शाश्वतको एकल चित्रकला प्रदर्शनी - Naya Patrika
eNaya Patrika
  • ePaper

शाश्वतको एकल चित्रकला प्रदर्शनी

 खुमलटारस्थित प्रिमियर स्कुलमा कक्षा ६ मा अध्ययनरत विद्यार्थी शाश्वत बुढाथोकीले एकल चित्रकला प्रदर्शनी गरेका छन् । इन्द्रजात्रालाई लक्षित गर्दै उनका २० वटा तस्बिर मंगलबार प्रदर्शनीमा राखिएको थियो । १२ वर्षीय शाश्वत नेपालको कला संस्कृति, वन, वातावरण, विश्व सम्पदामा विशेष रुचि राख्छन्।

सानै उमेरमा फोटोग्राफीमा रुचि राख्ने शाश्वतले हालसम्म ५ सयभन्दा बढी फोटोे खिचिसकेका छन् । पढाइसँगै फोटोग्राफीको ज्ञान बटुलेका शाश्वतको चित्रकला अवलोकन गर्न आएकाहरूले फोटोको गुणस्तर व्यावसायिक फोटोग्राफरकै जस्तो भएको टिप्पणी गरे ।

विद्यालय परिसरमा आयोजना गरेको फोटो प्रदर्शनीको उद्घाटन विद्यालयका निर्देशक पवित्रा लिम्बूले गरेकी हुन् ।

‘हाम्रो लागि यो ठूलो उपलब्धि हो, एउटा विद्यार्थीले खिचेको फोटो प्रदर्शनीले विद्यालयको शान बढेको छ,’ उनले भनिन् ।

शाश्वतले आफूले करिब साढे दुई महिना लगाएर फोटो तयारी गरेको बताए । फोटोमा हनुमानढोकाको गद्धी बैठक, दरबार क्षेत्र, इन्द्रजात्रामा मात्रै खुल्ने श्वेतभैरव, इन्द्रजात्रामा जीवित देवी कुमारी दर्शन गर्न आएकी राष्ट्रपति विद्यादेवी भण्डारीलगायत विशिष्ट अतिथिहरूको तस्बिर थिए ।

तपाईको प्रतिक्रिया