पहिलो दिन १ प्रतिशत घट्यो नेप्से - Naya Patrika
eNaya Patrika
  • ePaper

पहिलो दिन १ प्रतिशत घट्यो नेप्से

गत सातादेखि ओरालो लागेको नेप्से परिसूचकले यस साताको पहिलो कारोबार दिन पनि सोही गतिलाई निरन्तरता दिएको दिएको छ । यस दिन नेप्से परिसूचक १ दशमलव शून्य ६ प्रतिशत घटेर बन्द भएको छ । बजार खुलेको केही समयपछि नै ओरालो लाग्न थालेको नेप्सेमा मध्याह्नतिर केही सुधार देखिएको थियो । तर, अन्तिम समयमा नेप्से पुनः ओरालो लागी बन्द भएको छ ।

लाभांश घोषणा भइरहेको समयमा पनि बजार ओरालो लागेपछि केही लगानीकर्ता अन्योलमा परेका छन् । केही लगानीकर्ता भने वाणिज्य बैंकहरूले लाभांश घोषणा गर्ने पर्खाइमा रहेका छन् । अहिलेको बजारलाई दसैँ र बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरले प्रभाव पारेको एक ब्रोकरले बताए । नेप्सेसँग विपरीत सम्बन्ध रहने बैंक ब्याजदर नघटेपछि, नेप्से घट्न दबाब पुगेको उनले बताए । यसका साथै दसैँको खर्चका लागि केही लगानीकर्ता सेयर बिक्रीतर्फ लागेका कारण पनि बजार केही प्रभावित भएको हो ।


नेप्से परिसूचक यस दिन १३ दशमलव शून्य १ अंक घटेर १ हजार २ सय १४ दशमलव ३६ बिन्दुमा पुगेको छ । ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स यस दिन २ दशमलव ७१ अंक घटेर २ सय ५७ दशमलव ५३ बिन्दुमा पुगेको छ । यस दिन १ सय ६० कम्पनीको ४ हजार ७ सय ४५ पटकको कारोबारमा ४० करोड ७५ लाख १ हजार ४ सय ८१ रुपैयाँबराबरको १३ लाख ३७ हजार ५ सय २६ कित्ता सेयर खरिद–बिक्री भएको छ । नेप्सेको १४ दिने आरएसआई यस दिन ४१ दशमलव ८८ स्केलमा पुगेको छ । न्युट्रल जोनमा रहेको यस आरएसआईले बजारमा सेयर खरिद–बिक्री चाप सन्तुलनमा रहेको संकेत गर्छ ।

कारोबार रकमका आधारमा यस दिन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अगाडि रहेको छ । सो बिमा कम्पनीको यस दिन २ करोड ६ लाख १८ हजार रुपैयाँबराबरको सेयर खरिद–बिक्री भएको छ । सेयर संख्याका आधारमा यस दिन नेसनल हाइड्रोपावर कम्पनी लिमिटेड अगाडि रहेको छ भने कारोबार संख्याका आधारमा एनएमबी बैंक लिमिटेड अगाडि रहेको छ ।

नेसनल हाइड्रोको यस दिन ७३ हजार ४ सय ९५ कित्ता सेयर किनबेच भएको छ भने एनएमबीको १ सय ६४ पटक सेयर कारोबार भएको छ । नेप्से ओरालो लागे पनि नाडेप लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा बढेको छ । २६ दशमलव ३२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको लक्ष्मी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य यस दिन १० प्रतिशत घटेको छ ।

कारोबारमा आएका १ सय ६० कम्पनीमध्ये यस दिन २४ कम्पनीको मात्र सेयर मूल्य बढेको छ भने १ सय २२ कम्पनीको सेयर मूल्य घटेको छ । बाँकी १४ कम्पनीको सेयर मूल्य यस दिन स्थिर रहेको छ ।
आइतबार कारोबारमा आएको उत्पादनमूलक र अन्य समूहको परिसूचकबाहेक अरू सबै समूहको परिसूचक ओरालो लागेको छ ।

