बाढीमा ज्यान गुमाउने परिवारलाई राहत वितरण - Naya Patrika
eNaya Patrika
  • ePaper

बाढीमा ज्यान गुमाउने परिवारलाई राहत वितरण

लमजुङमा वर्षा भएसँगै आएको बाढी पहिरोमा परी मृत्यु भएका परिवारलाई मर्स्याङ्दी गाउँपालिकाले राहत वितरण गरेको छ । शुक्रबार मृतकको घरमा पुगेर प्रति मृतक ५० हजार रुपैयाँ राहत सहयोग गरेको हो ।

गाउँपलिकाले पहिरोमा ज्यान गुमाएका मर्स्याङ्दी गाउँपालिका ३ तरापुकी ६० वर्षीय वृद्धा अभिरुपा थापा र उनकी १० वर्षीय नातिनी शिरषाको परिवारलाई ५०/५० हजार राहत उपलब्ध गराएको हो । त्यस्तै, सोही गाउँपालिका ३, अर्खलेकी ७० वर्षीय ललितामाया गुरुङ र वडा नं. ५ श्रीचौरकी विष्णुकली गुरुङको परिवारलाई ५०/५० हजार राहत वितरण गरिएको गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताए ।

राहत वितरणमा गाउँपालिकाका उपाध्यक्ष होमबहादुर बिक, वडा नं. ३ का वडाअध्यक्ष प्रेमबहादुर बस्नेत, वडा नं. ४ का वडाअध्यक्ष सुमन गुरुङ लगायतका टोलीले पीडित परिवारलाई राहत रकम हस्तान्तरण गरेका थिए । गाउँपालिकाका अध्यक्ष गुरुङले पीडितका लागि राहत संकलनमा सहयोग गर्न अपिल गरेका छन् ।

घटनामा ज्यान गुमाएका अभिरुपा, शिरषा र ललितामायाकी परिवारलाई जिल्ला प्रशासन कार्यालय लमजुङले एक लाख राहत सहयाग गरेको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले बताए । उक्त रकम नेपाल सरकार प्रकोप पीडित उद्धार तथा राहतसम्बन्धी मापदण्ड २०७४ अनुसार जिल्ला विपद व्यवस्थापन समितिमार्फत मृतक परिवारलाई उपलब्ध गराइएको हो ।

प्रजिअ ढकालका अनुसार बाढी पहिरोबाट पूर्ण क्षति भएका पाँच घरपरिवारलाई ५० हजार रुपैयाँ सहयोग गरिने र घाइतेको निशुल्क उपचारको व्यवस्था गरिएको छ ।

तपाईको प्रतिक्रिया