‘पर्ख र हेर’को अवस्थामा लगानीकर्ता - Naya Patrika
eNaya Patrika
  • ePaper

‘पर्ख र हेर’को अवस्थामा लगानीकर्ता

साताको अन्तिम दिन नेप्से परिसूचक शून्य दशमलव २६ प्रतिशत घटेर बन्द भएको छ । नेप्से ओरालो लागे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ । बजार खुलेदेखि नै ओरालो लागेको नेप्से, मध्याह्नमा बढेर १ हजार २ सय ३१ बिन्दु पुगेको थियो । बजार सो बिन्दुमा पुगेर पुनः ओरालो लागेको थियो । बजार अस्थिर भएपछि लगानीकर्ता ‘पर्ख र हेर’को रणनीति अपनाउन बाध्य भएका छन् ।

बजारमा लाभांशको आकर्षण घटेका कारण बजार ओरालो लागेको एक ब्रोकरले बताए । यस समयमा वाणिज्य बैंकहरूले लाभांश घोषणा गरे बजारले पुनः गति लिने उनको भनाइ छ । दसैँ नजिकिएका कारण पनि बजार अहिले ओरालो लागेको एक लगानीकर्ताले बताए । बजारले गति नलिएपछि दसैँका लागि खर्च संकलन गर्न केही लगानीकर्ता सेयर बिक्री गर्नतर्फ लागेको उनको भनाइ छ । केही लगानीकर्ता भने फेस्टिभ मुडमा रहेका छन् ।

नेप्से परिसूचक यस दिन ३ दशमलव २३ अंक घटेर १ हजार २ सय २७ दशमलव ३७ बिन्दुमा पुगेको छ । ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स यस दिन शून्य दशमलव ८२ अंक घटेर २ सय ६० दशमलव २४ बिन्दुमा पुगेको छ । यस दिन १ सय ६५ कम्पनीको ५ हजार ४ सय ४० पटकको कारोबारमा ४२ करोड ८६ लाख ४४ हजार ६ सय ६ रुपैयाँबराबरको १५ लाख ८२ हजार ५ सय ५८ कित्ता सेयर खरिद–बिक्री भएको छ । नेप्सेको १४ दिने आरएसआई यस दिन ४६ दशमलव ९२ स्केलमा पुगेको छ । न्युट्रल जोनमा रहेको यस आरएसआईले बजारमा सेयर खरिद–बिक्री चाप सन्तुलनमा रहेको संकेत गर्छ ।

कारोबार रकमका आधारमा यस दिन एनएमबी बैंक लिमिटेड अगाडि रहेको छ । सो वाणिज्य बैंकको यस दिन ३ करोड १९ लाख १३ हजार रुपैयाँबराबरको सेयर खरिद–बिक्री भएको छ ।

कारोबार संख्याका आधारमा यस दिन प्रभु बैंक लिमिटेड अगाडि रहेको छ भने सेयर संख्याका आधारमा माछापुच्छ«े बैंक लिमिटेड अगाडि रहेको छ । प्रभुको यस दिन २ सय १७ पटक सेयर कारोबार भएको छ भने माछापुच्छ«ेको १ लाख ३ हजार ५ सय ४२ कित्ता सेयर किनबेच भएको छ । नाडेप लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य यस दिन १० प्रतिशत बढेको छ । मल्टिपर्पोज फाइनान्स कम्पनी लिमिटेडको सेयर मूल्य यस दिन ९ दशमलव ३४ प्रतिशत घटेको छ । कारोबारमा आएका १ सय ६५ कम्पनीमध्ये यस दिन ४७ कम्पनीको सेयर मूल्य बढेको छ भने ९१ कम्पनीको सेयर मूल्य घटेको छ । बाँकी २७ कम्पनीको सेयर मूल्य यस दिन स्थिर रहेको छ ।

बिहीबार कारोबारमा आएको व्यापार, जीवन बिमा र वित्त समूहको परिसूचकबाहेक अरू सबै समूहको परिसूचक घटेको छ । यस दिन व्यापार समूहको परिसूचक शून्य दशमलव ७३ प्रतिशत, वित्त समूहको शून्य दशमलव २२ प्रतिशत र जीवन बिमा समूहको शून्य दशमलव शून्य १ प्रतिशत बढेको छ । होटेल समूहको परिसूचक यस दिन १ दशमलव ४३ प्रतिशत घटेको छ ।

त्यसैगरी, लघुवित्त समूहको परिसूचक शून्य दशमलव ७५ प्रतिशत, विकास बैंक समूहको शून्य दशमलव २८ प्रतिशत, उत्पादनमूलक समूहको शून्य दशमलव २७ प्रतिशत, वाणिज्य बैंक समूहको शून्य दशमलव २६ प्रतिशत, निर्जीवन बिमा समूहको शून्य दशमलव २५ प्रतिशत, अन्य समूहको शून्य दशमलव ११ प्रतिशत र जलविद्युत्् समूहको शून्य दशमलव शून्य ८ प्रतिशत घटेको छ ।

