लाभांश घोषणाले बढायो बजार - Naya Patrika
eNaya Patrika
  • ePaper
logo
Advertisment
SKIP THIS

लाभांश घोषणाले बढायो बजार

साताको अन्तिम कारोबार दिन नेप्से १ दशमलव १५ प्रतिशत बढेर बन्द भएको छ । बजार बढेसँगै कारोबार रकममा पनि सुधार भएको छ । सूचीकृत कम्पनीहरूले धमाधम लाभांश घोषणा गरिरहेका छन् । अहिले सेयर खरिद गरे लगानीकर्ताले छोटो समयमा नै लाभांश संकलन गर्न सक्नेछन् ।

यसले लगानीकर्तालाई आकर्षित गरिरहेको छ । साथै, गत अघिल्लो सातासम्म बजार घटेका कारण सेयर मूल्य सस्तिएको थियो । लाभांश संकलन गर्ने समयमा सस्तोमा सेयर खरिद गर्न लगानीकर्ता बजार पसेपछि नेप्से र कारोबार रकम दुवै बढेको एक ब्रोकरले बताए । बजारले निरन्तर सकारात्मक दिशा लिएसँगै कारोबार रकमले पनि साथ दिएपछि लगानीकर्ताले आगामी दिनमा बजार बढ्ने अपेक्षा गरेका छन् ।

यद्यपि, बजारको गति निर्धारण गर्न अझ केही दिन कुर्नुपर्ने एक विश्लेषकले बताए । बजार खुलेदेखि उकालो लागेको नेप्से, यस दिन मध्याह्नपछि ओरालो लाग्न खोजे पनि उत्साहित लगानीकर्ताका कारण अन्तिम समयमा पुनः उकालो लागेर बन्द भएको छ ।

नेप्से परिसूचक यस दिन १४ दशमलव १३ अंक बढेर १ हजार २ सय ४४ दशमलव ८४ बिन्दुमा पुगेको छ । ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स यस दिन ३ दशमलव ४७ अंक बढेर २ सय ६४ दशमलव २७ बिन्दुमा पुगेको छ । यस दिन १ सय ७३ कम्पनीको ७ हजार ४ सय ३६ पटकको कारोबारमा ७२ करोड ९८ लाख ५ हजार ५ सय ४६ रुपैयाँबराबरको २७ लाख ११ हजार १ सय १० कित्ता सेयर किनबेच भएको छ ।

यस दिनको कारोबार रकम अघिल्लो दिनको तुलनामा ६८ दशमलव ५६ प्रतिशत बढी हो । नेप्सेको १४ दिने आरएसआई यस दिन ६७ दशमलव शून्य २ स्केलमा पुगेको छ । बजार बढे पनि आरएसआई न्युट्रल जोनमा नै रहनुले बजारमा सेयर खरिद–बिक्री चाप सन्तुलनमा रहेको संकेत गर्छ ।

कारोबार रकम र कारोबार संख्याका आधारमा यस दिन एनएमबी बैंक लिमिटेड अगाडि रहेको छ । सो वाणिज्य बैंकको यस दिन ४ सय १२ पटकको कारोबारमा ५ करोड ९४ लाख ५१ हजारबराबरको १ लाख ७२ हजार ३ सय २२ कित्ता सेयर खरिद–बिक्री भएको छ । सेयरसंख्याका आधारमा भने यस दिन प्रभु बैंक लिमिटेड अगाडि रहेको छ । यस दिन प्रभु बैंकको १ लाख ७३ हजार ५ सय १७ कित्ता सेयर किनबेच भएको छ ।

नेपाल सेवा लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य यस दिन ९ दशमलव ७७ प्रतिशत बढेको छ । भार्गव विकास बैंकको सेयर मूल्य यस दिन ४ दशमलव ५ प्रतिशत घटेको छ । कारोबारमा आएको १ सय ७३ कम्पनीमध्ये यस दिन ९१ कम्पनीको सेयर मूल्य बढेको छ भने ६० कम्पनीको सेयर मूल्य घटेको छ । बाँकी २२ कम्पनीको सेयर मूल्य यस दिन स्थिर रहेको छ ।

बिहीबार कारोबारमा आएको निर्जीवन बिमा, लघुवित्त र जीवन बिमाको परिसूचकबाहेक अरू सबै समूहको परिसूचक बढेको छ । यस दिन अन्य समूहको परिसूचक सर्वाधिक ३ दशमलव शून्य ३ प्रतिशत बढेको छ ।

