किस्ता तिर्दै, गाडी चढ्दै - Naya Patrika
eNaya Patrika
  • ePaper

किस्ता तिर्दै, गाडी चढ्दै

चर्को भन्सार दरका कारण नेपाली बजारमा आयात हुने मोटरसाइकल, स्कुटर, कार, जिप, भ्यानलगायत निजी सवारीसाधनको मूल्य धेरै पर्ने गरेको छ । चालू आर्थिक वर्ष ०७५–७६ को बजेटले १५० सिसीभन्दा बढी क्षमताको मोटरसाइकल, स्कुटर र १ हजार सिसीभन्दा बढीको कार, जिप, भ्यानमा अन्तःशुल्क वृद्धि गरी कर बढाएपछि सवारीसाधन झन् महँगिएका छन् ।

सरकारले पर्याप्त राजस्व पाइरहे पनि उपभोक्ता भने चर्को मूल्य तिरेर निजी गाडी प्रयोग गर्न बाध्य छन् । सार्वजनिक यातायातको व्यवस्थित परिचालन हुन नसक्दा महँगो मूल्य तिरेर भए पनि निजी सवारी प्रयोग गर्नेको संख्या बढिरहेको छ ।

ठूलो रकम एकैपटक भुक्तानी गर्न नसक्ने तर किस्ता–किस्तामा तिरेर सवारीसाधन प्रयोग गर्न चाहनेका लागि बैंक तथा वित्तीय संस्था र सवारीसाधन आयातकर्ता कम्पनीले सहजीकरण गरिरहेका छन् । उदाहरणका लागि निश्चित रकम डाउनपेमेन्टबापत तिरेपछि बाँकी रहेको पैसा मासिक २९ हजार रुपैयाँका दरले भुक्तानी गर्दै जाने सर्तमा टोयोटा ब्रान्डका कार चढ्न पाइन्छ ।
टोयोटाको आधिकारिक विक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेटले गरिमा विकास बैंकसँग फानान्सियल साझेदारी गर्दै उपभोक्तालाई यो सहजता प्रदान गरेको हो । गरिमाले मासिक १०.५ प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गर्ने समझदारी गरेको छ ।

सम्झौताअनुसार उपभोक्ताले १२ वर्षसम्मका लागि कर्जा लिन पाउँछन् । अर्थात् गाडी चढ्दै १२ वर्षसम्ममा त्यसको रकम भुक्तानी गर्न सकिन्छ । कम्पनीका अनुसार लिभा इटिओस २९ हजार २ सय २ र इटियोस क्रस ३३ हजार ४१९ रुपैयाँ मासिक किस्तामा उपलब्ध हुन्छ । साथै टोयटा रस ५३ हजार २३२ रुपैयाँमा मासिक किस्तामा पाइने कम्पनीले जनाएको छ ।

किस्ता तिर्दै, गाडी चढ्दै गर्न पाउने भएपछि धेरै उपभोक्ता यस्तो वित्तीय प्रावधानप्रति आकर्षित भएका छन् । जसकारण अन्य कम्पनीले पनि जतिसक्दो थोरै मासिक किस्तामा गाडी चढ्न पाउने स्किम ल्याएका छन् । डट्सन ब्रान्डको कार १२ हजार ९९९ मासिक किस्तामै ग्राहकले किन्न सक्नेछन् । मेगा बैंकले यसका लागि वित्तीय साझेदारी गरेको छ । १० वर्षका लागि कर्जाको समयसीमा राखिएको डट्सनको अधिकृत आयातकर्ता पायनियर मोटोकर्पका सहायक महाप्रबन्धक ज्ञानेन्द्र चन्दले जानकारी दिए ।

त्यस्तै, सुजुकी ब्रान्डका कारण मासिक १५ हजार रुपैयाँ किस्तामा खरिद गर्न सकिन्छ । तर, यो सुविधा सुजुकीको बालकुमारीस्थित नारायणी अटो बिजनेस नामको डिलरले मात्र उपलब्ध गराएको छ । मेगा बैंकमार्फत हुने फाइनान्सको अवधि १० वर्ष राखिएको छ । ब्याजदर १२.५ प्रतिशत निर्धारण गरिएको छ ।

दुईपांग्रेतर्फ बजाजको डिस्कभर मोटरसाइकल सुरुमा २० हजार रुपैयाँ भुक्तानी गरेर खरिद गर्न सक्ने सुविधा अधिकृत आयातकर्ता एचएच बजाजले गरेको छ । कम्पनीका अनुसार मासिक किस्ता ५ देखि ६ हजार रुपैयाँसम्म निर्धारण गरिएको छ ।एनआइसी एसिया बैंकले ‘चामत्कारिक सवारी कर्जा’ योजना सार्वजनिक गर्दै सवारीसाधनको मूल्यअनुसार मासिक ११ हजार रुपैयाँबाट नै किस्ता रकम सुरु हुने हुने स्किम सार्वजनिक गरेको छ ।

ठूलो रकम एकैपटक भुक्तानी गर्न नसक्ने, तर किस्ता–किस्तामा तिरेर सवारीसाधन प्रयोग गर्न चाहनेका लागि बैंक तथा वित्तीय संस्था र सवारीसाधन आयातकर्ता कम्पनीले सहजीकरण गरिरहेका छन् ।

