यस्ता छन् हाइकिङका १० फाइदा - Naya Patrika
eNaya Patrika
  • ePaper

यस्ता छन् हाइकिङका १० फाइदा

तपाईंलाई कसैले हाइकिङ जाने प्रस्ताव राख्दा धन्यवाद भनेर पन्छने होइन, सँगसँगै हिँड्ने कोसिस गर्नुस् । जीवनका लागि यो निकै महत्वपूर्ण छ । हाइकिङका धेरै शारीरिक तथा मानसिक फाइदा छन् । त्यसमध्ये १० फाइदा यस्ता छन् :

फिट बनाउँछ
तपाईंको हिँड्ने शैली र हाइकिङका दौरान बोक्ने ब्यागको वजनका आधारमा तपाईंको शरीरको क्यालोरी बर्न हुन्छ । १ घन्टा ट्रेकिङमा जाँदा ५ सय क्यालोरी बर्न हुन सक्छ । दौडँदा जोर्नीमा जति प्रभाव पर्छ, हिँड्दा त्यसको तुलनामा कम प्रभाव पर्छ । त्यसैले कुद्नुभन्दा हिँड्नु तपाईंका लागि सहज हुन सक्छ । तपाईं जति उकालो हिँड्नुहुन्छ, उति नै तौल घट्छ । लेकको चिसो मौसमले पनि तौल कम गर्न साथ दिन्छ ।

 रुटिन बनाउनुस्
तपाईंले हाइकिङका लागि आफ्नै चार्ट बनाउनुपर्ने हुन्छ । घुमाउरो बाटो हिँड्ने वा सीधै उकालो लाग्ने । कति गतिमा हिँड्ने र कति दूरी पार गर्ने भन्ने रुटिन बनाउनुस् । दिनमा हिँड्ने वा साँझमा हिँड्ने, दैनिक हिँड्ने वा सातामा एकपटक हिँड्ने, लामो वा छोटो दूरी । योजना बनाउनुस् र मज्जा लिनुहोस् ।

पूरा कसरत
नियमित हिँडाइले तपाईंलाई फिट त बनाउनेछ नै, तपाईंको शरीरका सबै अंगले कसरत गर्ने अवसर पाउनेछन् । निरन्तर हिँड्ने क्रममा तपाईंले आफ्नै शरीरको क्षमतालाई चुनौती दिइरहनुहुनेछ ।

डायबिटिजमाथि नियन्त्रण
तपाईंमा डायबिटिजको समस्या छ भने हाइकिङ राम्रो समाधान हुन सक्छ । नियमित हाइकिङले तपाईंको रगतमा रहेको सुगरको मात्रालाई कम गर्छ । तपाईंको मांसपेशीको कसरत हुन्छ । जसले गर्दा तपाईंको रक्तसञ्चार प्रणालीमा रहेको ग्लुकोज ऊर्जा बनेर निस्कन्छ ।

 ब्लडप्रेसर र कोलेस्ट्रोल
नियमित हाइकिङ गर्दा ब्लडप्रेसर तथा कोलेस्ट्रोल कम हुँदै जान्छ । जसका कारण हृदयाघात, डायबिटिज र स्ट्रोकको उच्च जोखिम कम हुँदै जान्छ । ओरालो झर्दा रगतमा रहेको सुगरको मात्रा कम हुन्छ, ग्लुकोज टोलरेन्समा सुधार हुन्छ ।

 रोग निको हुन सक्छ
अध्ययनहरूले के देखाएको छ भने हाइकिङले विभिन्न रोग निको पार्छ । कार्डियोभास्कुलर स्वास्थ्यका लागि यो महत्वपूर्ण हुने नै भयो । यसले क्यान्सरका बिरामीलाई पनि रिकभर हुन सहयोग गर्छ । इन्टरनेसनल जर्नल अफ स्पोर्टस् मेडिसिनमा प्रकाशित एक अध्ययन प्रतिवेदनका अनुसार घामको विकिरण तथा विभिन्न कारणले गर्दा शरीरमा देखिने केमिकल रियाक्सनलाई नियमित हाइकिङले कम गर्छ । रोगप्रतिरोधात्मक क्षमता वृद्धि गर्छ । अर्को एक अध्ययन प्रतिवेदनमा उल्लेख भएअनुसार स्तन क्यान्सरबाट बाँचेकाहरूले आफ्नो जीवनमा हाइकिङले सकारात्मक नतिजा दिलाउन महत्वपूर्ण भूमिका खेलेको अनुभव सुनाएका छन् ।

 सामाजिक क्रियाकलाप
नियमित वा साप्ताहिक हाइकिङले तपाईंलाई धेरै व्यक्तिसँग जोडिन सहयोग गर्छ । त्यस क्रममा तपाईंको आफ्नै हाइकिङ समुदाय त बनेकै हुन्छ, यसबाहेक तपाईंले हिँड्ने बाटोमा भेटिएका विभिन्न व्यक्ति तथा उनीहरूको रहनसहनसँग परिचित हुने अवसर पनि मिल्नेछ । तपाईंको जीवनशैलीका लागि यो निकै राम्रो उपाय हो ।

 खुसीको मात्रा बढाउँछ
हाइकिङ आफैँमा एउटा थेरापी पनि हो । निराशा, तनाव तथा डिप्रेसनलाई यसले कम गर्छ । डिप्रेसनको सिकार भइरहेकाहरूले पनि सक्रिय जीवनशैली बाँच्नका लागि हाइकिङ गरेर प्रेरणा लिन सक्छन् । नियमित हाइकिङ गर्दाको आनन्द बेग्लै हुन्छ ।

प्रकृतिसँगको सम्बन्ध
प्रविधिको उच्च प्रयोग भइरहेको भीडभाडयुक्त समाजबाट टाढा बसेर प्रकृतिसँग रमाउने अवसर हाइकिङले दिन्छ । नजिकबाट प्रकृतिको सुन्दरता अवलोकन गर्दा मानिसको दिमागमा शान्ति र सकारात्मक काम गर्ने ऊर्जा मिल्छ । त्यसैले प्रकृतिसँग रमाउनका लागि हाइकिङ उपयुक्त माध्यम हो ।

सिर्जनशीलता बढाउँछ
विभिन्न अनुसन्धानले के देखाएको छ भने बाहिर समय व्यतित गर्नेहरूसँग समस्यालाई सिर्जनात्मक रूपमा समाधान गर्न सक्ने खुबी धेरै हुन्छ । उनीहरूले प्रविधिको प्रयोगविना नै समस्या समाधान गर्न जानेका हुन्छन् । स्ट्यानफोर्ड विश्वविद्यालयअन्तर्गतको ग्य्राजुएट स्कुल अफ एजुकेसनका अनुसन्धानकर्ताहरूले घरमै बसिरहने मानिसको तुलनामा हिँडडुल गर्ने मानिसहरू धेरै सिर्जनात्मक हुने गरेको निष्कर्ष निकालेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु