अत्यधिक कर्जा बढाउँदा तरलता अभाव दोहोरिने संकेत - Naya Patrika
eNaya Patrika
  • ePaper

अत्यधिक कर्जा बढाउँदा तरलता अभाव दोहोरिने संकेत

सहमतिमा दर घटाएर निक्षेपको ब्याज तोक्ने तयारीमा बैंकर्स संघ

वाणिज्य बैंकहरूले निक्षेप परिचालनको तुलनामा अत्यधिक कर्जा बढाउँदा तरलतामा पुनः चाप पर्न थालेको छ । चालू आर्थिक वर्षको पहिलो दुई महिनामा बैंकहरूले निक्षेप संकलनको तुलनामा कर्जा प्रवाह दोब्बर गरेका छन् । यसले गर्दा बजारमा लगानीयोग्य तरलताको अभाव देखिन थालेको छ ।

चालू आवको १२ असोजसम्ममा वाणिज्य बैंकहरूले ५० अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । जबकि यस अवधिमा उनीहरूले कर्जा प्रवाह भने ९७ अर्ब रुपैयाँ गरेका छन् । अढाई महिनाको अवधिमा वाणिज्य बैंकहरूले आक्रामक कर्जा प्रवाह गरेका छन् । अघिल्लो आर्थिक वर्षमा जस्तै यो वर्ष पनि बैंकहरूले निक्षेप परिचालनमा भन्दा कर्जा प्रवाहमा बढी जोड दिएको तथ्यांकले देखाउँछ । सोहीकारण अहिल्यैदेखि तरलतामा चाप देखिन थालेको हो ।

चालू आवको पहिलो महिनादेखि नै कर्जाको माग र प्रवाह उच्च देखिएपछि ‘क्रेडिट क्रन्च’ (लगानीयोग्य तरलताको अभाव) हुन सक्ने जोखिम बढेको बैंकरविज्ञ अनलराज भट्टराईले बताए । ‘एकातर्फ सरकारले खर्च बढाउन सकेको छैन भने अर्कातर्फ थुप्रै बैंकहरूले स्रोत नहेरी भटाभट कर्जा प्रवाह गरे,’ उनले भने, ‘यसले गर्दा अहिले तरलतामा पुनः चाप पर्ने संकेत देखिएको हो ।’

दसैँमा बैंकबाट तुलनात्मक रूपमा बढी पैसा निकालिने भएकाले पनि तरलतामा केही चाप पर्ने उनको भनाइ छ । ‘अहिल्यै अभाव भइसकेको छैन, तर अघिल्ला वर्षमा झैं लगानीयोग्य तरलता अभाव हुने सम्भावना उच्च छ,’ उनले भने । सरकारले बजेटमा घोषणा गरेअनुसार १ खर्ब ७२ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउन थालेपछि तरलतामा अधिक चाप पर्ने उनले बताए ।

 कर्जा घटाउन थाले बैंकले
लगानीयोग्य तरलता घट्दै गएपछि असोज पहिलो सातादेखि नै बैंकहरूले कर्जालाई क्रमशः घटाउन थालेका छन् । केही बैंकले नयाँ कर्जा स्वीकृतमा कडाइ गरेका छन् । त्यस्तै, बैंकहरूले सहमतिलाई तोड्दै बढी ब्याज दिएर संस्थागत निक्षेप पनि तानातान गर्न सुरु गरेका छन् । अघिल्ला दुई वर्षको झैँ यस वर्ष पनि तरलतामा चाप पर्ने संकेत देखिएसँगै अहिले बैंकहरूले कर्जा प्रवाहलाई घटाउन थालेको एनआइसी बैंक लिमिटेडका निमित्त प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले बताए । ‘एकातर्फ दसैँं नजिकिँदै गर्दा बैंकबाट ठूलो रकम निकालेका छन्, सरकारले खर्च पनि बढाउन सकेको छैन भने अर्कातर्फ निक्षेपको तुलनामा कर्जा प्रवाह बढी भयो,’ उनले भने, ‘त्यसैले लगानीयोग्य तरलता अभाव हुने अवस्था देखिन थालेको छ ।’

संस्थागत निक्षेप १० प्रतिशतमा झार्ने तयारी
वाणिज्य बैंकहरूले आपसी सहमतिमा पुनः ब्याजदर कायम गर्ने भएका छन् । बैंकहरूको छाता संगठन नेपाल बैंकर्स एसोसिएसनको रोहबरमा ब्याजदरमा पुनः सहमति गर्ने तयारी थालिएको एक बैंकरले बताए । बैंकहरूले गत असारमा बचतमा बढीमा ७ प्रतिशत, मुद्दतीतर्फ सर्वसाधारणको निक्षेपमा ११ प्रतिशत र संस्थागत निक्षेपमा साढे १० प्रतिशत दिने सहमति गरेका थिए । तर, केही बैंकहरूले सहमतिलाई तोडेकाले पुनः अर्को सहमति गर्ने तयारी थालिएको हो । ‘अब संस्थागत निक्षेपलाई १० प्रतिशतमा झार्ने प्रस्ताव गरिएको छ,’ एक बैंकरले भने, ‘बिहीबारका लागि बोलाइएको बैठकले सहमति गर्न सक्छ ।’

फेस्टिभ इफेक्ट हो, आत्तिन पर्दैन : राष्ट्र बैंक
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा वाणिज्य बैंक सुपरिवेक्षण विभाग प्रमुख महेश्वरलाल श्रेष्ठले बाहिर हल्ला चलेजस्तो कुनै समस्या नरहेको बताए । दसैँका कारण बैंकबाट रकम धेरै निकालिँदा केही असर परेको उनको भनाइ छ । यद्यपि, बैंकहरूलाई केन्द्र बैंकले सचेत भने गराउँदै आएको उनले बताए । ‘दसैँको वेला हो, पैसा धेरै विथ ड्र भएको छ यसले गर्दा केही चाप परेको हुन सक्छ,’ उनले भने, ‘तर, कर्जा प्रवाहलाई भने सन्तुलनामा राख्न हामीले सचेत गराउँदै आएका छौँ ।’ अहिले वित्तीय प्रणालीमा ४०–४५ अर्ब रुपैयाँ अधिक तरलता रहेको भन्दै उनले पुसअघि तरलतामा कुनै समस्या नआउने बताए । सम्भावित लगानीयोग्य तरलता अभाव रोक्न भने बैंकहरू आफैँ सचेत हुनुपर्ने उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया