संसदमा गृहमन्त्रीको जवाफ : 'शान्ति सुरक्षाको अवस्था सुध्रिएको छ' - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

संसदमा गृहमन्त्रीको जवाफ : ‘शान्ति सुरक्षाको अवस्था सुध्रिएको छ’

गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुरकी निर्मला पन्तको बलात्कार तथा हत्या घटनाको छानविन गर्न गठित समितिका सबै सदस्य तथा उनीहरुका परिवारलाई सरकारले आवश्यक सुरक्षा दिएको बताएका छन् । छानविन समितिका एक सदस्यले राजीनामा दिएको विषयमा संसदमा विपक्षी सांसदहरुले प्रश्न गरेपछि गृहमन्त्री थापाले सरकारले सुरक्षाको प्रत्याभूति दिलाएपछि उनी समितिमा फर्किएको बताए ।

निर्मला पन्तको बलात्कार र हत्या प्रकरणको विषयले आम जनमानसमा चिन्ता उत्पन्न गरेको भन्दै गृहमन्त्री थापाले पन्तको हत्याको विरोधमा भएको आन्दोलनका क्रममा मृत्यु भएका सनि खुना र पन्तको परिवारलाई १०/१० लाख क्षतिपूर्ति दिएको बताए ।

‘मृतकलाई शहिद घोषणा गरिएको छ । घटनाको बिस्तृत छानविन भइरहेको छ’ उनले भने । छानविनकै क्रममा लापरवाही वा गल्ती भएको पाइएमा दण्डित गर्न मन्त्रलाय गम्भीर रहेको गृहमन्त्रीले बताए ।

प्रहरी हिरासतमा कुटपिटले होइन, रोगले मृत्यु भयो– गृहमन्त्री
बर्दियाको गुलरियामा ७ भदौमा उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादव सहभागी कार्यक्रममा कालो झण्डा देखाएपछि पक्राउ परेका राम मनोहर यादवको मृत्यु प्रहरीको कुटपिटबाट नभएको बताएका छन् । प्रहरी हिरासतमा रहेकै समयमा यादव बेहोस भई ढलेको र उपचारको क्रममा उनको मृत्यु भएको उनले बताए । ‘शव पोष्टमार्टमको रिपोर्टले शरीरमा कुनै चोटपटक नभएको र रोगको कारणले मृत्यु भएको भन्ने छ । यसबारे परिवारलाई जानकारी गराएका छौँ’ मन्त्री थापाले भने । मृतक यादव स्वतन्त्र मधेसको नाममा राष्ट्रिय हित प्रतिकुल काम गर्दै आएका सिके राउत समुहका रहेको उनले बताए । उपप्रधानमन्त्री सहभागी कार्यक्रम भाड्ने काम गरेको तथा राष्ट्रिय हित प्रतिकुल कार्य गरेकाले यादवलाई पक्राउ गरी राज्य विरुद्धकको कसुरको मुद्धा दर्ता गरिएको र प्रहरीकै नियन्त्रणमा रहेको बेला बेहोस भएर ढलेको उनले बताए ।

बागलुङ ढोरपाटन घर भई काठमाडौंमा बस्दै आएका २२ बर्षीय संगिन जिसीको स्वयम्भुको जंगलमा शव फेला परेको विषयमा गृहमन्त्री थापाले उनको आत्महत्या भएको हुनुसक्ने आशंका व्यक्त गरे । ‘जिसीको सवको पोष्टमार्टम भई आफन्तलाई बुझाइएको छ । कल डिटेलको अध्ययन भइरहेको छ । हत्या नभएर आत्महत्या हो भन्ने छ तर अन्तिम रिपोर्ट आउ बाँकी छ’ मन्त्रीले भने ।

रोल्पामा तरुण दलका नेता रोहित पुनको हत्या सम्बन्धमा एक रेष्टुरेन्टमा देवबहादुर घर्तीले चलाएको गोलीबाट घाईते भई उपचारका क्रममा मृत्यु भएको सरकारले जनाएको छ । घर्ती र मृतक पुनबिच झगडा भएपछि गोली चल्न पुगेको भन्दै गृहमन्त्री गौतमले घर्तीलाई पेस्तोल र गोली सहित पक्राउ गरेर मुद्धा दर्ता गरिएको बताए ।

गृहमन्त्री थापाले खोजतलास पत्रिकाका अध्यक्ष तथा प्रधान सम्पादक राजु बस्नेतले ‘प्रतिनिधि कि जग्गा दलाल’ भन्दै सांसद पम्फा भुसाल र राजकाजी मर्हजन को फोटो राखेर समाचार प्रकाशन गरेकाले पक्राउ गरिएको बताए । पक्राउ गरेका पत्रकार बस्नेतलाई विद्युतीय कारोबार ऐन अनुसार पक्राउ गरी कारबाही अघि बढाइएको उनले बताए ।

राजपाले माग्यो जवाफ
प्रतिनिधिसभाको शुक्रबारको बैठक प्रारम्भमै राजपा नेपालले प्रहरी हिरासतमा मृत्यु भएका राम मनोहर यादवको मृत्यु हुनाको कारणबारे जानकारी माग गरेको थियो । राजपाका नेता लक्ष्मणलाल कर्णले शान्तीपूर्ण आन्दोलनको पक्ष भनेकै कालो झण्डा देखाउनु भएको बताउदै झण्डा देखाउदैमा पक्राउ गर्नु र हिरासतमा मृत्यु हुनु शंकास्पद भएको बताए । ‘शान्तीपूर्ण आन्दोलनको पक्ष भनेकै झण्डा देखाउनु हो । नत्र के लट्ठी,भाला देखाउने बन्दुक देखाउने ?’ उनले प्रश्न गरे । उनले संसदीय छानविन समिति गठन गरेर निष्पक्ष छानविनको माग गरे ।

बर्दियामा प्रहरीले हिरासतमा लिएका यादवको काठमाडौंस्थित शिक्षण अस्पतालमा उपचारको क्रममा १६ भदौमा मृत्यु भएको थियो । राजपाले उठाएको प्रश्नको गृहमन्त्री थापाले तत्काल जवाफ दिएका थिए । मेडिकल रिपोर्टमा कुटपिटबाट नभई रोगको कारणले मृत्यु भएको गृहमन्त्री थापाले बताए ।

एक प्रसंगमा गृहमन्त्री थापाले वर्तमान सरकार गठन भएको विगतको ६ महिना यताको समय सुरक्षाको दृष्टिकोणले झन् खतरा रहेको भन्ने विपक्षी सांसदको आरोपको खण्डन गर्दै भने, ‘यो छ महिना शान्ति सुरक्षा कायम गर्ने, अपराध नियन्त्रण गर्ने, गुण्डागर्दी अन्त्य गर्ने, सिण्डिकेट अन्त्य गर्ने, भ्रष्टाचार अन्त्य गर्ने, विकासको सुरुवात गर्ने कालखण्ड भएको छ ।’

तपाईको प्रतिक्रिया