निर्मलाको बलात्कार र हत्या प्रकरण : सांसदहरुको प्रश्नमा गृहमन्त्रीको यस्तो जवाफ - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

निर्मलाको बलात्कार र हत्या प्रकरण : सांसदहरुको प्रश्नमा गृहमन्त्रीको यस्तो जवाफ

सरकारले कंचनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या लगायतका मुलुकभरका हत्या लगायत घटनाका बारेमा संघीय संसदलाई जानकारी गराएको छ ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापाले पछिल्लो समय मुलुकका विभिन्न स्थानमा भएका हत्या लगायतका घटना, खोजतलास साप्ताहिकका सम्पादक राजु बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको, रोल्पाका तरुण दलका नगर अध्यक्ष रोहित पुनको हत्या तथा बाढीपहिरोका कारण मुलुकका विभिन्न स्थानमा पुगेको क्षति लगायत बारेमा संघीय संसदका दुवै सदनलाई जानकारी गराएका हुन् ।

सांसदहरुको प्रश्न

सांसद गगन थापाले ‘जनतासंग प्रधानमन्त्री’ कार्यक्रममा निश्पक्ष छानविनलाई प्रभावित पार्ने गरी प्रधानमन्त्रीले बम दिदीबहिनीका बारेमा अभिव्यक्ति दिएको भन्दै त्यसबारे प्रधानमन्त्रीलाई प्रश्न गर्नुभयो ? भनि गृहमन्त्रीलाई प्रश्न गरे ।

सांसद अमरेशकुमार सिंहले उच्चस्तरीय छानविन समितिका सदस्य विरेन्द्र केसीले शक्तिशालि अपराधिबाट जुनसुकै बेला पनि आफ्नो हत्या हुन सक्ने बताएकाले त्यसबारे गृहमन्त्रीको जवाफ माग गरे ।

सांसद भरत कुमार शाहले छानविन समितिको प्रतिवेदनको विश्वसनियताको आधार दिन माग गरे ।

सांसद संञ्जयकुमार गौतमले गृहमन्त्रीले गोलमोटल जवाफ दिएको भन्दै छानविन समितिका सदस्य विरेन्द्र केसीलाई राजीनामा दिन बाध्य बनाउने शक्तिका बारेमा जानकारी गराउन माग गरे ।

सांसद रंगमति शाहीले निर्मला हत्या प्रकरण पत्ता लगाउन कति वर्ष लाग्छ ? भन्ने प्रश्न गरिन् ।

राजेन्द्र लिङ्गदेनले निर्मला पन्तको हत्या प्रकरणमा सुरुमै अनुसन्धानमा संग्लन भएकालाई नै खास अभियुक्त थाहा भएको भन्दै गलत मान्छेलाई अभियुक्तको रुपमा पेश गर्नेमाथि नै अनुसन्धान प्रारम्भ गर्नुपर्ने माग गरे । प्रारम्भीक अनुसन्धान अधिकारीमाथि नै अनुसन्धान गरियोस् भनी उनले माग गरे ।

सांसद पार्वति डिसी चौधरीले सरकारले निर्मला पन्तको हत्या प्रकरणमा जनतालाई सत्य तथ्य सार्वजनिक गर्नु भन्दा पनि नाटक देखाउने काम मात्रै गरेको बताइन् ।

सांसद बालकृष्ण खाँडले निर्मला पन्तको हत्या प्रकरणका दोषिलाई उन्मुक्ति दिने र ढाकछोप गर्ने क्रियाकलाप सरकारबाट भईरहेको भन्दै छानविन समितिका सदस्यलाई धम्की दिनेलाई सार्वजनिक गर्न माग गरे ।

सांसद सुजाता परियारले गृहमन्त्रीको जवाफबाट निर्मला पन्तका हत्यारालाई कानुनी कारवाही हुनेमा विश्वस्त हुन नसकिएको भन्दै हत्यारा कहिलेसम्म पत्ता लाग्छ भन्ने प्रश्न गरिन् ।

सांसद दिलेन्द्र प्रसाद बडुले छानविन समितिका सदस्य विरेन्द्र केसीले पीडीतले न्याय पाउने संभावना नदेखको र आफुलाई शक्तिशाली केन्द्रबाट धम्की आएको बताएकाले घटना छानविन गर्न सजिलो बनाएको बताए ।

गृहमन्त्रीको जवाफ
सांसहरुको प्रश्नको उत्तरमा गृहमन्त्री थापाले प्रधानमन्त्रीले नै हत्या प्रकरणको छिटो परिणामसम्म पुर्याउन निर्देशन दिएकाले प्रधानमन्त्रीको अभिव्यक्तिले छानविनमा असर नपुर्याउने दाबी गरे ।

छानविन समितिका सदस्यलाई धम्की दिने शक्तिशाली व्यक्तिका बारेमा गृहमन्त्रीले भने ‘छानविन गर्ने क्रममा एक जना शक्तिशाली देखिने ठुलै जीउ डालको मान्छे बाईकमा आएको र उनले तपाईले जे छानविन गर्दै हुनुहुन्छ । त्यो राम्रै गर्दै हुनुहुन्छ । तर यस्ता छानविन धेरै भए र ती छानविन गर्नेहरुलाई गाडी माथि लगाएर तिनीहरुको हत्या हुने गरेको पनि तपाईले सम्झिनुहोला भनेर भने रे, त्यसैले उनको शक्तिशाली मान्छे चाहीँ त्यही हुनुपर्छ । नाम चाहीँ मलाई थाहा छैन । ’

गृहमन्त्री थापाले पन्त हत्याको घटनाबारे छानविन भईरहेकाले छिटै त्यसको परिणाम आउने आश्वासन दिए ।

तपाईको प्रतिक्रिया