प्रतिस्पर्धीको तुलनामा एमजीका एसयुभी कार उत्कृष्ट छन् : सचिन अर्याल - Naya Patrika
eNaya Patrika
  • ePaper

प्रतिस्पर्धीको तुलनामा एमजीका एसयुभी कार उत्कृष्ट छन् : सचिन अर्याल

तीन वर्षअघि एउटा कम्पनीले मोरिस ग्यारेज (एमजी)का कार नेपालमा सार्वजनिक गरेर बिक्री–वितरण गर्दै आएको थियो । तर, पछिल्लो ६ महिनायता तपाईंहरूले स्वामित्व लिएर यसको कारोबार थालेयताको प्रगति कस्तो छ ?
पारामाउन्ट मोटर्सले एमजीको व्यवसाय टेकओभर गरेपछि के ठान्यौँ भने अटोमोबाइलको व्यवसायलाई दिगो रूपमा अगाडि बढाउन पहिला आफू उभिनुपर्छ । त्यो भनेको उपभोक्ताले विश्वास गर्न सक्ने पूर्वाधार तयार गर्नु हो । सोरुम, सर्भिस सेन्टर आधुनिक सुविधा सम्पन्न बनाउनु जरुरी छ । हामीले एकदमै कम समयका बाबजुत नक्सालमा सोरुम सञ्चालन गरिसकेका छौँ ।

सर्भिस सेन्टरको सबै काम सकिएको छ, अटो सो सकिएलगत्तै उद्घाटन गरेर काम थाल्छौँ । सर्भिस सेन्टरका प्राविधिकहरूलाई सम्बन्धित कम्पनीमै लगेर गाडी बनाउने विषयमा २० दिनको तालिम दिइसकेका छौँ ।

पूर्वाधार तयार भइसकेपछि कोही पनि उपभोक्तालाई गाडी किन्दा भोलिका दिनमा समस्या पर्छ कि भन्ने अविश्वास हट्छ । तसर्थ, हामीले उपभोक्ताको विश्वास कमाएर कारोबार गर्न चाहिरहेका छौँ । किनभने, विश्वास बढेपछि उपभोक्ताहरू गाडीप्रति आफैँ रुचि देखाएर आउनुहुन्छ । त्यसपछि एमजी छिट्टै नै नेपालको बजारमा राम्रो अटोमोबाइल ब्रान्डका रूपमा देखा पर्ने विश्वास लिएका छौँ ।


छोटो समयमा अधिकृत आयातकर्ताहरू परिवर्तन भइरहँदा गाडी खरिद गर्न उपभोक्ताहरूमा अन्योल पो सिर्जना हुने हो कि ?
एमजी नेपाल भित्रिएर कारोबार सुरु भएको समय छोटो भन्न मिल्दैन । पहिलेको आयातकर्ताले नै करिब २ वर्षजति एमजीसँग काम गरेको हो । तर, उत्पादक कम्पनीले पहिलेको आयातकर्तालाई आधारभूत पूर्वाधार तयार गर्न नसकेका कारण अविश्वास गरेको हो कि भन्ने लाग्छ । जसकारण पारामाउन्टले यथेष्ट पूर्वाधार निर्माण गरी नयाँ प्रतिबद्धताका साथ एमजीको कारोबार थालेको छ, जसमा अविश्वास गर्नुपर्ने कुनै कारण छैन ।

हामीले बजारमा राम्रो पर्फमेन्स देखाउँछौँ र उपभोक्ताको विश्वास जित्छौँ । अबका दिनमा उत्पादक कम्पनीले पनि पारामाउन्टको विकल्पबारे सोच्दैन, किनभने यहाँका उपभोक्तालाई भनेजस्तो सुविधा उपलब्ध गराउन हामी सक्षम छौँ ।

पारामाउन्टका सबै प्रवद्र्धकहरू अटोमोबाइल बजारबारे जानकार हुनुहुन्छ । तसर्थ, भोलिका दिनमा एमजीले प्रतिस्पर्धी बजारमा राम्रो हिस्सा लिन सक्ने कुरामा कतिको आशावादी हुन सकिन्छ ?
हो, पारामाउन्टका प्रवद्र्धकहरू व्यावसायिक हुनुहुन्छ । कसरी व्यवसाय गर्नुपर्छ भन्ने कुरा प्रवद्र्धकहरूसँग राम्रो जानकारी छ ।

