पौडेल समूहको असन्तुष्टिपछि कांग्रेस बैठक फेरि स्थगित - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

पौडेल समूहको असन्तुष्टिपछि कांग्रेस बैठक फेरि स्थगित

अनुशासन, कार्यसम्पादन, निर्वाचन समितिसहितमा विवाद भएपछि कांग्रेस बैठक बस्दै नबसी स्थगित भएको छ । यसअघि ९ भदौकै बैठकमै अनुशासन र कार्यसम्पादन समिति गठन गर्ने भनिएको थियो । तर, २१ भदौमा केन्द्रीय समिति बैठक तोकियो । सो दिन निर्धारित बैठक पनि स्थगित गर्दै बिहीबारलाई तोकिएको थियो । सो बैठक पनि बस्नै नसकी स्थगित भएको हो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले अनुशासन र कार्यसम्पादन समितिमा नेता पौडेल पक्षले नाम नदिएपछि अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको जानकारी दिए । २९ सदस्यीय केन्द्रीय कार्यसम्पादन समितिका लागि पदाधिकारी सातबाहेक ९ देखि १० जनाको नाम दिन सभापति शेरबहादुर देउवाले नेता रामचन्द्र पौडेललाई आग्रह गरे पनि नाम नदिएको सभापतिनिकट अर्का एक
नेताले बताए ।

पौडेल र सिटौला पक्षको माग : प्याकेजमै गरौँ
सभापतिले दुई सदस्यको नाम मात्रै दिन भनेपछि विवाद भएको नेता पौडेल पक्षका एक केन्द्रीय सदस्यले जानकारी दिए । ‘सभापतिले अनुशासन समितिमा भीष्मराज आङदेम्बेलाई संयोजक बनाउने भन्दै अर्को पक्षबाट दुई नेताको नाम माग्दा समस्या देखियो,’ ती नेताले भने, ‘फलानो नेता संयोजक हुनुपर्छ भन्ने, तर सिनियर, विवेकी मान्छे नबनाउने भएपछिको असन्तुष्टि हो यो ।’

अनुशासन समितिमा सभापतिलाई पनि प्रश्न गर्न सक्ने मान्छे चाहिने माग पौडेल र सिटौला पक्षको छ । तर, देउवाले संयोजक आङदेम्बेसहित आफ्नो पक्षबाट देवेन्द्रराज कँडेल तथा किशोरसिंह राठोरलाई सदस्य बनाइने भन्दै थप दुईजनाको नाम मागेका थिए । तर, संयोजक छान्दा आफूहरूसँग सल्लाह नगरिएको भन्दै पौडेल र सिटौला पक्ष भड्किएको हो । उनीहरूलेअनुशासन र कार्यसम्पादन समितिसहित विभाग, निर्वाचन समिति, क्रियाशील सदस्यताको विषय पनि टुंग्याउनुपर्ने अडान राखेका छन् ।

पौडेल पक्षले नेता बलबहादुर केसीलाई अनुशासन समितिको संयोजक बनाउनुपर्ने अडान राखेको छ । तर, सभापति देउवा सहमत छैनन् ।

शुक्रबार बस्ने सम्भावना
कांग्रेस बैठक शुक्रबार बस्न सक्ने सम्भावना पनि छ । नेता रामचन्द्र पौडेल शुक्रबारदेखि युरोपका विभिन्न देशको भ्रमणमा निस्कँदै छन् । तत्काल केन्द्रीय समितिको बैठक नबसेमा कात्तिकको दोस्रो हप्ता हुनुपर्ने नेविसंघको महाधिवेशन, मंसिरको पहिलो साता बस्ने महासमितिको बैठकसमेत प्रभावित हुन सक्ने केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया