नेप्से र कारोबार रकम दुवै घट्यो - Naya Patrika
eNaya Patrika
  • ePaper

नेप्से र कारोबार रकम दुवै घट्यो

बुधबार नेप्से परिसूचक शून्य दशमलव ८७ प्रतिशत घटेर बन्द भएको छ । नेप्से ओरालो लागेसँगै यस दिन कारोबार रकम पनि घटेको छ । बजार खुलेदेखि मध्याह्नसम्म करिब स्थिर रहेको नेप्से परिसूचक, त्यसपछिको समयमा भने घट्न थालेको थियो ।

लगानीकर्ता अहिले फेरि ‘पर्ख र हेर’ को अवस्थामा पुगेको एक ब्रोकरले बताए । अघिल्लो सातासम्म बजार उकालो लागेपछि गत साता अल्पकालीन लगानीकर्ता नाफा सुरक्षित गर्नतर्फ लागेका थिए । यसले बजारमा करेक्सन भएको थियो । सूचीकृत कम्पनीले लाभांश घोषणा गरेपछि लगानीकर्ता सोतर्फ आकर्षित भएका थिए । नयाँ आवको साढे दुई महिना बितिसक्दा पनि वाणिज्य बैंकहरूले लाभांश घोषणा गरेका छैनन् । यसले बजार केही प्रभावित भएको एक लगानीकर्ताले बताए । उनका अनुसार वाणिज्य बैंकहरूले लाभांश घोषणा गरेपछि बजारले नयाँ दिशा पाउनेछ ।

नेप्से परिसूचक यस दिन १० दशमलव ७६ अंक घटेर १ हजार २ सय ३० दशमलव ६० बिन्दुमा पुगेको छ । ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स यस दिन २ दशलमव ३९ अंक घटेर २ सय ६१ दशमलव शून्य ६ बिन्दुमा पुगेको छ । यस दिन १ सय ६५ कम्पनीको ४ हजार ७ सय ३८ पटकको कारोबारमा म्यानुअल टर्नओभरसहित ३७ करोड ४० लाख ४९ हजार ८ सय ७५ रुपैयाँबराबरको १४ लाख ३६ हजार ५ सय १२ कित्ता सेयर खरिदबिक्री भएको छ ।

नेप्सेको १४ दिने आरएसआई यस दिन ४८ दशमलव २६ स्केलमा पुगेको छ । न्युट्रल जोनमा रहेको यस आरएसआईले बजारमा सेयर खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ । कुल बजार पुँजीकरण अघिल्लो दिनको तुलनामा १२ अर्ब ८१ करोड रुपैयाँ घटेर १४ खर्ब ६५ अर्ब रुपैयाँमा सीमित भएको छ ।

कारोबार रकम र कारोबार संख्याका आधारमा यस दिन एनएमबि बैंक लिमिटेड अगाडि रहेको छ । यस दिन सो वाणिज्य बैंकको १ सय ८३ पटकको कारोबारमा २ करोड ६२ लाख ६७ हजार रुपैयाँबराबरको ७४ हजार ५ सय ३७ कित्ता सेयर खरिदबिक्री भएको छ । सेयर संख्याका आधारमा यस दिन माछापुच्छ्रे बैंक लिमिटेड अगाडि रहेको छ । सो वाणिज्य बैंकको यस दिन ८१ हजार ९ सय ५६ कित्ता सेयर खरिदबिक्री भएको छ ।

बजार घटे पनि यस दिन नाडेप लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरूले १० प्रतिशतको हाराहारीमा कमाएका छन् । त्यसैगरी, समता माइक्रोफाइनान्सका लगानीकर्ताले ७ प्रतिशतभन्दा बढी कमाएका छन् । नेपाल हाइड्रो डेभलोपर्स लिमिटेड र मेरो माइक्रोफाइनान्सको सेयरमूल्य यस दिन ५ प्रतिशतभन्दा बढी घटेको छ । यस दिन कारोबारमा आएका १ सय ६५ कम्पनीमध्ये २८ कम्पनीको मात्र सेयरमूल्य बढेको छ भने १ सय २० कम्पनीको सेयरमूल्य घटेको छ । बाँकी १७ कम्पनीको सेयरमूल्य यस दिन स्थिर रहेको छ ।

यस दिन व्यापार र होटेल समूहको परिसूचकबाहेक अरू सबै समूहको परिसूचक ओरालो लागेको छ । व्यापार समूहको परिसूचक यस दिन १ दशमलव ८५ प्रतिशत र होटेल समूहको शून्य दशमलव ३ प्रतिशत बढेको छ । अन्य समूहको परिसूचक यस दिन १ दशमलव १८ प्रतिशत, जलविद्युत् समूहको १ दशमलव शून्य ८ प्रतिशत, वाणिज्य बैंक समूहको शून्य दशमलव ९३ प्रतिशत र निर्जीवन बिमा समूहको शून्य दशमलव ८८ प्रतिशत घटेको छ । त्यसैगरी, विकास बैंक समूहको परिसूचक शून्य दशमलव ७७ प्रतिशत, जीवन बिमा समूहको शून्य दशमलव ६७ प्रतिशत, लघुवित्त समूहको शून्य दशमलव ६५ प्रतिशत, वित्त समूहको शून्य दशमलव ५४ प्रतिशत र उत्पादनमूलक समूहको शून्य दशमलव २८ प्रतिशत घटेको छ ।