उहाँहरूसँग काम गर्दा मलाई पनि धेरै सहज छ, किनभने मैले यो क्षेत्रमा राम्रो गर्न सक्नेबारे जानकारी गराउनुपहिले नै प्रवद्र्धकहरूबाट नै मलाई यसो गर्नुपर्छ भन्ने सल्लाह दिनुहुन्छ । यो व्यवसायलाई अगाडि लैजाने बाटो राम्रो रहेको हामीले बुझेका छौँ । राम्रो लय समातेको बजारमा मिहिनेतका साथ काम गर्ने योजना बनाएका छौँ । सफल हुनका लागि हामीसँग सक्षम र युवा टोली छ ।

एमजीले युरोपियन प्रविधि र डिजाइनमा कार उत्पादन गरेको छ । चीन, थाइल्यान्डलगायतका देशबाट आयात भइरहेको छ । यी कार कत्तिको नेपाल सुहाउँदो छन् ?
यदि भूगोलका हिसाबले सोध्नुहुन्छ भने एमजी कार भूगोल नसुहाउँदो भन्ने छैन । यहाँको कठिन बाटोमा जान पनि एमजीका कार सक्षम छन् । नेपालमा बनेका सबै प्रकारका सडकमा हाम्रा गाडी चलाउन उपयुक्त छन् ।

तेस्रो मुलुकबाट अहिले आयात भइरहेका कारण डलरमा कारोबार गरिरहनुपरेको छ । डलरको अस्थिर र बढ्दो मूल्यले स्वाभाविक रूपमा कारको बजारभाउ निर्धारणमा असर गर्छ । भारतबाट आउने कारसँग भने स्थिर विनियमका कारण कुनै असर परेको छैन ।

भारतबाट आयात गर्दा उत्पादकले जबसम्म मूल्य बढाउँदैनन्, तबसम्म गाडीको मूल्यमा खासै असर पर्दैन । हामीले डलर खर्चेर आयात गरेको गाडीको जुन प्रविधि र गुणस्तर छ, त्यस्तै प्रकृतिका अन्य ब्रान्डका गाडीसँग तुलना गर्दा प्रतिस्पर्धी मूल्य निर्धारण गर्न सफल भएका छौँ ।

एमजीले ल्याएको जिएस र जेडएस स्पोर्टस् युटिलिभी भेहिकल (एसयुभी) सेग्मेन्टका कार हुन् । यो सेग्मेन्टमा अहिले अन्य ब्रान्डका कारहरूले प्रतिस्पर्धा गरिरहेका छन् । ती कारभन्दा एमजीको जिएस र जेडएसको उत्कृष्टतालाई कसरी व्याख्या गर्नुहुन्छ ?
सुरुमा डिजाइनको कुरा गरौँ । एमजी कारको जुन डिजाइन छ, यसलाई सबै उपभोक्ताले रुचाउनुभएको छ । कारमा आक्रामक डिजाइन देख्न पाइन्छ । एमजी सुरुवातका दिनबाटै स्पोर्टस् कार उत्पादन गर्ने लक्ष्यका साथ स्थापना भएको हो । तसर्थ, एमजी उत्पादकले जुनसुकै कार बनाउँदा मुख्य रूपमा दुईवटा कुरालाई विशेष जोड दिने गरेको छ । त्यो भनेको पावर र सुरक्षा हो ।

कारमा ६ वटा एयरब्याग र एबिएस प्रणालीको ब्रेकिङ सिस्टम छ । एउटा स्ट्यान्डर्ड गाडीलाई सुरक्षित बनाउन चाहिने सबै फिचर एमजीमा पाइन्छ । भारतमा उत्पादन भएर आएका प्रतिस्पर्धी ब्रान्डका एसयुभी मोडलसँग एमजी कारको जति सुविधा छैन । सुरक्षाका हिसाबले राम्रो रेटिङ पाएका कार एमजीसँग छन् ।

