पाँचवर्षे योजना ल्याउन पाँच कार्यदलको तयारी - Naya Patrika
eNaya Patrika
  • ePaper

पाँचवर्षे योजना ल्याउन पाँच कार्यदलको तयारी

प्रदेश ५ सरकारले आगामी चैतसम्ममा पाँचवर्षे योजना निर्माण सम्पन्न गर्ने भएको छ । प्रदेश सरकारले गठन गरेको प्रादेशिक योजना आयोगले विभिन्न क्षेत्रहरू छुट्याएर अध्ययन गरिरहेको छ । अहिले पाँच कार्यदल बनाएर योजना निर्माणको काम भइरहेको छ ।

आगामी चैत महिनाभित्र योजना निर्माणको काम सक्ने गरी अध्ययन भइरहेको प्रादेशिक योजना आयोगका अध्यक्ष डाक्टर प्रकाशकुमार श्रेष्ठले बताए । उपाध्यक्ष श्रेष्ठले भने, ‘चैतसम्म पूर्ण दस्तावेजका रूपमा तयार पार्छौँ  र अब आउने बजेट योजनामा आधारित हुन्छ ।’ प्रदेश सरकारले यो वर्षलाई योजना निर्माण र कानुन निर्माण वर्षका रूपमा काम गरिरहेको छ ।

कार्यदलको नेतृत्व यसरी गरिएको छ
पाँच कार्यदलमध्ये तीनवटाको नेतृत्व आयोगकै पदाधिकारीले गरेका छन् । एक उपाध्यक्ष र दुई सदस्यले तीन कार्यदलको नेतृत्व गरेका छन् । दुईवटा कार्यदलको नेतृत्व मुख्यमन्त्री कार्यालयका दुई सचिवहरूले गरेका छन् । कार्यदलमा मन्त्रालयका सचिवहरू, योजना विज्ञहरूलगायत रहेका छन् । कार्यदलले विभिन्न क्षेत्र बाँडफाँड गरी ती क्षेत्रको छुट्टाछुट्टै योजना बनाउने छन् । ती योजनाहरूलाई आयोगले अध्ययन गरी एकीकृत बनाउने योजना छ ।

विज्ञहरूको सुझाब लिइने
योजना बनाउने क्रममा रहेकाले कार्यदलले विभिन्न क्षेत्रका विज्ञहरूको खोजी गरिरहेका छन् । एक दर्जन क्षेत्रमा विज्ञहरूको खोजी भइरहेको उपाध्यक्ष श्रेष्ठले बताए । कृषि, उद्योग, पर्यटन, सिँचाइ, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रका विज्ञहरू खोजी गरी उनीहरूको सुझाब तथा राय लिने तयारी पनि भइरहेको छ ।

त्यस्तै, जलवायु परिवर्तन क्षेत्रका दिगो विकास क्षेत्रका विज्ञसँग पनि राय लिने तयारीमा आयोग छ । सरकार कम खर्चमा काम गर्ने तयारीमा छ । योजना निर्माणका लागि आयोगका पदाधिकारी पूरै समय खट्न थालेका छन् । मन्त्रालयका सचिवहरू तथा सरोकारवाला कर्मचारीहरू पनि योजना निर्माणमा जुटेका छन् ।

४१ क्षेत्रमा योजना निर्माण गर्दै

प्रदेश योजना आयोगले योजना निर्माणका लागि ४१ क्षेत्र छुट्याएको छ । ती क्षेत्रहरूका बारेमा अध्ययन गरेर दस्ताबेज बनाउन ५ वटा कार्यदल बनाइएको छ । कार्यदलको नेतृत्व टुंगो लागेको छ भने अन्य सदस्य तथा विज्ञहरू छनोट हुँदै छन् । प्रदेशको विकासका पूर्वाधारका क्षेत्रहरू कृषि, पर्यटन, उद्योगलगायतका क्षेत्रमा गहन अध्ययन गरी योजनाबद्ध विकासका लागि खाका बनाउने काम कार्यदलहरूले गर्नेछन् । कार्यदलहरूले सुरुमा आधारपत्र निर्माण गरी पूर्ण दस्ताबेज तयार गर्ने योजना छ ।

तपाईको प्रतिक्रिया