सातामा करिब २८ प्रतिशत घट्यो कारोबार रकम - Naya Patrika
eNaya Patrika
  • ePaper

सातामा करिब २८ प्रतिशत घट्यो कारोबार रकम

गत साता नेप्से परिसूचक ३९ दशमलव ८१ अंक घटेको छ । नेप्से ओरालो लागेसँगै गत साता कारोबार रकम पनि घटेको छ । पाँच कारोबार दिनका लागि खुलेको बजार गत साता चार दिन ओरालो लागेको थियो भने १ दिन मात्र उकालो लागेको थियो । अघिल्लो साताको तुलनामा गत साताको कारोबार रकम करिब २८ प्रतिशत घटेको छ ।

निरन्तर दुई साता बजार उकालो लागेपछि गत साता अल्पकालीन लगानीकर्ता नाफा सुरक्षित गर्नतर्फ लागेका कारण बजार ओरालो लागेको हो । बजार ओरालो लागेपछि सो साताको अन्त्यतिर लगानीकर्ताले ‘पर्ख र हेर’को रणनीति अपनाएका थिए । गत साताको बजारलाई दसैंले पनि प्रभावित गरेको थियो । दसैं नजिकिएका कारण केही लगानीकर्ता दसैं खर्च संकलन गर्न सेयर बिक्री गर्नतर्फ लागेपछि बजार केही प्रभावित भएको हो ।

सूचीकृत कम्पनीहरूले लाभांश वितरण गर्ने घोषणा गरिरहेका छन् । यसले लगानीकर्तालाई बजारतर्फ आकर्षित गरिरहेको छ । छोटो समयमा लाभांश संकलन गर्न लगानीकर्ता सेयर खरिद गरिरहेका छन् । हालसम्म विकास बैंक, वित्त र लघुवित्त कम्पनीहरूले लाभांश वितरणको घोषणा गरे पनि वाणिज्य बैंकहरूले भने लाभांश घोषणा गरेका छैनन् ।

वाणिज्य बैंकहरूले लाभांश घोषणा गरेपछि बजारले पुनः गति लिने लगानीकर्ताको अपेक्षा रहेको छ । गत साताको अन्तिम कारोबार दिन नेप्सेको १४ दिने आरएसआई ४६ दशमलव ९२ स्केलमा पुगेको छ । न्युट्रल जोनमा रहेको यस आरएसआईले बजारमा सेयर खरिद–बिक्री चाप सन्तुलनमा रहेको संकेत गर्छ । लगानीकर्ताको सम्पत्ति अघिल्लो साताको तुलनामा ४७ अर्ब ४१ करोड रुपैयाँ घटेर १४ खर्ब ६१ अर्ब ९० करोड रुपैयाँ पुगेको छ ।

गत साता १ सय ८९ कम्पनीको २६ हजार ७ सय ३६ पटकको कारोबारमा २ अर्ब ३८ करोड ६८ लाख रुपैयाँबराबरको करोड ६७ लाख ७२ हजार २ सय ४० कित्ता सेयर खरिद–बिक्री भएको छ । अघिल्लो साता १ सय ९१ कम्पनीको ३२ हजार ६ सय २ पटकको कारोबारमा ३ अर्ब ३० करोड ८१ लाख ५६ हजार रुपैयाँबराबरको १ करोड ६७ लाख ७२ हजार २ सय ४० कित्ता सेयर खरिद–बिक्री भएको थियो ।

अघिल्लो साताको अन्तिम कारोबार दिन १ हजार २ सय ६७ दशमलव १८ बिन्दुमा बन्द भएको बजार गत साताको बिहीबार १ हजार २ सय २७ दशमलव ३७ बिन्दुमा बन्द भएको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन २ सय ६७ दशमलव शून्य ९ बिन्दुमा बन्द भएको ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स गत साता ६ दशमलव ८५ अंक घटेर २ सय ६० दशलमव २४ बिन्दुमा पुगेर बन्द भएको छ ।

गत साता कारोबारमा आएको उत्पादनमूलक र व्यापार समूहको परिसूचकबाहेक अरू सबै समूहको परिसूचक घटेको छ । गत साता उत्पादनमूलक समूहको परिसूचक ८ दशमलव ३५ अंक बढेको छ भने व्यापार समूहको ७ दशमलव ६० अंक बढेको छ । जीवन बिमा समूहको परिसूचक गत साता सर्वाधिक ३ सय दशमलव ३१ अंक घटेको छ ।

