के हो हाइपोमेनिया ? - Naya Patrika
eNaya Patrika
  • ePaper

के हो हाइपोमेनिया ?

हाइपोमेनिया मुड, मन र व्यवहार अस्थिर हुने एक किसिमको मानसिक रोग हो । अर्थात् मेनिया र हाइपोमेनिया बाइपोलर डिसअर्डरका चरण हुन् । हाइपोमेनिया यस्तो रोग हो, जसमा मानिसको मन अस्थिर रहन्छ र बढी बोलिरहनुपर्ने हुन्छ । यसमा मुख्यतः व्यक्ति कुनै पनि विषयमा प्रभावित भइहाल्ने हुन्छन् ।

आफ्ना कुरामा जिद्धी गर्ने र भनेको नमान्ने, अपशब्द बोल्ने, सानो कुरामा बढी रिसाउने, मन चञ्चल रहने हुन्छ । सामान्यतः यो रोग लागेको ठम्याउन गाह्रो पर्दछ । तसर्थ, वेलैमा यो रोग पहिचान गर्न सकिँदैन र कतिपय मानिस वर्षौंसम्म पीडित भएर बाँच्न विवश हुन्छन् । मनोविद् डा. करुणा कुँवरका अनुसार सामान्यतया मानिसको मन खुसी हुने कुरामा खुसी र दुःखी हुने कुरामा दुःखी हुनुपर्ने हो, तर चाहिनेभन्दा अत्यधिक खुसी वा दुःखी हुन थाल्नु हाइपोमेनियाको मुख्य लक्षण हो ।

लक्षण
घमण्डी बन्ने, बढी फुर्ती लगाएर कुरा गर्ने ।
मिठो खानेकुरा र राम्रो लगाउन माग गर्ने ।
असम्भव कुरालाई पनि गर्न
सक्छु भन्ने ।
यौनमा बढी रुचि राख्ने ।
राति १–२ घन्टा सुते पनि निद्रा पुग्ने
नचाहिने कुरामा पनि पैसा खर्च गर्ने ।
बढी आत्मविश्वासी हुने ।
छटपटी हुने अर्थात् एउटा काम नसक्दै अर्को काममा मन जाने ।

यसका असर
हाइपोमेनियाका समस्या सुरुसुरुमा कम मात्रामा देखिन्छ र पहिचान गर्न सकिँदैन । जुन मेनियाका लक्षणहरू हुन् । कतिपय अवस्थामा मेनिया आफैँ पनि निको हुन्छ । तर, एकपटक मेनिया भएको बिरामीमा अर्कोपटक रोग दोहोरिने समस्या ८० प्रतिशत रहन्छ । यसरी दोहोरिएको अवस्थालाई बायोपोलार एफेक्टिभ डिसअर्डर भनिन्छ । कहिले मेनियामा डिप्रेसिभ सिस्टम देखिन्छ । यो कहिले ६ महिनामा त कहिले ३–४ वर्षमा दोहोरिने गर्दछ । सामान्यतया मानिसमा हाइपोमेनिया १४ देखि १९ वर्षमा सुरु हुन्छ र ४० वर्षपछि कम हुँदै जान्छ ।

नेपालमा यस्तो रोगका बारेमा खासै तथ्यांक संकलन नभएकाले कतिजना यो रोगबाट पीडित छन् भन्ने यकिन तथ्यांक छैन । तर, मानसिक स्वास्थ्य विभागका अनुसार नेपालमा हाइपोमेनियाका करिब डेढ लाख बिरामी छन् ।

पैसा बाँड्ने, कुरा बढाइचढाइ बोल्ने, राति थोरै समय मात्र सुत्ने, गीत गाउने, रातो–पहेँलो रंगीन लुगा लगाउन रुचाउने र यौन उत्तेजना बढी देखिने हुनाले विशेषगरी दम्पतीहरू यस रोगबाट बढी पीडित हुने गर्दछन् ।

हाइपोमेनियाका कारण दम्पतीबीचमा चर्को विवादको स्थिति पैदा हुन्छ ।

सामान्यतया हाइपोमेनिया किशोरावस्थामा देखा पर्ने भएकाले आमाबाबु वा आफन्तले अटेरी भएको संज्ञा दिने, व्यवहार परिवर्तन गर्न मात्र दबाब दिने र बिरामीलाई मानसिक दबाब पर्ने भएकाले यो समस्या बढी बल्झिने हुन्छ ।

किशोरहरूमा ड्रग्सको प्रयोगले यस्तो भएको हो कि भन्ने गलत बुझाइका कारण यस रोगबारे गलत धारणा बन्छ । परिवारमा हुने मानसिक दबाब र अस्पतालमा ल्याइसकेपछि पनि हाइपोमेनिया भएकोबारे सजिलै नपत्याउने भएकाले उपचारमा ढिलाइ हुने गर्दछ ।

आफूलाई हाइपोमेनिया भएको बिरामी आफैँले नमान्ने, जिद्दी गर्ने भएकाले घरपरिवारसँगको सम्बन्ध बिग्रिँदै जाने र मानसिक दबाबका कारण बिरामीलाई बायोपोलार डिसअर्डर हुुने अधिक सम्भावना रहन्छ ।

 

 

तपाईको प्रतिक्रिया