यस दिन अन्य समूहको परिसूचक शून्य दशमलव १३ प्रतिशत र उत्पादनमूलक समूहको शून्य दशमलव ११ प्रतिशत बढेको छ । होटेल समूहको परिसूचक यस दिन सर्वाधिक २ दशमलव शून्य २ प्रतिशत घटेको छ । त्यसैगरी, निर्जीवन बिमा समूहको परिसूचक १ दशमलव ७८ प्रतिशत, विकास बैंक समूहको १ दशमलव ४४ प्रतिशत, लघुवित्त समूहको १ दशमलव २७ प्रतिशत वाणिज्य बैंक समूहको १ दशमलव २५ प्रतिशत, जीवन बिमा समूहको शून्य दशमलव ९७ प्रतिशत, वित्त समूहको शून्य दशमलव ९७ प्रतिशत र जलविद्युत समूहको शून्य दशमलव २ प्रतिशत घटेको छ ।

 पूर्णिमा विकास बैंकको लाभांश
पूर्णिमा विकास बैंक लिमिटेडले ११ दशमलव ३७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । असोज १९ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले गत आवको खुद मुनाफाबाट ५ प्रतिशत बोनस सेयर र ६ दशमलव ३७ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारणसभाबाट पारित भएपश्चात् सो लाभांश वितरण गरिनेछ ।

 सिबिआइएल क्यापिटलको साधारणसभा
सिबिआइएल क्यापिटल लिमिटेडले कात्तिक १४ गते कम्पनीको रजिस्टर्ड कार्यालय, डिल्लीबजारमा बाह्रौँ वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ । सभामा पुँजी वृद्धि गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने विशेष प्रस्ताव रहेको छ भने लेखापरीक्षक नियुक्त गर्ने साधारण प्रस्ताव रहेको छ ।

 लक्ष्मी लघुवित्तको लाभांश
लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले २६ दशमलव ३२ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । असोज २१ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले सो लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीको चुक्ता पुँजी २४ करोड २० लाख रहेको छ । नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारणसभाबाट पारित भएपश्चात् सो लाभांश वितरण गरिनेछ ।

 हाम्रोको साधारणसभा
हाम्रो विकास बैंक लिमिटेडले कात्तिक ११ गते होटेल सताञ्चुली, विदुर, नुवाकोटमा दशौँ वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ । सभामा २ दशमलव ४० प्रतिशत बोनस सेयर, ७ दशमलव ९१४५ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने, हाम्रो विकास बैंक ज्योति विकास बैंकमा समाहित हुने, सेयर स्वाप रेसियो १ बराबर १ कायम गर्ने र लेखापरीक्षक नियुक्त गर्ने विशेष प्रस्ताव रहेको छ ।

 स्वदेशीको घोषणा भइसकेको नाफा रद्द
स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडले १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव रद्द गरेको छ । असोज १८ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले सो लाभांश रद्द गर्ने निर्णय गरेको हो । भदौ २६ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले गत आवको मुनाफाबाट १ बराबर १ अनुपातमा हकप्रद सेयर बाँडफाँडपश्चात् कायम हुने चुक्ता पुँजी १० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो । कम्पनीले विभिन्न प्रविधिक कारणले गर्दा सो लाभांश रद्द गरेको हो । सो लाभांशको प्रस्तावित रकम २ करोड ३० लाख रुपैयाँ सञ्चित नाफामा नै राख्ने निर्णय गरेको हो ।

स्वरोजगार लघुवित्तको अध्यक्षमा पाण्डे
स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले ज्ञानेन्द्रप्रसाद पाण्डेलाई अध्यक्ष पदमा नियुक्त गरेको छ । असोज २० गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले पाण्डेलाई सो पदमा सर्वसम्मत चयन गरेको हो । सोही दिन सम्पन्न कम्पनीको साधारणसभाले सञ्चालक समूहबाट ज्ञानेन्द्रप्रसाद पाण्डे, होमकान्त चौलागार्इं र रामबाबु सिलवाललाई निर्विरोध निर्वाचित गरेको थियो ।

 

तपाईको प्रतिक्रिया