कति ब्याजमा अटो–लोन ?
अहिले अटोमोबाइल क्षेत्रमा प्रवाह हुने कर्जाको दर औसत १३ प्रतिशतभन्दा माथि पुगेको छ । तीन वर्षअघि ९ प्रतिशत औसत अटो कर्जा थियो । अहिले भने यो क्षेत्रको कर्जा प्रवाह दरमा ठूलो अन्तर छ । राष्ट्र बैंकका निर्देशक बमबहादुर मिश्र भन्छन्, ‘अहिले सरदर ६ देखि १९ प्रशित ब्याजदरमा अटोकर्जा गएको देखिन्छ ।’ अहिले सबैभन्दा कम अटो कर्जा प्रवाह गर्ने ‘क’ वर्गका बैंकमध्ये सरकार स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक अगाडि देखिन्छ । राष्ट्रिय वाणिज्य बैंकले ९ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

डाउनपेमेन्टबापत ३५ प्रतिशत भुक्तानी गर्नुपर्ने रकम नै बढी भइरहेका वेला ब्याजदरसमेत महँगो हुँदा उपभोक्ता थप समस्यामा परेको व्यवसायीको भनाइ छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका निवर्तमान अध्यक्ष अञ्जन श्रेष्ठ कर्जाको सीमा र ब्याजदर दुवै बढी हुँदा बिक्रीमा समस्या परेको बताउँछन् । ‘ब्याजदर कति हुने र डाउनपेमेन्ट कति लिने भन्ने कुरा बैंक र उपभोक्तालाई निर्धारण गर्न दिनुपर्छ, सरकारले हस्तक्षेप गर्ने होइन,’ उनले भने ।

बैंक वित्तीय संस्थाले निश्चित समय र रकम निर्धारण गरेर अटो कर्जा प्रवाह गरिरहेका छन् । सामान्यतया औसतमा ५ देखि ७ वर्षको अटो कर्जा प्रवाह गर्ने गरेको पाइन्छ । एउटा गाडी औसतमा ५ वर्ष चढेपछि नयाँ किन्ने उपभोक्ताको संख्या ठूलो भएको कुरालाई ध्यान दिएर कर्जाको समयावधि निर्धारण गर्ने गरेको बैंकर बताउँछन् ।

अटो कर्जामा २ खर्ब लगानी
राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले अटोमोबाइल क्षेत्रको कर्जा प्रवाहलाई उच्च प्राथमिकता दिइरहेका छन् । गत आर्थिक वर्ष ०७४–७५ सम्म यो क्षेत्रमा एक खर्ब ८४ अर्ब ५० करोड ५ लाख रुपैयाँ अटोमोबाइल क्षेत्रमा कर्जा प्रवाह गरेका छन् । पछिल्लो पाँच वर्षको अटो कर्जा तुलना गर्दा दोब्बरभन्दा बढीले बैंक तथा वित्तीय संस्थाको यो क्षेत्रमा लगानी बढेको छ ।

आव ०७०–७१ मा ८४ अर्ब ९० करोड २० लाख रुपैयाँ अटो कर्जा प्रवाह भएको थियो । आव ०७१–७२ मा एक खर्ब १५ अर्ब ४० करोड २० लाख रुपैयाँ पुगेको थियो । आव ०७२–७३ मा १ खर्ब ५८ अर्ब ३९ करोड ४५ लाख र आव ०७३–७४ मा १ खर्ब ५८ अर्ब ३९ करोड ४५ लाख रुपैयाँ पुगेको थियो ।

यो कर्जा प्रवाह नयाँ गाडी किन्नका लागि मात्र होइन । नयाँ गाडी, स्पेयर पार्टस्लगायतमा पनि प्रवाह भएको छ । आव ०७४–७५ मा नयाँ सवारी साधन र स्पेयर पार्टस्मा २५ अर्ब ६८ करोड ३७ लाख, वायुयान तथा पार्टपुर्जामा ६ अर्ब ६५ करोड ४९ लाख रुपैयाँ कर्जा प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ ।

कर्जा प्रवाहमा प्रतिस्पर्धा
बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाहमा प्रतिस्पर्धा गरिरहेका छन् । सरकार स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले ३५ प्रतिशत डाउनपेमेन्टमा ९ प्रतिशत ब्याजदरमा अटो लोन दिने जनाएको छ । यसको अवधि सात वर्ष राखिएको छ । होन्डा कारको अधिकृत आयातकर्ता स्याकार टे«डिङले आफ्नै कम्पनीमार्फत ३० प्रतिशत डाउनपेमेन्टमा कार खरिदको सुविधा दिएको छ । ११.५ प्रतिशत ब्याजदर निर्धारण गरिएको छ र पाँच वर्षसम्म ब्याजदर स्थिर रहने कम्पनीको भनाइ छ । कर्जा अवधि ५ वर्ष राखिएको छ ।

एभरेष्ट बैंकले ९.९९ प्रतिशत ब्याजदरमा अटो कर्जा प्रवाह गरेको छ । कर्जा अवधि ७ वर्ष राखिएको छ । मुक्तिनाथ विकास बैंकले टाटासुमो किन्नेलाई १०.५५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । ३० प्रतिशत डाउनपेमेन्टको व्यवस्था गरिएको छ ।

 

 

तपाईको प्रतिक्रिया