आगामी महाधिवेशनमा पनि पार्टी नेतृत्व नछाड्ने देउवाको संकेत - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

आगामी महाधिवेशनमा पनि पार्टी नेतृत्व नछाड्ने देउवाको संकेत

कांग्रेस सभापति शेरबहादुर देउवाले आगामी महाधिवेशनमा पनि पार्टी नेतृत्व नछाड्ने संकेत गरेका छन् । सभापति देउवाले नेतृत्वको लागि आफू अझै नथाकेको प्रतिक्रिया दिएका हुन् ।

शुक्रबार काठमाडौंमा आयोजित ‘कांग्रेसको भूमिका र आगामी चुनौतिहरु’ विषयक विचार गोष्ठी कार्यक्रममा देउवाले आफू नेतृत्वका लागि नथाकेको भन्दै थाकेकाहरुलाई पार्टीबाट विदा लिन पनि आग्रह गरे । कार्यक्रममा पार्टीका महामन्त्री शशांक कोइरालाले नेतृत्व हस्तान्तरण गर्न सभापति देउवालाई आग्रह गरेका थिए । सोही प्रसंग उल्लेख गर्दै सभापति देउवाले आफू अझै नथाकेको भन्दै नेतृत्व नछाड्ने संकेत गरेका हुन् । सभापति देउवाले निर्वाचनमा अन्तरघात गर्नेहरुलाई कारबाही गर्न आफूले प्रस्ताव राख्दा पनि नमानेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेलप्रति असन्तुष्टि पनि गरे ।

देउवाले पार्टीलाई एकतावद्ध बनाउन अनुशासित पार्टी बनाउन सबैलाई पहल गर्न पनि सचेत गराए । उनले सरकारले निर्मला पन्तका हत्यारालाई संरक्षण दिईरहेको आरोप समेत लगाए । उनले पन्तका हत्यारा पत्ता नलगाए सरकारविरुद्ध कडा कदम चाल्ने चेतावनी दिए ।

महामन्त्री कोइरालाले पार्टीलाई एकतावद्ध बनाउनुको विकल्प नरहेको उल्लेख गर्दै त्यसको नेतृत्व गर्न पनि सभापति देउवाको ध्यानाकर्षण गराए । कोइरालाले कम्युनिष्ट नेतृत्वको सरकारको सर्वसत्तावादलाई परास्त गर्न पनि पार्टीलाई एकतावद्ध बनाएर लैजानुको विकल्प नरहेको पनि स्पष्ट पारे ।

महामन्त्री कोइरालाले पार्टीलाई एकतावद्ध बनाउन आफू लागिपर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । पार्टीलाई अघि बढाउन गुट, उपगुट अन्त्य गरेर अघि बढनुको विकल्प नरहेको उनले बताए ।

तपाईको प्रतिक्रिया