क्र्यास टेस्ट गर्ने एनक्यापले जेडएसलाई चार स्टार र जिएसलाई पाँच स्टार रेटिङ दिएको छ । जुन सुुरक्षाका लागि अब्बल रहेको प्रमाणित हुन्छ । भारतमा उत्पादन हुने धेरै कारले सुरक्षाको रेटिङ नपाएको समाचार सुन्ने गरेको छु । यो दाँजोमा एमजीका कार उत्कृष्ट छन् भन्न सकिन्छ ।
एमजीले भारतमा जनरल मोटर्सको प्लान्टमा कारहरू बनाइरहेको छ । त्यहाँ उत्पादित कार सन् २०१९ मा नेपाल आउन सक्ने देखिन्छ । भारतबाट आयात भएपछि उपभोक्ताले अहिलेभन्दा बढी के सुविधा पाउन सक्छन् ?
भारतमा उत्पादन सुरु भएपछि आयात गर्न सजिलो हुन्छ । तर, अहिले नै यो सुविधा बढी दिन सक्छौँ भनेर बोल्न मिल्ने अवस्थामा छैनौँ । भारतमा कार बिक्री गर्न थालेपछि एमजी कुन रणनीतिअनुसार अघि बढ्छ भन्ने हेर्न बाँकी छ ।

नेपालभन्दा भारत धेरै ठूलो बजार हो । त्यहाँ चर्को प्रतिस्पर्धा हुन्छ । प्रतिस्पर्धी बजारमा अन्यलाई उछिन्ने गरी कारहरू सार्वजनिक गर्नुपर्ने बाध्यता छ । यो भने भारतमा उत्कृष्ट कार ल्याउनु हो र भारतमा आएको कार नै नेपालमा ल्याउने हुँदा एमजीका उत्कृष्ट कार उपलब्ध गराउने कुरामा दुईमत छैन ।
एमजीसँग ह्याचब्याक, सेडान, एसयुभी मोडलका कार छन् । तर, नेपाला एसयुभी सेग्मेन्टको मात्र आयात गरेको देखिन्छ । धेरै सेग्मेन्टका कार हुँदा कारोबार गर्न सजिलो हुने थिएन र ?
नेपालमा अहिले एसयुभी सेग्मेन्टले राम्रो बजार लिइरहेको छ । कम मूल्यका ह्याचब्याकको पनि बजार बलियो छ । एमजीसँग भने कम मूल्यको ह्याचब्याक छैन । एमजीसँग प्रिमियम सेग्मेन्टमा मात्र ह्याचब्याक छ । यो ह्याचब्याकको मूल्यमा भारतबाट आयात हुने एसयुभी कार बजारमा उपलब्ध छ ।

त्यसैले एमजीको ह्याचब्याक नल्याउन खोजेको होइन, बजार सीमित भएका कारण कम जोड दिएका हौँ । सेडान पनि लक्जरी खालको छ । नेपालको बाटो सेडानमैत्री छैन । यद्यपि, हामीले आयात नै नगरेको चाहिँ होइन । ह्याचब्याकमा एमजी ३ र सेडानमा एमजी ६ थोरै मात्रामा ल्याएका छौँ । अहिले बढी मात्रामा बिक्री भइरहेको सेग्मेन्ट एसयुभी नै भएका कारण सोहीअनुसारको कार ल्याएर कारोबार अघि बढाउन खोजेका हौँ ।

अन्त्यमा, अटो सो र दसैँलाई लक्षित गरी एमजीले के कस्तो छुट तथा उपहार योजना ल्याएको छ ?
हामीले जेडएसमा २ लाख र जिएसको माथिल्लो भेरिएन्टमा २ लाख ५० हजार रुपैयाँसम्म नगद छुट दिएका छौँ । एक वर्षको बिमा निःशुल्क, चालू आर्थिक वर्षको सडक दस्तुर निःशुल्क र नामसारी गरिदिन्छौँ । नम्बर प्लेट बनाइदिने र सामान्य एसोसेरिज उपलब्ध गराउँछौँ ।

अर्याल, पारामाउन्ट मोटर्स प्रालिका महाप्रबन्धक हुन् ।

तपाईको प्रतिक्रिया