नेप्से बढ्यो, कारोबार रकम घट्यो - Naya Patrika
eNaya Patrika
  • ePaper

नेप्से बढ्यो, कारोबार रकम घट्यो

साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक शून्य दशमलव ५१ अंक बढेर बन्द भएको छ । नेप्से परिसूचक बढे पनि कारोबार रकम भने अघिल्लो कारोबार दिनको तुलनामा करिब ९ प्रतिशत घटेको छ । बजारले निश्चित दिशा लिन नसकेका कारण लगानीकर्ताहरू अहिले ‘पर्ख र हेर’को अवस्थामा पुगेका छन् । यसका साथै नजिकिँदै गरेको दसैँका कारण पनि लगानीकर्ताहरू अहिले लगानी गर्न नचाहेको एक ब्रोकरले बताए ।

दसैँमा धेरै खर्च हुने भएकाले केही लगानीकर्ता बजारबाट टाढिएपछि कारोबार रकम प्रभावित भएको उनको भनाइ छ । कम्पनीहरूले घोषणा गरेको लाभांशले लगानीकर्तालाई आकर्षित गरिरहेको छ । केही दिन बजार ओरालो लागेर घटेको लगानीकर्ताको मनोबल यस दिन बजार बढेसँगै बढेको एक लगानीकर्ताले बताए । बजारमा उतारचढाव हुनु स्वाभाविक भएको र बजार घट्यो भन्दैमा त्रसित भएर अरूको लहलहैमा लागेर सेयर बिक्री गर्नु मूर्खता हो । लगानीकर्ताहरूले लगानी गर्दा कम्पनीको आधारभूत तथा प्राविधिक विश्लेषण गरी राम्रा कम्पनीको सेयर खरिद गरे केही दिन बजार घटे पनि त्रसित हुनु नपर्ने उनको भनाइ छ ।

नेप्से परिसूचक यस दिन ६ दशमलव ६१ अंक घटेर १ हजार २ सय २० दशमलव ५२ बिन्दुमा पुगेको छ । ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स यस दिन १ दशमलव २९ अंक बढेर २ सय ५८ दशमलव ८२ बिन्दुमा पुगेको छ । यस दिन १ सय ६३ कम्पनीको ४ हजार ४६ पटकको कारोबारमा ३७ करोड १६ लाख ५६ हजार ९ सय २३ रुपैयाँबराबरको १४ लाख ५१ हजार ५ सय ७२ कित्ता सेयर खरिदबिक्री भएको छ । नेप्सेको १४ दिने आरएसआई यस दिन ४४ दशमलव ९० स्केलमा पुगेको छ । न्युट्रल जोनमा रहेको यस आरएसआईले बजारमा सेयर खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ । कुल बजार पुँजीकरण अघिल्लो दिनको तुलनामा ७ अर्ब ३३ करोड रुपैयाँ बढेर १४ खर्ब ५३ अर्ब रुपैयाँ पुगेको छ ।

कारोबार रकम र सेयर संख्याका आधारमा यस दिन माछापुच्छ्रे बैंक लिमिटेड अगाडि रहेको छ । सो वाणिज्य बैंकको यस दिन ९ करोड ६९ लाख ९ हजार रुपैयाँबराबरको ४ लाख ५६ हजार ५ सय २ कित्ता सेयर खरिदबिक्री भएको छ । कारोबार संख्याका आधारमा यस दिन नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेड अगाडि रहेको छ । सो लघुवित्त कम्पनीको यस दिन २ सय ३७ पटक सेयर कारोबार भएको छ । सोही कम्पनीको सेयरमूल्य यस दिन पनि १० प्रतिशतकै हाराहारीमा बढेको छ ।

सेन्ट्रल फाइनान्सको सेयरमूल्य यस दिन ५ प्रतिशत बढेको छ । मञ्जुश्री फाइनान्सको सेयरमूल्य यस दिन ३ प्रतिशत घटेको छ । कारोबारमा आएका १ सय ६३ कम्पनीमध्ये यस दिन ९८ कम्पनीको सेयरमूल्य बढेको छ भने ४३ कम्पनीको सेयरमूल्य घटेको छ । बाँकी २२ कम्पनीको सेयरमूल्य यस दिन स्थिर रहेको छ ।

सोमबार कारोबारमा आएका अन्य र जीवन बिमा समूहबाहेक अरू सबै समूहको परिसूचक बढेको छ । यस दिन होटेल समूहको परिसूचक सर्वाधिक २ दशमलव ६८ प्रतिशत बढेको छ । त्यसैगरी, विकास बैंक समूहको परिसूचक शून्य दशमलव ८२ प्रतिशत, वाणिज्य बैंक समूहको शून्य दशमलव ७१ प्रतिशत, लघुवित्त समूहको शून्य दशमलव ६१ प्रतिशत, उत्पादनमूलक समूहको शून्य दशमलव ५८ प्रतिशत, निर्जीवन बिमा समूहको शून्य दशमलव ५४ प्रतिशत, वित्त समूहको शून्य दशमलव ३२ प्रतिशत र जलविद्युत् समूहको शून्य दशमलव शून्य ७ प्रतिशत बढेको छ ।

 एनसिसीको हकप्रद निष्कासन बन्द
नेपाल क्रेडिट एन्ड कमर्स बैंक लिमिटेडले भदौ ४ गतेदेखि २ बराबर १ अनुपातमा निष्कासन तथा बिक्री खुला गरेको हकप्रद सेयरमा आवेदन दिने म्याद असोज २२ गते सकिएको छ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका २ करोड ३३ लाख ९५ हजार २ सय ९१ कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ । हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब ६७ करोड ९० लाख ५८ हजार २ सय रुपैयाँ रहेको छ भने हकप्रद सेयर निष्कासनपछि कम्पनीको चुक्ता पुँजी ७ अर्ब १ करोड ८५ लाख ८७ हजार ३ सय रुपैयाँ पुग्नेछ ।

 विजय लघुवित्तको लाभांश
विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले १० दशमलव ५२६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । असोज २१ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले गत आवसम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारणसभाबाट पारित भएपश्चात् सो लाभांश वितरण गरिनेछ । हाल कम्पनीको चुक्ता पुँजी १७ करोड ७१ लाख रहेको छ ।

 

तपाईको प्रतिक्रिया