नेपाल ११ बलमै विजयी - Naya Patrika
eNaya Patrika
  • ePaper

नेपाल ११ बलमै विजयी

एकदिवसीय मान्यताप्राप्त नेपालले आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको एसियन बी समूहमा आफूभन्दा कमजोर प्रतिद्वन्द्वीमाथि एकपक्षीय जित निकालिरहेको छ । नेपालले बुधबार चीनलाई केवल ११ बलमै पराजित ग-यो । चीनले दिएको २७ रनको लक्ष्य नेपालले १.५ ओभरमा विनाविकेटको क्षति पार ग-यो । नेपालका लागि विनोद भण्डारीले ८ बलमा २४ तथा प्रदीप ऐरीले ३ बलमा ४ रन जोडेका थिए । विनोदले ३ चौका र १ छक्का प्रहार गरे ।

रनरेटमा नेपाल अगाडि
लगातार पाँच जित निकालेको नेपाल दोस्रो चरणको छनोटमा पुगेको छ । नेपाल र सिंगापुरले समान ५ खेलबाट सर्वाधिक १० अंक जोडेका छन् । तर, नेपाल रनरेटमा अगाडि छ । नेपालको रनरेट ७.७८ र सिंगापुरको ४.७७ छ । थाइल्यान्डले ६ खेलबाट ७ अंक बटुलेको छ । ३ जित र २ हार निकालेको थाइल्यान्ड तेस्रो स्थानमा छ । आयोजक मलेसिया ५ अंकका साथ चौथो स्थानमा छ । भुटान र म्यानमारले समान २ अंक बटुलेका छन् । चीनले अहिलेसम्म ५ खेलमा नराम्रो हारको सामना गरेको छ ।

३ बलरले लिए ९ विकेट
समूह बीमा नेपाल, मलेसिया र सिंगापुर मात्र अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताका अनुभवप्राप्त राष्ट्र हुन् । मलेसिया र सिंगापुरको तुलनामा नेपाल झनै बढी अनुभवी टोली हो । यसबाहेक अन्य टोलीसँग ठूला प्रतियोगिताको अनुभव छैन । यसकारणले पनि नेपाली बलर र ब्याट्सम्यान कमजोर विपक्षी पाउँदा फराकिलो जित निकाल्न सफल भइरहेका छन् ।

बुधबार क्वालालम्पुरमा पनि यस्तै भयो । नेपालका तीन बलरले समान ३–३ विकेट लिए । वसन्त रेग्मी, सन्दीप लामिछाने र ललित राजवंशीले ३–३ विकेट लिँदा चीन १३ ओभरम २६ रनमै अलराउट भयो । वसन्तले ४ ओभरमा १ मेडन राखी ५ रन खर्चे । ललितले ३ विकेट लिन १२ रन दिए ।

सन्दीप पुनः म्यान अफ द म्याच
प्रतियोगितामा नेपालका स्पिनर सन्दीप पाँचमध्ये ३ खेलमा म्यान अफ द म्याच घोषित भए । म्यानमार र थाइल्यान्डविरुद्ध म्यान अफ द म्याच भएका सन्दीपले बुधबार चीनविरुद्ध ४ ओभरमा ४ रन मात्र खर्चेर ३ विकेट लिए । यसक्रममा उनले एक मेडन ओभर पनि फ्याँके । प्रतियोगितामा सन्दीपले समग्रमा ५ खेलमा ४१ रन मात्र खर्चेर सर्वाधिक २० विकेट लिएका छन् । उनी धेरै विकेट लिने सूचीको शीर्षस्थानमा छन् । सिंगापुरका मनप्रीत सिंहले ५ खेलमा ११ विकेट लिँदै दोस्रो स्थान रक्षा गरेका छन् ।

 

तपाईको प्रतिक्रिया