बहुमूल्य सामान लकरमा ढुक्क दसैँ - Naya Patrika
eNaya Patrika
  • ePaper

बहुमूल्य सामान लकरमा ढुक्क दसैँ

सहरी क्षेत्रको घर या कोठामा महँगो गरगहना, मूल्यवान वस्तु वा महत्वपूर्ण कागजात छ र त्यसलाई यत्तिकै छाडेर दसैँमा घरबाट बिदा मनाउन कतै टाढा जाँदै हुनुहुन्छ भने तपाईंलाई घर नफर्किएसम्म घर र ती सामानको सुरक्षाको पिरलोले सताइरहनेछ । तर, यस्तो पिरलो हटाउने सहज उपाय अहिले बैंकहरूले दिने गर्छन् । बैंकहरूले उपलब्ध गराउने लकर सुविधाबाट ग्राहकलाई सामानको सुरक्षाको प्रत्याभूति मात्र दिएको छैन, बैंकले आफ्ना ग्राहकको विश्वास जित्ने अवसरका रूपमा पनि लिने गर्छन् ।

बैंकहरूले आफ्नो शाखा सञ्चालनमा रहेका स्थानमा सामान्यतया लकरको किसिम र आकारअनुसार वार्षिक शुल्क लिएर लकर सुविधा प्रदान गर्छन् । अझ चाडबाडको समयमा विभिन्न प्रकारका अफर ल्याएर पनि ग्राहक आकर्षित गर्ने प्रचलन छ । बैंकमा खाता खोलेका ग्राहकले मात्र सम्बन्धित बैंकमा लकर सुविधा लिन सक्छन् ।

कस्ता सामान राख्न पाइँदैन लकरमा ?
तरल पदार्थ, विस्फोटक वा ज्वलनशील पदार्थ, लागुऔषध, रसायन, विषादी पदार्थ, बन्दुक वा हातहतियार, गोलिगट्ठा, वनस्पति, जीवजन्तुका अवशेष/अंग, गैरकानुनी वा प्रतिबन्धित वस्तु, आतंककारी कार्यमा सहयोग पु-याउने वस्तु, बैंकलाई बाधा वा अप्ठ्यारो पार्ने कुनै वस्तु ।

कुन बैंकका सुविधा कहाँ–कहाँ
इन्भेष्टमेन्ट बैंकले काठमाडौं उपत्यकाका १७ स्थानसहित देशभर २८ वटा शाखामा लकर सुविधा दिएको छ । ग्लोबल आइएमई बैंकले उपत्यकाका २२ सहित देशभर ३७ शाखामा लकरको सुविधा राखेको छ । प्रभु बैंकले बैंक खुला रहने समयमा लकर सञ्चालन गर्न सक्ने सुविधा दिएको छ । प्रभुमा खाता खोलेका ग्राहकले उपत्यकामा मुख्य कार्यालयसहित ९ र देशभर १७ शाखामा लकर सुविधा राखेको छ ।

कुमारी बैंकले उपत्यकामा मुख्य कार्यालयसहित १४ शाखा र उपत्यकाबाहिर देशभर १० वटा शाखामा लकर सुविधा उपलब्ध गराएको छ । नबिल बैंकले पनि आफ्ना अधिकांश शाखामा लकर सुविधा उपलब्ध रहेको उल्लेख गरेको छ । स्ट्यान्डर्ड चार्टर्ड बैंकको काठमाडाै‌मा तीनसहित देशभर ६ वटा शाखामा सेफ डिपोजिट लकर सुविधा रहेको बैंकले जानकारी दिएको छ । हिमालयन बैंकले विभिन्न अफरसहित आफ्ना ग्राहकलाई लकर सुविधा दिएको छ । बैंकका देशभर अधिकांश शाखामा यो सुविधा रहेको बैंकको भनाइ छ ।

नेपाल एसबिआई बैंकमा खाता हुने ग्राहकले उपत्यकाभित्र १५ र उपत्यकाबाहिर २६ वटा शाखामा लकर सुविधा लिन सक्छन् । नेपाल बंगलादेश बैंकले पनि विभिन्न आकारमा लकर सुविधा राखेको छ । यस बैंकका ग्राहकले उपत्यकाभित्र ९ र बाहिर ७ स्थानबाट लकर सुविधा लिन सक्ने बैंकले उल्लेख गरेको छ । एभरेष्ट बैंकमा खाता हुने ग्राहकले समेत देशभर अधिकांश बैंकबाट लकर सुविधा उपलब्ध गराउँछ । बैंक अफ काठमाडौंका अनुसार यस बैंकमा खाता भएका र कम्तीमा १० हजार रुपैयाँ ब्यालेन्स भएका ग्राहकले लकर सुविधा लिन सक्छन् ।

एनसिसी बैंकका ग्राहकले मुख्य कार्यालयसहित देशभरका १९ वटा शाखाबाट लकर सुविधा लिन सक्ने बैंकले उल्लेख गरेको छ । सिटिजन्स बैंकले उपत्यकाभित्र १९ र बाहिर १२ वटा शाखामा लकर सुविधा राखेको छ । प्राइम कमर्सियल बैंकले पनि अधिकांश शाखामा लकर सुविधा राखेको छ । सनराइज बैंकका देशभर ३६ वटा शाखामा लकर सुविधा रहेको छ । एनएमबि बैंकमा विभिन्न १० प्रकारका लकर सुविधा उपलब्ध छन् । यस बैंकमा खाता हुने ग्राहकले देशभर ८ वटा शाखामा लकर सुविधा लिन सक्छन् । माछापुच्छ्रे बैंकमा राजधानीभित्र १० वटा शाखा र उपत्यकाबाहिर १७ वटा शाखामा लकर सुविधा राखेको छ ।

मेगा बैंकका ग्राहकले देशभर कुल ८ वटा शाखामा लकर सुविधा राखेको छ । सिभिल बैंकले मुख्य शाखासहित १५ शाखामा लकर सुविधा उपलब्ध गराउँछ । सेञ्चुरी बैंकले देशभर १२ शाखाबाट लकर सुविधा दिएको छ । सानिमा बैंकले आफ्ना ग्राहकलाई मुख्य कार्यालयसहित १६ वटा शाखामा लकर सुविधा दिएको छ । जनता बैंकका ग्राहकले देशभर १९ वटा शाखाबाट लकर सुविधा लिन सक्ने बैंकले उललेख गरेको छ ।

शुल्क कति ?
बैंकहरूले सामान्यतया वार्षिक शूल्क लिएर लकर सुविधा उपलब्ध गराएका हुन्छन् । त्यसमा बैंकको शाखा उपत्यकाभित्र छ र बाहिरको अवस्थितिअनुसार शुल्क फरक पर्न सक्छन् । लकर सुविधा लिनेक्रममा बैंकहरूले लकरको आधार र प्रकारअनुसार औसतः १५ सयदेखि ६ हजारसम्म सुरुवाती शुल्क लिने गर्छन् । २ हजारदेखि २० हजारसम्म वार्षिक शुल्क लाग्ने गर्छ । त्यसमाथि सेक्युरिटी डिपोजिटका रूपमा १० हजारदेखि ५० हजारसम्म लिने गरिन्छ ।

 

तपाईको प्रतिक्रिया