 स्वरोजगारको हकप्रद बाँडफाँड
स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले असोज १६ गते हकप्रद सेयर बाँडफाँड गरेको छ । कम्पनीले असार २८ गतेभन्दा अघिल्लो दिनसम्म कायम सेयरधनीका लागि साउन १३ गतेदेखि भदौ १७ गतेसम्म हकप्रद सेयर निष्कासन गरेको सेयर बाँडफाँड गरेको हो । कम्पनीले १ बराबर १ अनुपातमा प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका १२ लाख २४ हजार ९ सय ७७ दशमलव ६० कित्ता सेयर निष्कासन गरेको थियो । कम्पनीले निष्कासन गरेको कुल सेयरमध्ये १२ लाख १४ हजार २० कित्ता हकप्रद सेयर बाँडफाँड गरेको हो । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।

नेपाल एसबिआई मर्चेन्टको साधारणसभा
नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडले कात्तिक ९ गते कम्पनीको सभाहल, हात्तीसार, काठमाडौंमा तेस्रो वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ । सभामा लेखापरीक्षक नियुक्त गर्ने र सञ्चालक समितिको प्रतिवेदनउपर छलफल गर्ने प्रस्ताव रहेको छ ।

 एनएमबी सुलभ–१ को प्रतिइकाइ खुद सम्पत्ति मूल्य १३.५४ रुपैयाँ
भाद्र मसान्तमा एनएमबी सुलभ इन्भेष्टमेन्ट फन्ड–१ को प्रतिइकाइ खुद सम्पत्ति मूल्य १३ दशमलव ५४ रुपैयाँ पुगेको छ । अघिल्लो महिना यस योजनाको प्रतिइकाइ खुद सम्पत्ति मूल्य १३ दशमलव २९ रुपैयाँ रहेको थियो । सो अवधिसम्ममा यस योजनाको कुल आय ३ करोड ६० लाख ४८ हजार रुपैयाँ रहेको छ । योजनाको प्राप्त भइनसकेको आम्दानी २ करोड ६५ लाख २३ हजार रुपैयाँ रहेको छ । एनएमबी म्युचुअल फन्डअन्तर्गत सञ्चालित यस योजनाले सो अवधिसम्ममा ४३ करोड ९ लाख २९ हजार रुपैयाँ सूचीकृत सेयरमा लगानी गरेको छ भने १ करोड ६७ लाख २५ हजार रुपैयाँ सार्वजनिक निष्कासन–हकप्रद सेयर–बोनस सेयरमा लगानी गरेको छ । योजनाको बैंक मौज्दात ४४ करोड २३ लाख २२ हजार रुपैयाँ रहेको छ ।

 ग्लोबल आइएमई समुन्नत स्किम–१ को प्रतिइकाइ खुद सम्पत्ति मूल्य ८.८० रुपैयाँ
भाद्र मसान्तमा ग्लोबल आइएमई समुन्नत स्किम–१ को प्रतिइकाइ खुद सम्पत्ति मूल्य ८ दशमलव ८० रुपैयाँ पुगेको छ । अघिल्लो महिना यस योजनाको प्रतिइकाइ खुद सम्पत्ति मूल्य ८ दशमलव ६३ रुपैयाँ रहेको थियो । सो अवधिसम्ममा यस योजनाको कुल नोक्सानी १८ करोड ३५ लाख ८ हजार रुपैयाँ रहेको छ । योजनाको प्राप्त भइनसकेको आम्दानी १७ करोड ६५ लाख ३ हजार रुपैयाँ ऋणात्मक रहेको छ । ग्लोबल आइएमई म्युचुअल फन्डअन्तर्गत सञ्चालित यस योजनाले सो अवधिसम्ममा ७७ करोड १५ लाख ७९ हजार रुपैयाँ सूचीकृत सेयरमा लगानी गरेको छ भने १ करोड रुपैयाँ ऋणपत्रमा लगानी गरेको छ । योजनाको बैंक मौज्दात ५ करोड ४७ लाख ९२ हजार रुपैयाँ रहेको छ ।

 हाम्रोको साधारणसभा
हाम्रो विकास बैंक लिमिटेडले कात्तिक ११ गते होटेल सताञ्चुली, विदुर, नुवाकोटमा दशौँ वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ । सभामा २ दशमलव ४० प्रतिशत बोनस सेयर, ७ दशमलव ९१४५ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने, हाम्रो विकास बैंक ज्योति विकास बैंकमा समाहित हुने, सेयर स्वाप रेसियो १ बराबर १ कायम गर्ने र लेखापरीक्षक नियुक्त गर्ने विशेष प्रस्ताव रहेको छ ।

तपाईको प्रतिक्रिया