त्यसैगरी, होटेल समूहको परिसूचक १ दशमलव ७२ प्रतिशत, वाणिज्य बैंक समूहको १ दशमलव ५ प्रतिशत, विकास बैंक समूहको शून्य दशमलव ७६ प्रतिशत, वित्त समूहको शून्य दशमलव ३६ प्रतिशत, जलविद्युत् समूहको शून्य दशमलव ३३ प्रतिशत र उत्पादनमूलक समूहको शून्य दशमलव शून्य ९ प्रतिशत बढेको छ । निर्जीवन बिमा समूहको परिसूचक यस दिन शून्य दशमलव ७ प्रतिशत, जीवन बिमा समूहको शून्य दशमलव २ प्रतिशत र लघुवित्त समूहको शून्य दशमलव शून्य ५ प्रतिशत घटेको छ ।

 कालिकाको आइपिओ निष्कासन खुला
कालिका पावर कम्पनीले भदौ २८ गतेदेखि सर्वसाधारणका लागि प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका १२ लाख कित्ता आइपिओ निष्कासन गरेको छ । निष्कासन बन्द छिटोमा असोज १ गते हुनेछ भने ढिलोमा असोज २८ गते हुनेछ । लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम ६ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । निष्कासन गरिएको कुल सेयरमध्ये २४ हजार कित्ता कर्मचारीका लागि र ६० हजार कित्ता सामूहिक लगानी कोषहरूमा बाँडफाँड गरिएको छ ।

आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ९ दशमलव ५४ वर्ष रहेको छ भने डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १४ दशमलव ७४ वर्ष रहेको छ । आर्थिक वर्ष ०७३÷७४ को लेखापरीक्षण भएको वित्तीय विवरणअनुसार आयोजनाको प्रतिमेगावाट लागत २३ करोड १० लाख ४० हजार १ सय २७ दशमलव ५० रुपैयाँ रहेको छ भने आयोजनाको कुल लागत १ अर्ब ३८ करोड ६२ लाख ४० हजार ७ सय ६५ रहेको छ ।

कम्पनीको विद्युत् उत्पादन अनुमतिपत्र बहाल रहने अवधि ०६९ जेठ १६ गतेदेखि २१०४ जेठ १५ गतेसम्म रहेकाले २९ वर्ष बाँकी रहेको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक काठमाडौं क्यापिटल मार्केट लिमिटेड रहेको छ भने सहनिष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट सिआस्बा प्रणालीमार्फत आवेदन दिन सकिनेछ । कम्पनीले निष्कासन गर्न लागेको आइपिओलाई इक्रा नेपालले इक्राएनपी आइपिओ ग्रेड ४ रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको अधारभूत अवस्था औसतभन्दा कमजोर रहेको संकेत गर्छ । कम्पनीले ०७४ माघ २१ गतेदेखि आयोजना प्रभावित क्षेत्र गोरखाका स्थानीय बासिन्दाका लागि ६ करोड रुपैयाँबराबरको ६ लाख कित्ता आइपिओ निष्कासन गरेको थियो ।

 मुक्तिनाथको लाभांश
मुक्तिनाथ विकास बैंक लिमिटेडले १९ दशमलव २१ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । भदौ २७ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १८ दशमलव २५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनका लागि शून्य दशमलव ९६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ५९ करोड १७ लाख ६३ हजार ३ सय १७ रहेको छ । नेपाल राष्ट्र बैंक र आगामी साधारणसभाबाट स्वीकृत भएपश्चात् सो लाभांश वितरण गरिनेछ ।

 सप्तकोसीको लाभांश
सप्तकोसी डेभलपमेन्ट बैंक लिमिटेडले ८ दशमलव ३६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । भदौ २७ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ३ प्रतिशत बोनस सेयर तथा बोनस सेयर र नगद लाभांशको कर प्रयोजनसहितका लागि ५ दशमलव ३६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी ५० करोड ८५ लाख १० हजार रहेको छ । नेपाल राष्ट्र बैंक र आगामी साधारणसभाबाट स्वीकृत भएपश्चात् सो लाभांश वितरण गरिनेछ ।

 

तपाईको प्रतिक्रिया