इन्टरपोल प्रमुख मेङ होङवेई चीनको नियन्त्रणमा - Naya Patrika
eNaya Patrika
  • ePaper

इन्टरपोल प्रमुख मेङ होङवेई चीनको नियन्त्रणमा

चीनले अन्तर्राष्ट्रिय प्रहरी निकाय इन्टरपोलका प्रमुख मेङ होङवेई आफ्नो नियन्त्रणमा रहेको पुष्टि गरेको छ । गत महिना चीन भ्रमणका क्रममा उनी बेपत्ता भएका थिए । प्रस्ट नपारिएको एक कानुनको उल्लंघनबारे भ्रष्टाचार नियन्त्रणसम्बन्धी निकायले उनीमाथि अनुसन्धान गरिरहेको बेइजिङले जनाएको छ ।

फ्रान्सेली अधिकारीहरूले गत शुक्रबार मात्र मेङ चीनमा ‘बेपत्ता’ भएको समाचार सार्वजनिक गरेका थिए । मेङ अन्तर्राष्ट्रिय संगठित अपराधीहरूको खोजतलास, विश्लेषण र विश्वका देशहरूका सुरक्षा अधिकारीसँग समन्वय गर्ने इन्टरपोलका अध्यक्ष हुन् । तत्काल लागू हुने गरी अध्यक्ष पदबाट मेङको राजीनामापत्र आइतबार प्राप्त भएको इन्टरपोलले जनाएको छ । विगतमा सार्वजनिक सुरक्षा उपमन्त्रीको समेत कार्यभार सम्हालेका मेङ होङवेईका सम्बन्धमा पर्याप्त सूचना दिन बेइजिङले कन्जुस्याइँ गरिरहेको छ ।

 शृंखलाबद्ध पक्राउ
चीनमा उच्चपदस्थ व्यक्तिलाई केही दिन बेपत्ता पारेर सार्वजनिक गरिएको यो पछिल्लो घटना हो । चीनमा उच्च सरकारी अधिकारी, अर्बपति व्यापारी र लोकप्रिय व्यक्तिहरू पनि हप्तौँ वा महिनौँ बेपत्ता बनाइन्छन् । उनीहरू पुनः देखा पर्दा प्रायः अदालतमा उपस्थित गराइएको हुन्छ । इन्टरपोलमा चीनका तर्फबाट पहिलोपटक अध्यक्ष रहेका मेङ होङवेई सेप्टेम्बर २५ मा चीन जानुअघि फ्रान्सको लियोनमा सार्वजनिक कार्यक्रममा देखा परेका थिए । इन्टरपोलका दैनिक कार्यसञ्चालनको रेखदेख गर्ने महासचिव जुर्गेन स्टोकले मेङको अवस्थाका बारेमा जानकारी गराउन इन्टरपोलले चीनसँग औपचारिक आग्रह गरेको बताएका थिए ।

 मेङलाई निर्वाचित गर्न सीको भूमिका
मानवअधिकार समूहहरूको चौतर्फी विरोधबीच मेङ सन् २०१६ मा इन्टरपोलको अध्यक्षमा नियुक्त भएका थिए । उनको जितलाई विश्व मामिलामा चीनको प्रभाव बढाउने क्रममा चीनका राष्ट्रपतिको एउटा महत्वपूर्ण विजयका रूपमा हेरिएको थियो । मेङलाई इन्टरपोलको अध्यक्ष बनाएमा चीनबाट पलायन भएर विदेशमा आश्रय लिइबसेका व्यक्तिहरू चीन लैजान मद्दत पुग्ने भित्री मनसाय चीनको रहेको भन्दै आलोचना भएको थियो । इन्टरपोलले त्यस्तो आरोपलाई अस्वीकार गर्दै आएको छ । तर, मेङको बेपत्ता प्रकरणले चीनलाई ठूलै क्षति हुन सक्नेछ ।

 नयाँ अध्यक्षको निर्वाचन गरिने
उनको पक्राउले संस्थाको दैनिक कारबाहीमा कुनै प्रभाव नपार्ने इन्टरपोलले स्पष्ट गरेको छ । दुबईमा आगामी नोभेम्बर १८ देखि २१ मा हुने इन्टरपोलको महासभाले अध्यक्षको बाँकी दुईवर्षे पदावधिका लागि नयाँ अध्यक्ष निर्वाचित गर्नेछ । राष्ट्रपति सी जिनपिङले मेङलाई सन् २००४ मा आफ्ना पार्टीभित्रका विपक्षीलाई पाखा लगाउँदै उपसुरक्षामन्त्री बनाएका थिए । मेङलाई अरू पनि संवेदनशील कार्यहरूको जिम्मेवारी दिइएको थियो । राष्ट्रपतिका विश्वासपात्र मेङले प्रतिआतंकवादी विभागको पनि जिम्मेवारी पाएका थिए ।

 विशिष्ट अधिकारीलाई गोप्य पक्राउ
चीनले विदेशमा लुकेर बसेका भ्रष्ट अधिकारीहरूलाई पक्राउ गर्न अपरेसन फक्स हन्टसमेत सञ्चालन गर्दै आएको छ । ती व्यक्तिलाई पक्राउ गर्न चिनियाँ अधिकारीहरूले गोप्य रूपमा कार्य गरिरहेको बताइन्छ । चीनले हाल ४४ जना त्यस्तै व्यक्तिलाई पक्राउ गर्न ‘रेड नोटिस’ जारी गरेको छ । उनीहरूमाथि हत्या, लागुऔषधको तस्करीलगायतका आरोप लागेको छ । मेङको कार्यकालमा इन्टरपोलले विदेशमा लुकेर बसेका चिनियाँ अर्बपति गुओ वेनगुईमाथि रेड नोटिस जारी गरेको छ । गुओले चीनका उच्चपदस्थ व्यक्तिले गरेका भ्रष्टाचारको पोल खोल्ने चेतावनी दिँदै आएका थिए ।

कानुन उल्लंघनको आरोपमा अनुसन्धान
चीनको सार्वजनिक सेवामा कार्यरत व्यक्तिमाथि लाग्ने भ्रष्टाचारका मुद्दा छानबिन गर्ने राष्ट्रिय सुपरीवेक्षण आयोगले अन्तर्राष्ट्रिय दबाबपछि एक वक्तव्य जारी गर्दैै भनेको छ, ‘मेङमाथि कानुन उल्लंघनको आरोपमा अनुसन्धान भइरहेको छ ।’ विश्लेषकहरूले अन्तर्राष्ट्रिय संस्थाका महत्वपूर्ण नेतृत्वदायी भूमिका निर्वाह गर्ने व्यक्तिमाथि चीनको पछिल्लो कदमले नैराश्यता छाउने र विश्वसनीयतामा आँच आउने बताएका छन् । मेङकी पत्नी ग्रेस होङवेईले फ्रान्सको लियोनस्थित इन्टरपोलको मुख्यालयमा पत्रकारहरूसँग कुरा गर्दै पछिल्लोपटक मेङले पठाएको सन्देशबाट आफू अत्यन्त चिन्तित भएको बताइन् ।

 

तपाईको प्रतिक्रिया