अमेरिकी छायामा परेको भेनेजुएला - Naya Patrika
eNaya Patrika
  • ePaper

अमेरिकी छायामा परेको भेनेजुएला

अमेरिका र भेनेजुएलाबीचको सम्बन्ध सन् १९९० यता जटिल बन्दै गएको छ । तत्कालीन भेनेजुएली राष्ट्रपति ह्युगो चाभेजले राष्ट्रपति पद सम्हालेदेखि दुई देशबीचको सम्बन्धमा खटपट आउन थालेको थियो । सन् २०१० देखि अमेरिका र भेनेजुएलाले एक–अर्काको देशमा राजदूत पठाएका छैनन् ।

Photo : Global Research

त्यसमा पनि डोनाल्ड ट्रम्पले अमेरिकी प्रशासन सम्हालेसँगै दुई देशबीचको सम्बन्ध इतिहासकै खराब मोडमा छ । भेनेजुएलामाथि ट्रम्पले आर्थिक प्रतिबन्ध लगाएका छन् । भेनेजुएली राष्ट्रपति निकोलस मदुरो तथा अन्य वरिष्ठ अधिकारीलाई ट्रम्पले निसाना बनाएका छन् । आवश्यक परे भनेजुएलामाथि सैनिक कारबाही गर्नेसम्मको धम्की ट्रम्पले दिएका छन् ।

लामो समयदेखि भेनेजुएलाबाट अमेरिकाले ठूलो मात्रामा पेट्रोलियम पदार्थ लिँदै आएको छ । भेनेजुएली पेट्रोलियम पदार्थमाथिको सहज पहुँचका लागि अमेरिका त्यहाँ आफूअनुकूल सरकार चाहन्छ ।

यसर्थ, पूर्वराष्ट्रपति चाभेज र वर्तमान राष्ट्रपति मदुरोजस्ता अमेरिकाविरोधी राष्ट्रपतिको सत्ता धराशयी बनाउन चाहन्छ । द न्युयोर्क टाइम्सले गत ८ सेप्टेम्बरमा गरेको खुलासाअनुसार राष्ट्रपति मदुरोलाई सत्ताच्युत गर्न ट्रम्पले भेनेजुएलाका विद्रोही समूहसँग गोप्य वार्ता गरेका छन् । यस्तो खुलासापछि दुई देशको सम्बन्ध झनै जटिल बनेको छ ।

अमेरिकी आर्थिक प्रतिबन्धका कारण भेनेजुएलाको पेट्रोलियम पदार्थको उत्पादन इतिहासकै न्यून बिन्दुमा पुगेको छ । यसले गर्दा भनेजुएलाले गम्भीर आर्थिक संकट भोग्नुपरेको छ । सरकारकेन्द्रित आर्थिक नीति हुनु र निजी क्षेत्रलाई महत्व नदिनुले पनि भेनेजुएलाको संकट थप जटिल बन्दै गएको छ ।

लामो समयदेखि यस देशको अर्थतन्त्रको अधिकांश हिस्सा पेट्रोलियम उद्योगले धान्दै आएको छ । यसर्थ, तत्कालै भनेजुएलाको आर्थिक संरचना बदल्न तथा अर्थतन्त्रमा विविधता ल्याउन सक्ने स्थिति छैन । यसैबीच, सरकार अप्ठेरो स्थितिमा परिरहँदा प्रतिपक्षी राजनीतिक दलले आन्दोलन, हडताल तथा सरकारविरोधी प्रदर्शन गर्न थालेका छन् ।

भविष्यमा पनि अमेरिका–भेनेजुएला सम्बन्ध सुधार हुने सम्भावना देखिन्न । ट्रम्प प्रशासनले मदुरो सरकार ढाल्न हरसम्भव प्रयास गरिरहेको छ । तर, ट्रम्पले धम्की दिएजस्तो भेनेजुएलामा सीधै सैन्य हस्तक्षेप गर्न सम्भव छैन । यद्यपि, ट्रम्पले सरकारविरोधी भेनेजुएली सैन्य अधिकारीलाई हतियार बनाएर सैन्य कु गराउने सम्भावना भने छ ।

मदुरो सरकारलाई अझै कमजोर बनाउन अमेरिकाले थप आर्थिक प्रतिबन्ध लगाउन सक्छ । अमेरिकाले दक्षिण अमेरिकालाई भूराजनीतिक खेल मैदान ठान्दै आएको छ । यसकारण आफ्नो राष्ट्रिय स्वार्थअनुरूप दक्षिण अमेरिकी राजनीतिमा अमेरिका खेल्न चाहन्छ ।

अमेरिकाले भेनेजुएलामाथि बल प्रयोग गरेको खण्डमा सम्पूर्ण दक्षिण अमेरिकी क्षेत्र अशान्त बन्नेछ । यस्तो कदमले अन्तर्राष्ट्रिय जगत्मा अमेरिका र ट्रम्प दुवैको छवि थप खराब बनाउने निश्चित छ । आगामी ६ नोभेम्बरमा अमेरिकामा मध्यावधि निर्वाचन हुँदै छ । यसकारण पनि अमेरिकाले भेनेजुएलामाथि बल प्रयोग गर्ने सम्भावना देखिन्न ।

(सिजु सांघाई युनिभर्सिटीको विश्व मामिला विषयका प्राध्यापक हुन् भने रेई बेइजिङ फरेन स्टडिज युनिभर्सिटीका शोधकर्ता हुन्)

चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सिजिटिएन) बाट

तपाईको प्रतिक्रिया