त्यसैगरी, निर्जीवन बिमा समूहको परिसूचक १ सय २५ दशमलव २६ अंक, विकास बैंक समूहको ४५ दशमलव ७७ अंक, होटेल समूहको ३९ दशमलव ६८ अंक, लघुवित्त समूहको ३६ दशमलव ५९ अंक, वाणिज्य बैंक समूहको ३१ दशमलव २० अंक, जलविद्युत् समूहको २८ दशमलव शून्य ७ अंक, अन्य समूहको ८ दशमलव १६ अंक र वित्त समूहको ४ दशमलव ५७ अंक घटेको छ ।

गत साता कारोबार रकम र सेयर संख्याका आधारमा नेपाल बैंक लिमिटेड अगाडि रहेको छ । गत साता सो वाणिज्य बैंकको १४ करोड ५१ लाख ५० हजार रुपैयाँबराबरको ४ लाख ६१ हजार कित्ता सेयर किनबेच भएको छ । कारोबार संख्याका आधारमा भने सो साता प्रभु बैंक लिमिटेड अगाडि रहेको छ । सो वाणिज्य बैंकको गत साता ९ सय ७८ पटक सेयर खरिद–बिक्री भएको छ ।

आरएसडिसीको हकप्रद हितग्राही खातामा
आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले हकप्रद सेयर हितग्राही खातामा जम्मा गरेको छ । कम्पनीले जेठ २१ गतेसम्म कायम सेयरधनीका लागि ५ बराबर ३ अनुपातमा निष्कासन गरेको हकप्रद सेयर खातामा जम्मा गरेको हो । हालसम्म भौतिक सेयर धारण गरेका सेयरधनीलाई कम्पनीले शीघ्र सेयर अभौतिकीकरण गराउन अनुरोध गरेको छ । कम्पनीको सेयर रजिस्टार एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

नेसनल लाइफको हकप्रद सेयर बाँडफाँड
नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले असोज १७ गते हकप्रद सेयर बाँडफाँड गरेको छ । कम्पनीले असार २१ गतेसम्म कायम सेयरधनीका लागि १० बराबर ६ अनुपातमा निष्कासन गरेको हकप्रद सेयर बाँडफाँड गरेको हो । कम्पनीले निष्कासन गरेको कुल ९९ लाख ३६ हजार ४ सय ७७ दशमलव ५४ कित्तामध्ये ९६ लाख ५८ हजार ३ सय ५८ दशमलव २० कित्ता बाँडफाँड गरेको हो । बाँडफाँडमा नपरेको हकप्रद सेयरबापतको रकम असोज २२ गतेदेखि फिर्ता भुक्तानी गरिनेछ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

 सेन्ट्रलको अवितरित हकप्रद बाँडफाँड
सेन्ट्रल फाइनान्स लिमिटेडले असोज १६ गते अवितरित हकप्रद सेयर बाँडफाँड गरेको छ । कम्पनीले असोज ४ गतेदेखि १२ गतेसम्म संस्थापक समूहको ४ लाख ५६ हजार ३ सय ८ दशमलव ७२५ कित्ता सिलबन्दी बोलपत्रमार्फत खरिद आह्वान गरेको थियो । कम्पनीले बिक्री गरेको कुल सेयरमध्ये २ लाख १६ हजार ५ सय कित्ता सेयर बाँडफाँड गरेको हो । कम्पनीको सेयर बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

 मूल्य समायोजन
शुक्रबार नेप्सेले दुई कम्पनीको मूल्य समायोजन गरेको छ । नेप्सेले भार्गव विकास बैंकको ५ दशमलव ५६ प्रतिशत बोनस सेयरपछिको समायोजन मूल्य १ सय ४८ दशमलव ७४ रुपैयाँ तोकेको छ । समायोजनका लागि कम्पनीको औसत आधार मूल्य १ सय ९४ दशमलव ८७ रुपैयाँ तोकिएको थियो । त्यसैगरी, ओरियन्टल होटेलको १५ प्रतिशत बोनस सेयरपछिको समायोजन मूल्य नेप्सेले ४ सय ५१ दशमलव ३० रुपैयाँ तोकेको छ । समायोजनका लागि कम्पनीको औसत आधार मूल्य ५ सय ३४ दशमलव १५ तोकिएको थियो ।

तपाईको प्रतिक्रिया