्दै गएको छ, त्यसका कम्पन नेपालसम्म पनि आइपुगेको छ । केही महिला लेखक तथा पत्रकारले सामाजिक सञ्जालमा यसको छनक दिए पनि खुलेर भने केहीले मात्रै पीडकको नाम सार्वजनिक गरेका छन् ।

यथेष्ट प्रमाण कसैले पनि सार्वजनिक गरेका छैनन् । सामाजिक सञ्जालका नेपाली प्रयोगकर्तामाझ ठूलो मात्रामा ‘मि टू’ अभियानलाई सुरु गर्नेबारे बहस चलेको छ, तर परिचय खुलेका सीमित ट्विटर प्रयोगकर्ताले मात्र नामै तोकेर उत्पीडनको आरोप लगाएका छन् ।

एजेन्सीको सहयोगमा

तपाईको प्रतिक्रिया