नेकपामा ‘वामदेव सिन्ड्रोम’ - Naya Patrika
eNaya Patrika
  • ePaper

नेकपामा ‘वामदेव सिन्ड्रोम’

कान्छो पार्टी नेकपाभित्र फेरि गोलमाल सुरु भएजस्तो छ । यस्तो गोलमाल यसपालि पार्टी सचिवालयका एकजना वरिष्ठ सदस्य वामदेव गौतमको प्रतिनिधिसभाको सदस्य बन्नैपर्ने हठले सिर्जना भएको हो । गोलमालको संकेत हिजै छरपस्ट भएको थियो ।

यता वामदेव गौतमले काठमाडौं ७ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रामवीर मानन्धरलाई राजीनामा गर्न लगाएर आफू सो रिक्त स्थानमा उम्मेदवार बन्ने र प्रतिनिधिसभामा आउने गरी भित्रभित्रै तयारी गरेको सार्वजनिक भयो ।

यो प्रयास उनले निर्वाचनमा पराजित भएसँगै थालेका थिए । अनेक प्रयासमा असफल भएका गौतमले अन्तिममा रामवीर मानन्धरलाई केही लोभ देखाएर राजीनामा दिन राजी बनाएका थिए । यस्तो प्रस्ताव रामवीरका तर्फबाट गौतमले नै सचिवालय बैठकमा पेस गरेपछि नेकपामा अहिले खैलाबैलाको अवस्था सिर्जना भएको छ ।

पार्टी स्थायी समितिका एकजना नेता तथा सुदूरपश्चिम प्रदेशका इन्चार्ज भीम रावल र सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले खुलेरै यसको विरोध गरेका छन् । हिजोका लागि तय गरिएको सचिवालय बैठक यही कारण तीन दिन पर सरेको छ । नेताहरू भिन्न–भिन्न मत सार्वजनिक गरिरहेका छन् ।

यसले एकताको ६ महिना नपुग्दै नेकपामा गोलमाल र अस्थिरता सुरु भएको संकेत गरेको छ । वामदेव निरन्तर अस्थिरता प्रदर्शन गर्ने नेता भएको र उनको चलखेलले पार्टीलाई असजिलो बनाइरहने भएकाले अहिलेको गोलमाल र अस्थिरताको अवस्थालाई पार्टीभित्र ‘वामदेव सिन्ड्रोम’का रूपमा बुझ्न सकिन्छ ।

के कारण पर्‍यो र वामदेव संसद्मा आउनैपर्ने भयो ? यस प्रश्नको जवाफ पनि वामदेव स्वयं र निर्णयमा पुग्नुअघि नेकपाले आमजनतालाई दिनैपर्छ । निर्वाचन भएको एक वर्ष पनि पुगेको छैन । गौतम बर्दिया १ बाट उम्मेदवार भएर पराजित भएका हुन् ।

अर्थात् उनलाई जनताले प्रतिनिधिसभामा पठाउन नचाहेका हुन् । यता रामवीरलाई काठमाडौं ७ का जनताले पाँच वर्षका लागि आफ्नो प्रतिनिधित्व गर्न पठाएका हुन् । अनि जनमतबाट अस्वीकृत वामदेवलाई के त्यस्तो आइपर्‍यो र प्रतिनिधिसभामा नगई भएन ? संसद्मा जान मात्र त राष्ट्रिय सभाको बाटो पनि त समाउन सकिन्थ्यो, राष्ट्रपतिले मनोनय गर्ने कोटाका माध्यमबाट । राजनीतिक दृष्टिले गौतम तत्काल प्रधानमन्त्रीका उम्मेदवार पनि होइनन् ।

नेकपामा आन्तरिक अस्थिरता र दाउपेचहरूले मात्र खेल्न पाउने अवस्थाका लागि बाहेक वामदेवको उम्मेदवारीको औचित्य देखिन्न।

केपी ओलीको विकल्प चाहिने भन्ने नेकपाको निष्कर्ष आइसकेको अवस्था पनि देखिन्न । संसद्मा नेकपाका वरिष्ठ नेतामध्ये नारायणकाजी श्रेष्ठ र गौतम मात्र अनुपस्थित छन् । अन्य वरिष्ठ नेताहरू सबैजसो प्रतिनिधिसभामा रहेको अवस्थामा त्यहाँ नेतृत्वको संकट पनि छैन ।

वामदेवलाई जागिर नभएर सांसद पद चाहिएको पनि होइन होला । उनलाई अब उपप्रधानमन्त्री मात्र हुने रहर पनि नहोला । नेकपामा आन्तरिक अस्थिरता र दाउपेचहरूले मात्र खेल्न पाउने अवस्थाका लागि बाहेक वामदेवको उम्मेदवारीको औचित्य देखिन्न ।

लोकतन्त्रमा जनमतको सम्मान गर्न नजान्ने दलहरूले लोकतन्त्रको हित पनि गर्न सक्दैनन् । यतिवेला रामवीरको राजीनामा र गौतमको उम्मेदवारीको चर्चा बेमौसमी बाजा बजेजस्तो हो, जसले नेपालको लोकतान्त्रिक यात्रालाई थप कमजोर बनाउनेछ, जनतालाई निराश मात्र पार्नेछ ।

त्यसमाथि यतिवेला सहरी जनमतबीच नेकपाको सरकार र काठमाडौंका मेयरको लोकप्रियता ओरालो लागेको अवस्था छ । कुनै पनि राजनीतिक तर्कले गौतमको उम्मेदवारीलाई सहयोग गर्लान् जस्तो देखिन्न ।

तपाईको प्रतिक्रिया