सप्तरीमा देखियो स्वाईन र हङकङ फ्लु - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

सप्तरीमा देखियो स्वाईन र हङकङ फ्लु

जिल्लाको कञ्चनरुप नगरपालिकामा स्वाईन फ्लु र हङकङ फ्लुको जिवाणु फेला परेको छ । यस्तै जिल्लाकै हनुमाननगर कंकालिनी नगरपालिकामा पनि हङकङ फ्लुको जिवाणु फेला परेको छ ।

यही रोगले मृत्यु भएको एकिन नभएपनि बिहीबारसम्म कञ्चनरुप नगरपालिकामा तीन बालक र एक महिला गरी चारजनाको मृत्यु भईसकेको छ । बिरामी भई संक्रमित हुनेहरुको संख्या बढ्दै गएपछि कञ्चनरुप नगरपालिकाले आफ्ना नगर क्षेत्रलाई आजदेखि विपद् क्षेत्र घोषणा गर्दै आगामी मंगलवारसम्मकालागि सम्पूर्ण विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ ।

कञ्चनरुप र हनुमाननगरमा पछिल्लो दुई सातादेखि देखिएको रुघाखोकी र ज्वरोका बिरामीहरुमा स्वाईन फ्लु (एचवानएनवान) र हङकङ फ्लु(एचथ्रिएनटु)को जीवाणु फेला परेको थियो । जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका अनुसार इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गरेको परीक्षणमा कञ्चनरुप नगरपालिका एक जनामा स्वाईन फ्लु र पाँच जनामा हङकङ फ्लु तथा हनुमाननगर कंकालिनी नगरपालिकाका पाँच जनामा हङकङ फ्लुको जिवाणु फेला परेको हो ।

कञ्चनरुपका १८ तथा हनुमाननगर नगरपालिकाका ६ गरी २४ जनामा परीक्षण गरिएको र आठ जनाको रिर्पोट आउन बाँकी रहेको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख निरञ्जन यादवले बताए ।
पछिल्लो दुई सातामा कञ्चनरूप नगरपालिका ७ का १४ वर्षीय दिवश बस्नेत, वार्ड नं. ३ का १४ वर्षीय किशोर राम र वार्ड नं. ९ का १४ वर्षीय आमोदकुमार रामको मृत्यु ज्वरोबाट भएपछि गत भदौ २४ गतेदेखि तीन दिनसम्म महाशाखाले दुवै नगर क्षेत्रमा शिविर आयोजना गरी नमूना संकलन गरेका थिए । यस्तै ज्वरो तथा रुघाखोकीकै कारण कञ्चनरुप नगरपालिका ४ कविलासाकी ६० वर्षीया वलसाल सरदारको पनि गत बुधवार मृत्यु भएको हो ।

एक हजार भन्दा बढीको स्वास्थ्य परीक्षण
इपिडिमियोलोजीले गरेको शिविरमा एक हजार एक सय २२ जनाले स्वास्थ्य परीक्षण गराएकोमा २४ जनाको रगत र ¥याल परीक्षणका लागि काठमाडौस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाईएको डब्लूएचओका डा. सन्ध्या भगतले जानकारी दिईन् । परीक्षणमा कञ्चनरुप नगरपालिका ७ बलुवाका ६० वर्षीय हरिलाल साहमा स्वाईन फ्लुको संक्रमण भएको र बाँकीमा हङकङ फ्लु फेला परेको उनले जानकारी दिईन् । साहलाई हाल धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।

२० प्रतिशत मानिसमा ज्वरो र कडा रुघाखोकी
कञ्चनरुप नगरपालिकाका झण्डै २० प्रतिशत मानिसमा अहिले उच्च ज्वरो र कडा रुघाखोकी लागेको छ । ज्वरो आउने, रुघाखोकी लाग्ने, छाती दुख्नेसहितका लक्षणहरु बिरामीहरुमा देखिएको कञ्चनरुप नगरपालिकास्थित स्वास्थ्य शाखा संयोजक डम्बरनारायण साहले जानकारी दिए ।
यता मृत्यु भएका चारै जना स्वाईन फ्लुकै शिकार भएको एकिनका साथ भन्न सकिने अवस्था नरहेको सप्तरी जनस्वास्थ्य प्रमुख यादवको भनाई छ । उनका अनुसार यसको अझै परीक्षण हुन बाँकी नै छ । तर, उस्तै रोगको लक्ष्ण लागेर मानिस प्रभावित हुन थालेपछि जोगाउने हरसम्भव प्रयास थालिएको उनको भनाई छ ।

भारतबाटै सरेको आशंका
अनुसन्धानको क्रममा भारतको झारखण्डस्थित बैजनाथ धामबाट फर्केका एक जनामा स्वाईन फ्लुको जिवाणु भेटिएको र बुधवार मृत्यु भएकी महिला पनि उतैबाट आएकी हुनाले भारतबाटै सरेको आशंका गरिएको छ । बिहीबार सदरमुकाम राजविराजमा जिल्ला दैवी प्रकोप ब्यवस्थापन समितिको आकास्मिक बैठकले प्रभावित क्षेत्रमा दुई जना विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्यकर्मीहरुको टोली परिचालन गरिने, भारतीय नाकाहरुमा हेल्प डेस्क राख्ने, बेजनाथ धाम क्षेत्रबाट फर्किएकाहरुको स्वास्थ्य जाँच गराउने, कडा खालको सरुवा रोग भएकोले स्वाईन फ्लु र हङकङ फ्लु सम्बन्धी चेतनामूलक कार्यक्रम अगाडी बढाउने निर्णय भएको सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए ।

यसरी जोगिन सकिन्छ
यता स्वाईन फ्लु तथा हङकङ फ्लुबाट जोगिने प्रमुख उपायको रुपमा माक्सको प्रयोग गर्नु हो । चिकित्सकहरुकाअनुसार प्रभावित ब्यक्तिबाट एक मिटर दूरी बस्ने, प्रभावित ब्यक्तिलाई छुट्टै ठाउँमा राख्ने, सुँगुरजन्यसहित खसीको मासुसमेत न खान्ने, सरसफाईमा ध्यान दिने, शक्तिप्रद्धर्क खानेकुरा बढी खाने र मुख छोप्न मास्क अनिवार्य प्रयोग गर्नुपर्छ ।

तपाईको प्रतिक्रिया