भूगोल इनर्जीको साधारणसभा
भूगोल इनर्र्जी डेभलपमेन्ट कम्पनी लिमिटेडले कात्तिक १७ गते बिग फुडल्यान्ड बत्तिसपुतली काठमाडौंमा वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ । सभामा लेखापरीक्षक नियुक्त गर्ने र अन्य आयोजनाहरूसँग मर्जर तथा एक्विजिसनको सम्भाव्यता छलफल गर्ने प्रस्ताव रहेको छ ।

मूल्य समायोजन
बुधबार नेप्सेले मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको मूल्य समायोजन गरेको छ । कम्पनीको १५ प्रतिशत बोनस सेयरपछिको समायोजन मूल्य नेप्सेले १ हजार १ सय ४१ दशमलव ७४ रुपैयाँ तोकेको छ । समायोजनका लागि कम्पनीको औसत आधारमूल्य १ हजार ८६ दशमलव ८७ रुपैयाँ तोकिएको थियो ।

 सिटिजन्स म्युचुअल फन्ड–१ को प्रतिइकाइ खुद सम्पत्ति मूल्य १०.४० रुपैयाँ
भाद्र मसान्तमा सिटिजन्स म्युचुअल फन्डको प्रतिइकाइ खुद सम्पत्ति मूल्य १० दशमलव ४० रुपैयाँ पुगेको छ । अघिल्लो महिना यस योजनाको प्रतिइकाइ खुद सम्पत्ति मूल्य १० दशमलव २३ रुपैयाँ रहेको थियो । सो अवधिसम्म यस योजनाको कुल आय १ करोड ५४ लाख ७ हजार रुपैयाँ रहेको छ । योजनाको प्राप्त भइनसकेको आम्दानी १ करोड ४८ लाख ९५ हजार रुपैयाँ रहेको छ । सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालित यस योजनाले सो अवधिसम्म २० करोड ४७ लाख ७६ हजार रुपैयाँ सूचीकृत सेयरमा लगानी गरेको छ । योजनाको बैंक मौज्दात ४५ करोड १० लाख ६४ हजार रुपैयाँ रहेको छ ।

 लक्ष्मी भ्यालु फन्ड–१ को प्रतिइकाइ खुद सम्पत्ति मूल्य १०.९५ रुपैयाँ
भाद्र मसान्तमा लक्ष्मी भ्यालु फन्ड–१ को प्रतिइकाइ खुद सम्पत्ति मूल्य १० दशमलव ९५ रुपैयाँ पुगेको छ । अघिल्लो महिना यस योजनाको प्रतिइकाइ खुद सम्पत्ति मूल्य १० दशमलव ७८ रुपैयाँ रहेको थियो । सो अवधिसम्म यस योजनाको कुल व्यय ९ करोड ५५ लाख ७६ हजार रुपैयाँ रहेको छ । योजनाको प्राप्त भइनसकेको आम्दानी ९ करोड ५७ लाख २१ हजार रुपैयाँ ऋणात्मक रहेको छ । लक्ष्मी म्युचुअल फन्डअन्तर्गत सञ्चालित यस योजनाले सो अवधिसम्ममा ३१ करोड २३ लाख ६२ हजार रुपैयाँ सूचीकृत सेयरमा लगानी गरेको छ भने २ लाख ९६ हजार रुपैयाँ सार्वजनिक निष्कासनमा लगानी गरेको छ । योजनाको बैंक मौज्दात १७ करोड ११ लाख ५२ हजार रुपैयाँ रहेको छ ।

 एनएमबि हाइब्रिड फन्ड एल–१ को प्रतिइकाइ खुद सम्पत्ति मूल्य १०.५२ रुपैयाँ
भाद्र मसान्तमा एनएमबि हाइब्रिड फन्ड एल–१ को प्रतिइकाइ खुद सम्पत्ति मूल्य १० दशमलव ५२ रुपैयाँ पुगेको छ । अघिल्लो महिना यस योजनाको प्रतिइकाइ खुद सम्पत्ति मूल्य १० दशमलव ३७ रुपैयाँ रहेको थियो । सो अवधिसम्ममा यस योजनाको कुल आय १ करोड ९८ लाख ८६ हजार रुपैयाँ रहेको छ । योजनाको प्राप्त भइनसकेको आम्दानी १ करोड ११ लाख ६४ हजार रुपैयाँ रहेको छ । एनएमबि म्युचुअल फन्डअन्तर्गत सञ्चालित यस योजनाले सो अवधिसम्ममा २५ करोड ६० लाख ७३ हजार रुपैयाँ सूचीकृत सेयरमा लगानी गरेको छ भने १ करोड ११ लाख ६ हजार रुपैयाँ सार्वजनिक निष्कासन/हकप्रद सेयर/बोनस सेयरमा लगानी गरेको छ । योजनाको बैंक मौज्दात १५ करोड ९२ लाख २२ हजार रुपैयाँ रहेको छ ।

तपाईको प्रतिक्रिया